कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपडेट : प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन : मनोनयन दर्ता, कहाँ के भयो ?

कान्तिपुर संवाददाता

काठमाडौं — संविधान जारी भएपछि पहिलोपटक हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन सुरु भएको छ । आइतबार बिहान १० बजेदेखि पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको काम सुरु भएको छ ।

अपडेट : प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन : मनोनयन दर्ता, कहाँ के भयो ?

वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनेकाले उम्मेदवारी टुंग्याउन ढिला हुँदा कतिपय ठाउँमा अझै उम्मेदवार पुग्न सकेका छैनन् । बिहान स्वतन्त्र र साना पार्टीका उम्मेदवारहरु मनोनयनका लागि लाइन बसेका जिल्लास्थित कान्तिपुर संवाददाताहरुले जनाएका छन् ।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ क्षेत्रमा मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ ५ बजेसम्म चल्नेछ । ‘तर उम्मेदवारी दर्ताका लागि लाइनमा बसेकाहरुको मनोनयन नभएसम्म राति अबेरसम्म दर्ताको काम हुनेछ,’ उनले भने ।

पहिलो चरणमा प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगथा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, वाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्बर ५ का पूर्वी रुकुम, र रोल्पा, प्रदेश नम्बर ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्जुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा चुनाव हुँदैछ ।

निर्वाचन मनोनयनका लागि कहाँ के हुँदैछ ?

बाग्लुङमा पनि मनाेनयन दर्ता

बाग्लुङको प्रतिनिधिसभा क्षेत्र न. १ बाट कांग्रेसका चम्मा खड्का र वाम गठबन्धनका तर्फबाट एमालेका सूर्य पाठक र क्षेत्र न. २ बाट कांग्रेसका निरज पुन र माओवादीका देवेन्द्र पौडेलले मनोनयन दर्ता गराएका छन् ।

यस्तै क्षेत्र न. १ को क बाट कांग्रेसका दिपेन्द्र थापा र एमालेका इन्द्रलाल सापकोटाले मनोनयन दर्ता गराए भने ख बाट कांग्रेसका तर्फबाट प्रकाश पौडेल जनमोर्चाका तर्फबाट कृष्ण थापाले मनोनयन दर्ता गराए ।

क्षेत्र न. २ को क बाट कांग्रेसका मन्जेशबम मल्ल र माओवादीका तर्फबाट चन्द्रबहादुर बूढा र ख बाट कांग्रेसका जीत शेरचन र जनमोर्चाका टेकबहादुर घर्तीले मनोनयन दर्ता गरेका छन् ।

 

वाम गठबन्धनबाट प्रतिनिधि सभामा माओवादी नेता वर्षमान पुनद्वारा मनोनयन दर्ता । प्रदेश सभा क मा कुलप्रसाद केसी र ख मा दीपेन्द्र पुन । सबै उम्मेदवार माओवादी केन्द्रका नेता । कांग्रेसले मनोनयन दर्ताको तयारी गर्दै। 

 

मुगुमा पार्टीको निर्णय अस्वीकार गर्दै माओवादीका नेताद्वारा बागी उम्मेदवारी दर्ता । प्रतिनिधिसभामा सुरबहादुर बुढा, क्षेत्र २ मा मंगलबहादुर शाही र क्षेत्र १ मा सन्तोष कुमार मल्ल बादी उम्मेदवारी ।

 

मुगुमा कांग्रेस र एमालेबीच झडप

राजबहादुर शाही

मुगु– प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी मनोनयको क्रममा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच दोहोरो झडप हुँदा केही कार्यकर्ता घाइते भएका छन् । 

कांग्रेसको पिना गाउँबाट बाजासहितको जुलुस गमगढी तर्फ आउँदै गरेको अवस्थामा एमालेका कार्यक्रताले रोक्न खोज्दा झडप भएको हो । झडपमा एमालेका चैत्रा शाही, हर्कबहादुर शाही र रमेशको टाउकोमा चोट लागेर घाइते भएको बताइएको छ भने कांग्रेसका केही कार्यकर्ता समेत घाइते भएका छन् ।

 त्यसपछि पिना गाउँबाट एमालेका कार्यकर्ता नाराबाजी र बाजागाजाका साथ गमगढी आउदै गर्दा थापा बोडिङ्गको माथिबाट कांग्रेसका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी अवरोध पुर्‍याएका थिए । 

 

बाबुराम र नारायणकाजी एउटै चुनावी मैदानमा भिड्ने

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि गोरखा क्षेत्र न. २ बाट मनोनयन दर्ता गरेका छन् । सोही क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नारायणकाजी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

 

डोल्पमा मनोनयन दर्ता हुँदै
विष्णुलाल बुढा


मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पामा दिउँसो २ बजेसम्म प्रदेशसभा सदस्य तर्फ २ जनाको मात्रै मनोनयन दर्ता भएको छ भने प्रतिनिधिसभा सदस्यका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन । डोल्पामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नयाँ शक्ति पार्टी नेपालका उम्मेद्वार पुष्पराज बुढा र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्रबाट जगतबहादुर कठायतले मनोनयन दर्ता गरेका छन् ।

 मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी र वाम गठबन्धनका उम्मेद्वारहरु मनोनयन दर्ता गर्न पुगेको र काम भैरहेको जनाएको छ । 

 

गोरखा क्षेत्र नम्बर २ बाट माओवादी नेता नारायणकाजी श्रेष्ठद्वारा वाम गठबन्धनका उम्मेदवारका रुपमा मनाेनयन दर्ता गरेका छन् ।

 

दार्चुलामा वाम गठबन्धनद्वारा मनाेनयन दर्ता

दार्चुलामा वाम गठबन्धन मनोनयन दर्ता गराएका छन् । वाम गठबन्धनबाट प्रदेशसभा कबाट ग्याल्बुसिंह बोहरा (एमाले), ख क्षेत्रबाट मानबहादुर धामीले (माओवादी केन्द्र)बाट उम्मेदवारी दर्ता गराएका हुन् । 

वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि भने गणेशसिंह ठगुन्ना को उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

नेपाली कंग्रेसका तर्फबाट भोजपुरमा प्रतिनिधिसभाका उम्मेदवार उमेशजंग रायमाझी र प्रदेश सभा नं. २ का उम्मेदवार गोविन्द कार्की राजधानीबाट उम्मेदवारी दर्ता गर्नकै लागि हेलिकप्टर लिएर आएका छन् । तस्बिर: विद्या राई/कान्तिपुर । 

 


बैतडीमा बाणिज्य राज्यमन्त्री नरबहादुर चन्द (कांग्रेस) मनोनयन दर्ता गर्न जाँदै । तस्बिर : खगेन्द्र अवस्थी/कान्तिपुर । 

 

बैतडीमा चहलपल सुरु

खगेन्द्र अवस्थी
पहिलो चरण अन्तरगत मंसिर १० मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनकालागि उमेद्वारी दर्ता गर्न सदरमुकाममा भीड बढेको छ ।  

ठूला दललाई दिउसो १ बजेपछिको समय छुट्याएको छ । एमाले माओवादी गठबन्धनका उमेद्वारलाई दिउसो १ बजे र कांग्रेस राप्रपा गठबन्धनलाई २ बजेको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

बिहानैदेखि दलका कार्यकर्ताको सदरमुकाम आउने क्रम बढेको छ । कांग्रेस राप्रपा गठबन्धन प्रदेश सभाका २ सिटमध्ये १/१ बाडेका छन् । प्रतिनिधि सभामा कांग्रेसबाट बाणिज्य राज्यमन्त्री नरबहादुर चन्द उमेद्वार छन् । 

प्रदेश अन्तरगत क्षेत्र नं. १ मा कांग्रेसका हरिमोहन भण्डारी र २ मा राप्रपाका गणेशबहादुर चन्दलाई उमेद्वार बनाएको छ । बाम गठबन्धनबाट प्रतिनिधि सभामा एमालेका दामोदर भण्डारी उमेद्वार छन् । क्षेत्र नं. १ मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र २ मा एमालेका लिलाधर भट्ट छन् । 

 

जाजरकोटमा नेपाली कांग्रेसले १०:५५ मा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभाका लागि राजीवविक्रम शाहले मनोनयन दर्ता गराएका छन् भने प्रदेश सभा (क) मा वेदराज सिंह र 'ख' मा दीपकजंग शाहले मनोनयन दर्ता गरेका छन् ।

 

मुगुमा मनोनयन सुरु भएको छ । स्वतन्त्र उम्मेदवार कर्मानोर्बेल तामाङले सुरुमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस र एमालेका उम्मेदवार बाजागाजासहित पुग्दैछन् ।

 

मुगुमा कांग्रेस उम्मेदवार मनोनयन दर्ता गराउन जाँदै । तस्बिर : राजबहादुर शाही/कान्तिपुर ।

 

ताप्लेजुङमा जनमुक्ति पार्टीले उम्मेदवारी दर्ता गराएको छ ।

 

 भोजपुरमा उम्मेदवारी दर्तापछि एमाले-माओवादी गठबन्धनका उम्मेदवारहरु ।

 

लमजुङमा मनोनयन दर्ता सुरु

आश गुरुङ
लमजुङ–मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि लमजुङमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।

राजनीतिक दलका लागि निश्चित समय तोकिएपनि स्वतन्त्रको लागि खासै समय तोकिएको छैन । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मनोनयन दर्ता सुरु भएको र केही स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट द्धारिकाप्रसाद मिश्रले मनोनयन दर्ता गराएका छन् । यस्तै, प्रदेश सभा (ख) सदस्य (साविक क्षेत्र नं. २) बाट उत्तम गुरुङले स्वतन्त्र उम्मेदवारीमा मनोनयन दर्ता गराएका छन् । 

सहायक निर्वाचन अधिकृत भूमिप्रसाद शर्माका अनुसार दलगत रुपमा सुरुमा साढे १ बजे नयाँ शक्ति पार्टीका उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ । त्यसपछि २ बजे बाम गठबन्धन (एमाले–माओवादी केन्द्र), साढे २ बजे कांग्रेस, ३ बजे राप्रपा र साढे ३ बजे देशभक्त समाजका उम्मेदवारको मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ । 

मनोनयन दर्ताका बेला हुने सुरक्षा र भीडभाडलाई मध्यनजर राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार बिहान सर्वदलीय बैठक राखेको थियो । बैठकमा सहभागि राजनीतिक दलले कुनैपनि दलसंग समय नजुध्ने गरी आफैं समय निर्धारण गरेका थिए ।

 

उम्मेदवारी दर्ता गर्दा के–के चाहिन्छ ?

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्रका साथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेदवारको हकमा आधिकारिक हस्ताक्षरसहितको औपचारिक पत्र बुझाउनुपर्ने छ ।

मनोनयपत्रमा प्रस्तावक, समर्थक तथा उम्मेदवारको सहीछाप गरी पेश गर्नु पर्दछ । धरौटी रकमको हकमा प्रतिनिधिसभा सदस्यका लागि १० हजार रुपैयाँ र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ निर्धारण गरिएको छ । महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको छ ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ । एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने छ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ ।

आगामी मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा यही कात्तिक १६ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । 

 

= = =

प्रकाशित : कार्तिक ५, २०७४ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?