कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसमा दल बदल्ने होड

अवधेशकुमार झा

राजविराज — स्थानीय तह चुनावमा कुनै पनि दलले विश्वास नगरेपछि इटहरी विष्णुपुर गाउँपालिका–६ का बहादुर सदा मुसहरले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेर विजयको टीका लगाए । शपथ लिएर काम सुरु गरेपछि धेरैले आफ्नो दलमा भित्र्याउन अनेक प्रयास गरे ।

साताअघि मात्र मुसहरले राजपा नेपालको सदस्यता लिए । खुसी हँुदै नेताहरूले पार्टी प्रवेशको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे । तर, राजपा नेताको खुसी एक दिन पनि टिकेन । वडाध्यक्ष मुसहरले भोलिपल्टै कांग्रेसको सदस्यता लिएर सबैलाई चकित पारे । ‘राजनीतिमा यस्तो भइरहन्छ,’ उनले भने ।

मधेस आन्दोलन र मलेठ घटनापछि जिल्लामा कमजोर बनेको एमालेले पछिल्ला दिनमा राजनीतिक उपस्थिति बढाएको छ । स्थापनाकालदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहँदै उप सभामुखसम्म भएका हनुमाननगर कंकालिनी नगरपालिकाका गंगाप्रसाद यादव २ दिनअघि मात्र एमाले प्रवेश गरे । विगतमा राजा र राजसंस्थाको वकालत गर्दै आएका उनी अहिले हिमाल, पहाड र तराई जोड्ने एकमात्र पार्टी एमाले र त्यस पार्टीका अध्यक्ष केपी ओली भएको भन्दै प्रवेश गरेका हुन् । 

गतवर्ष सप्तरीको तिलाठीमा भएको सीमा विवादपछि चर्चामा आएका कांग्रेस महासमिति सदस्य देवनारायण यादव पनि यसै साता एमाले प्रवेश गरे । उनले एमाले राष्ट्रवादी पार्टी भएकाले प्रवेश गरेको बताए । स्थानीय तह निर्वाचनका बेला पार्टीले टिकट नदिएपछि रुष्ट भई इटहरी विष्णुपुर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस महासमिति सदस्य सुरेन्द्रप्रसाद यादव पनि राजपा नेपालमा प्रवेश गरेका छन् । 

सद्भावनाको स्थापनाकालदेखिका नेता राजविराजका भीमराज यादव राजपा हुँदै फोरममा प्रवेश गरी राजविराजको मेयर पदको उम्मेदवार भए । उनी १५ मतले राजपाकै शम्भु यादवसँग पराजित भए । सहकारीकर्मीको छवि बनाएका सुखराम यादव स्थानीय तह निर्वाचनका बेला संघीय समाजवादी फोरमको तराई मधेस प्रादेशिक समितिको सदस्य पद परित्याग गर्दै एमाले प्रवेश गरी राजविराजको मेयर उम्मेदवार भए ।

विगतमा सद्भावना पार्टीमा रहेका छिन्नमस्ता गाउँपालिकाका सूर्यनारायण मण्डल कुरुड स्थानीय तहको निर्वाचनका बेला नयाँ शक्ति पार्टीमा प्रवेश गरे । उनले छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पद जित्दै मधेसमा नयाँ शक्तिको खाता खोले । यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । पार्टी परित्याग र प्रवेशको लहर नै चलेको छ, मधेसमा । जिल्लामा स्थानीय तहको निर्वाचनदेखि हालसम्म नेताहरू एक–अर्को पार्टीमा जाने/आउने क्रम बाक्लिएको छ । प्रतिनिधि र प्रादेशिक सभामा प्रत्यक्ष र समानुपातिकतर्फ टिकट नपाए अझै पनि धेरै नेता पार्टी परित्याग र प्रवेश गर्ने क्रम सुरु हुनेछ । सोमबार नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएपछि झन् जिल्लाको राजनीतिक परिदृश्य नै फेरिएको छ ।  

निर्वाचनका बेला हुने पार्टी परित्याग र प्रवेशका अधिकांश उदाहरण टिकट वितरणको विषयसँग जोडिएको देखिन्छ । लामो समयसम्म काम गरेको पार्टीले आफूलाई टिकट नदिँदा परित्याग गर्ने र नयाँ पार्टीमा प्रवेश गर्ने क्रमलाई कतिपयले ‘अवसरवाद’ भन्दै आलोचना गर्ने गरेका छन् ।

प्रकाशित : आश्विन ३१, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?