कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेताले ऐन रोके जनतामा जान्छु’

डा. केसीको १३ औं अनशन आठौं दिनमा
अतुल मिश्र

काठमाडौं — प्रा.डा. गोविन्द केसीले सभामुख ओनसरी घर्तीलाई आफ्नो विशेषाधिकार प्रयोग गरेर चिकित्सा शिक्षा ऐन संसद्को शुक्रबारको बैठकमा प्रस्तुत गर्न अपिल गरेका छन् । सभामुख जनताको पक्षमा भए यो ऐन संसद्मा राख्नुपर्ने भन्दै डा.केसीले कसैको दबाबमा आएर सभामुखले काम गर्न नहुनेसमेत बताए ।

 ‘नेताले ऐन रोके जनतामा जान्छु’

बिहीबार अपिल जारी गर्दै उनले जनताको पक्षमा सभामुख नभए यसले उनको पदीय मर्यादा, कार्यकुशलतामा समेत प्रश्न चिह्न उठ्न सक्ने बताएका छन् । 

उनले केही दलका शीर्ष नेताले नै ऐन रोकेको आरोप लगाए । कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘विधेयक रोकेर नेताहरूले जनताविरोधी काम गरिरहेका छन्, धोका दिइरहेका छन् । यसरी रोक्ने हो भने म जनताका बीच जान्छु ।’ चिकित्सा शिक्षा ऐनले मुलुकको स्वास्थ्य सेवा र शिक्षामा सकारात्मक परिवर्तन ल्याउने हुँदा यसलाई पारित गर्नु सबै दलका नेताको दायित्व भएको उनको भनाइ छ । 

नेताहरूले ‘वाद’ का नाममा जनताको गाँस, बास र कपासको अधिकारको समेत चरम व्यवसायीकरण गरेको आरोप लगाउँदै केसीले भने, ‘यो ऐन रोक्छन् भने म भोलिदेखि नै जनतालाई यी नेताले गर्दा तपाईंहरूको ज्युँदो रहने अधिकार हनन भएको छ भनेर बताउन थाल्नेछु ।’ चिकित्सा शिक्षा र सेवाको चरम व्यापारीकरण गरेर नेताहरू आफनो स्वार्थका लागि कालो धन सेतो बनाउन लागेको समेत उनले बताए । 

चिकित्सा सेवा र शिक्षामा सुधारका सातसूत्रीय मागसहित डा. केसी त्रिवि शिक्षण अस्पताल हातामा ८ दिनदेखि आमरण अनशनमा छन् । आफूहरूको दबाबमा सरकारले उक्त ऐनलाई केही परिमार्जन गरेर संसद्बाट पारित गर्न लागेको जनाउँदै डा. केसीले भने, ‘यसलाई कार्य व्यवस्था परामर्श समितिको बैठकमा बिथोल्ने काम भयो ।’ उनले माफिया, भ्रष्ट सांसद र केही दलका शीर्ष नेताको दबाबमा उक्त ऐनलाई संसद्को कार्यसूचीबाट हटाइएको पनि बताए । 

व्यापारिक स्वार्थसँग जोडिएका सांसदलाई चिकित्सा शिक्षा ऐनसँग सम्बन्धित कार्यदलमा राखिएको र तिनले जनता र विद्यार्थीमुखी बुँदालाई तोडमरोड गरेर माफिया र व्यवसायीलाई फाइदा हुने गरी पारित गर्ने प्रयास गरेको उनको भनाइ छ । ‘हामीले उक्त कार्यदलमा स्वच्छ छवि भएका निष्पक्ष सांसद राख्न सभामुखसँग अनुरोधसमेत गरेका थियौं तर उहाँले सुन्नुभएन,’ केसीले भने, ‘सांसद नै अपराधी भएपछि उहिल्यै महाअभियोग लगाउनुपथ्र्यो ।’

शुक्रबार वार्ता हुने
सरकारी वार्ता टोलीले डा. गोविन्द केसीलाई भेटेर उनको स्वास्थ्य स्थिति र मागबारे जानकारी लिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय नेतृत्वको तीन सदस्यीय वार्ता टोली बिहीबार दिउँसो डा. केसी भेट्न अनशनस्थल पुगेको हो । सरकार संवेदनशील भएर डा.केसीका मागबारे विचार विमर्श गरिरहेको जनाउँदै उपाध्यायले छिट्टै औपचारिक रूपमा वार्ता सुरु हुने बताए । केसीका प्रतिनिधि डा. अभिषेक राज सिंहका अनुसार सरकारी टोलीसँग शुक्रबार वार्ता हुनेछ । 

प्रकाशित : आश्विन २७, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?