भाइटीका लगाइँदै

काठमाडौं — यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । ‘भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम छ, भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याह्नको समय निकालिएको हो,’ उनले भने ।

लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ । थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ । यस वर्ष टीका लगाउने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने उनले बताए । आज पश्चिममा चन्द्रमा भएकाले लगाईमाग्ने दाजुभाइ पश्चिम फर्कँदा सम्मुख हुन्छ । टीका लगाइदिने भन्दा लगाइमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको समितिले जनाएको छ ।

भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका नलगाउन अध्यक्ष गौतमले आह्वान गरे । शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा नरहेको उनको भनाइ छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्थ्यो। दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । दिदीबहिनी नहुनेहरुका लागि अञ्जलि दिदीले पनि काष्ठमण्डपनिर टीका लगाइदिने गरेकी छन् । ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । ‘विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ,’ उनले भने ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो ।

प्रकाशित : कार्तिक ३, २०७४ २२:५३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यी हुन् एमालेका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार

कान्तिपुर संवाददाता

काठमाडौं — नेकपा (एमाले) स्थायी कमिटीको शुक्रबार बसेको बैठकले पहिलोचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारको नाम तय भएको छ । बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) को संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन गरेको छ ।

साथै बैठकले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेलका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।
 
दार्चुला– प्रतिनिधिसभा–  गणेशसिंह ठगुन्ना
 प्रदेशसभा १…–   वीरबहादुर ठगुन्ना
बाजुरा–  प्रतिनिधिसभा – लालबहादुर थापा
प्रदेशसभा –१   बलदेव रेग्मी
प्रदेशसभा – २  प्रकाश शाह
बैतडी– प्रतिनिधिसभा–   दामोदर भण्डारी
प्रदेशसभा २– लीलाधर भट्ट
बझाङ– प्रतिनिधिसभा– भैरवबहादुर सिंह
प्रदेशसभा– अर्जुन थापा
डोल्पा– प्रतिनिधिसभा – धनबहादुर बुढा
प्रदेशसभा– १ नन्दसिंह बुढा
मुगु– प्रतिनिधिसभा–  गोपाल बम
प्रदेशसभा–१   दानसिंह परियार
प्रदेशसभा– २  चन्द्रबहादुर शाही
जुम्ला– प्रदेशसभा –२  पदमबहादुर रोकाया
कालिकोट–प्रदेशसभा –१ कुर्मराज शाही
जाजरकोट प्रदेशसभा–१ नीरज आचार्य
प्रदेशसभा– २  करवीर शाही
मुस्ताङ– प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचन/महेन्द्र थकाली
प्रदेशसभा– १ इन्द्रधारा बिष्ट
प्रदेशसभा– २ प्रेमप्रसाद तुलाचन/महेन्द्रबहादुर थकाली
मनाङ– प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ
प्रदेशसभा– २ खण्डा लामा गुरुङ
प्रदेशसभा– १ दोर्जे डण्डुल गुरुङ
म्याग्दी– प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापा
प्रदेशसभा– २  नरदेवी पुन 
लमजुङ– प्रदेशसभा – १ धनञ्जय दवाडी
प्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङ
गोरखा– प्रदेशसभा १ को २– रामशरण बस्नेत
रसुवा– प्रतिनिधिसभा – १ जनार्दन ढकाल
प्रदेशसभा– १ कन्र्याल तामाङ
नुवाकोट– प्रतिनिधिसभा १ (प्रदेशसभा २) वद्री मैनाली
प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडा
प्रदेशसभा –१  केशव पाण्डे
धादिङ– प्रतिनिधिसभा– १ भूमि त्रिपाठी
प्रदेशसभा– १ राजेन्द्रप्रसाद पाण्डे
प्रतिनिधिसभा –२ खेम लोहनी
प्रदेशसभा १– डा. रामकुमार अधिकारी
पाँचथर– प्रतिनिधिसभा– वसन्त कुमार नेम्बाङ
प्रदेशसभा –१ गणेशकुमार काम्बाङ
ताप्लेजुङ– प्रतिनिधिसभा– योगेश कुमार भट्टराई
प्रदेश १ – बलबहादुर साम्सोहाङ
संखुवासभा– प्रतिनिधिसभा– राजेन्द्र गौतम
प्रदेशसभा २–तुलसी न्यौपाने
भोजपुर– प्रदेशसभा १ राजेन्द्रकुमार राई
प्रदेशसभा २ शेरधन राई
ओखलढुङ्गा– प्रतिनिधिसभा – यज्ञराज सुनुवार
    प्रदेशसभा –१ अमिरबहादुर गुरुङ
सोलुखुम्बु– प्रदेश १ –मानवीर राई
प्रदेशसभा २– वुद्धिकुमार राजभण्डारी
खोटाङ– प्रतिनिधिसभा– विशाल भट्टराई 
प्रदेशसभा –१ राजन राई 
रामेछाप– प्रदेशसभा १– शान्तिप्रसाद पौडेल
प्रदेशसभा २ – कैलाश ढुङ्गेल
बाग्लुङ जिल्लामा राष्ट्रिय जनमोर्चासँगको परामर्शमा तथा सिन्धुपाल्चोक जिल्लाका हकमा नेकपा (माओवादी–केन्द्र) सँग थप परामर्श गरेपछि उम्मेदवार घोषणा गरिने बताइएको छ ।

प्रकाशित : कार्तिक ३, २०७४ २२:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT