२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

बझाङमा ७ दलको उम्मेदवारी, एमालेका दुई वागी

बसन्तप्रताप सिंह

बझाङ — बझाङमा ७ दलले प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारी दर्ता गराएका छन । एमालेबाट टिकट वितरणमा रुष्ट पक्षबाट दुईजनाले बागी उम्मेवारी दर्ता गराएका छन् ।

बझाङमा ७ दलको उम्मेदवारी, एमालेका दुई वागी

वाम गठबन्धनको संयुक्त जुलस र नेपाली कांग्रेसको एकल जुलुसले बजार परिक्रमा गरेपछि दुबै दलले उम्मेदवारी दर्ता गरेका थिए । साना दल र स्वतन्त्र उम्मेदवारहरुले पनि जुलुससहित उम्मेदवारी दर्ता गराए ।

वाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभाको लागि भैरबहादुर सिंह र नेपाली कांग्रेसका तर्फबाट पृथ्वीबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभातर्फ एमालेका अर्जुन बहादुर थापाले क्षेत्र नं (क) र क्षेत्र नं (ख) मा माओवादी केन्द्रका तर्फबाट देवकी मल्लले उम्मेदवारी दर्ता गराएका छन । यस्तै नेपाली कांग्रेसबाट प्रदेश सभाको लागि चन्द्रा जोशीले क्षेत्र नं. (क) बाट र पुर्वराज्य मन्त्री नरेश बहादुर सिंहले क्षेत्र नं (ख) बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दिने अन्य दलहरुमा विवेकशिल साझा पार्टीबाट जिल्लाका अग्रज पत्रकार मिनबहादुर सिंहले प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका छन् । विवेकशिल साझा कै मोहन बहादुर सिंहले प्रदेश सभा क्षेत्र नं. (क) र रविन्द्र बमले क्षेत्र नं. (ख) को लागि उम्मेदवारी दर्ता गराएका छन् ।

नयाँ शक्ति नेपालले प्रतिनिधि सभाको लागि जोगी कुंवरलाई उम्मेदवार बनाएको छ भने प्रदेश सभाको लागि क्षेत्र नं १ बाट डम्मर रावल र २ बाट कलकबहादुर रोकायालाई उम्मेदवार बनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट प्रतिनिधि सभाको उम्मेदवार विश्व प्रकास जेठारा भएका छन् भने प्रदेश सभाको क्षेत्र नं (क) मा जगतबहादुर सिंह र (ख) बाट तारादत्त पण्डितले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै संघीय समाजबादी फोरमका भिम बहादुर थापा र देश भक्त जनगणतान्त्रिक मोर्चाका धरणिधर नाथले प्रतिनिधि सभाको लागी मात्र उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेको टिकट वितरण प्रक्रियाबाट असन्तुष्ट २ जनाले बागी उम्मेदवारी दर्ता गराएका छन । एमालेको तर्फबाट गोपालबहादुर खड्काले प्रतिनिधि सभा र शेरबहादुर बोहराले प्रदेश सभा निर्वाचन क्षेत्र नं (क) को लागि बागी उम्मेदवारी दिएका छन् ।

उम्मेदवार सिफारिसका क्रममा एमालेको निर्वाचन क्षेत्रीय कमिटिमा भएको निर्वाचनमा बढी मत पाउनेलाई टिकट नदिएर कम मत पाउनेलाई केन्द्रले टिकट दिएको प्रति एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिंहं लगायतका केही नेता रुष्ट भएका छन । यस्तै अन्तिम अवस्थामा टिकट केन्द्रिय सदस्य भैरब बहादुर सिंहले पाए पछि पूर्वमन्त्रि भानुभक्त जोशी समर्थक कार्यकर्ताहरु पनि रुष्ट भएको बताइन्छ ।
बागी उम्मेदवारी दर्ता गर्दै प्रतिनिधी सभाको लागी बागी उम्मेदवारी दिएका गोपाल खड्काले लोकतान्त्रिक पार्टी भन्ने तर लोकतान्त्रिक अभ्यासको कदर नभएका कारण आफुले बागी उम्मेदवारी दिनु परेको बताए ।

उम्मेदवार सिफारिसका क्रममा नेकपा एमालेको निर्वाचन क्षेत्रीय कमिटिमा भएको निर्वाचनमा प्रदेश सभाको लागि जिल्ला अध्यक्ष दिलबहादुर सिंहले ४७ मत र अजूर्न थापाले २४ मत प्राप्त गरेका थिए । एमालेले कम मत प्राप्त गर्ने थापालाई टिकट दिएको भन्दै अध्यक्ष समर्थक कार्यकर्ताहरु रुष्ट भएका हुन् ।

प्रतिनिधि सभाको लागि एक निर्वाचन क्षेत्र रहेको बझाङमा कुल १ लाख ४ हजार २ सय ७५ मतदाता रहेका छन् । यसअघि भएको स्थानीय तहको निर्वाचनमा १२ वटा तह मध्य ८ वटामा एमाले र ४ वटामा नेपाली काङग्रेसले जितेको थियो ।

प्रकाशित : कार्तिक ५, २०७४ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?