कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टी बैठकमा भट्टराईले भने, ‘म गोरखाबाटै चुनाव लड्छु’

कान्तिपुर संवाददाता

काठमाडौं — वाम गठबन्धनमा रहेको नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् ।

काठमाडौंमा जारी पार्टी सचिवालय बैठकलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफू गोरखाबाटै चुनाव लड्ने भन्दै तयारीमा रहन नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् ।

पार्टी बैठकमा भट्टराईले भने, ‘म गोरखाबाटै चुनाव लड्छु’

वाम गठबन्धनमा रहेको नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् ।

काठमाडौंमा जारी पार्टी सचिवालय बैठकलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफू गोरखाबाटै चुनाव लड्ने भन्दै तयारीमा रहन नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् । भट्टराईको भनाइ उद्धृत गर्दै नयाँ शक्ति पार्टीका प्रदेश १ का इञ्चार्ज राजेन्द्र किरातीले कान्तिपुरसित भने, ‘म गोरखाबाट चुनाव लड्छु । सबै तयार हुनुहोस् ।’ भट्टराईले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दिल खुला हुनुपर्नेमा झनै चाम्रो बन्दै गएको बैठकमा टिप्पणी गरेका थिए । उनले अझै वाम गठबन्धन सफल बनाउन लागिपर्ने पनि बैठकमा बताए । भट्टराई गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने योजनामा छन् । यसअघि २०७० र ०६४ को संविधानसभा निर्वाचनमा पनि भट्टराईले गोरखामा जितेका थिए ।

एमाले र माओवादी केन्द्रबीच गोरखामा सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार उठाएर भट्टराईलाई काठमाडौंमा उम्मेदवार बन्न लगाउने करिब सहमतिपछि नयाँ शक्ति रुष्ट बनेको हो ।

वाम गठबन्धनबाट आफ्नो पार्टीले सम्मानजनक व्यवहारको अपेक्षा गरेको भए पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीबाट त्यो नदेखिएको नेता किरातीको भनाइ छ । ‘गठबन्धनका मुख्य नेता ओली र प्रचण्डको गतिविधि शंकास्पद देखियो’ उनले भने, ‘जहाँ हाम्रो पक्कड छ, त्यहाँ टिकट नदिने अनि हार्नेमा फालाफाल गरिरहेका छन् । यो गठबन्धनको संस्कृति होइन ।’ वाम गठबन्धन जोगाउने काम केपी र प्रचण्डको हातमा रहेको उनको भनाइ छ ।

शुक्रबारको सचिवालय बैठकबाट नयाँ शक्तिले करिब ९५ प्रतिशत उम्मेदवारी तय गरिसक्ने भन्दै किरातीले भने, ‘हामीले आन्तरिक गृहकार्य टुंग्याउनै पर्‍यो । समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवार खडा गर्छौं ।’ अझै वाम गठबन्धनबाट बाहिरनेबारे एकीन भइनसकेको भन्दै उनले आफूहरुको जोड वाम–लोकतान्त्रिक गठबन्धन बनाउनेतर्फ पनि रहेको बताए ।

नयाँ शक्तिका सहसंयोजक परशुराम खापुङले पनि आफ्नै चुनाव चिह्न 'आँखा'बाट चुनाव लड्ने लगभग निश्चित भएको जानकारी दिए । यसअघि उक्त पार्टी एमालेको चुनाव चिह्न 'सूर्य'बाट चुनावमा जाने तयारीमा थियो ।

असोज १७ गते एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गर्ने र त्यसपछि पार्टी एकताका लागि प्रयास गर्ने घोषणा गरेका थिए ।

प्रकाशित : आश्विन २७, २०७४ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?