कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भट्टराई र श्रेष्ठको ‘अग्निपरीक्षा’

सुदीप कैनी

गोरखा — वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई कांग्रेससँग तालमेल गरेर अन्तत: गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । अब उनको प्रतिस्पर्धा पूर्व ‘सहयात्री’ नारायणकाजी श्रेष्ठसँग हुनेछ ।

भट्टराई र श्रेष्ठको ‘अग्निपरीक्षा’

एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट श्रेष्ठ उम्मेदवार बनेका छन् । दुवै नेताका लागि चुनाव ‘अग्निपरीक्षा’ हुनेछ ।

लोकतान्त्रिक गठबन्धनबाट भट्टराई र वाम गठबन्धनबाट श्रेष्ठ चुनावमा भिडेपछि गोरखा २ ले सबैको ध्यान खिचेको छ । दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिँदै छ । माओवादीमा रहँदा दुवै नेता पार्टी उपाध्यक्ष थिए । एउटै पार्टीमा रहँदासमेत दुई नेताबीच मतभेद रहँदै आएको थियो ।

दुवैले पञ्चैबाजा र र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारीको मनोनयन दर्ता गराए । क्षेत्र २ मा प्रतिनिधिसभाका लागि १० जनाको मनोनयन दर्ता भएको छ । १ नम्बर क्षेत्रमा कांग्रेस नेता चीनकाजी श्रेष्ठले नयाँ शक्तिसँग तालमेल गरेर उम्मेदवारी दर्ता गराए । वाम गठबन्धनबाट माओवादी नेता हरि अधिकारीको उम्मेदवारी परेको छ । १ नम्बर क्षेत्रमा ८ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकृत नारायण सापकोटाले बताए ।

कुनै समय एउटै पार्टीमा एकै हैसियतमा रहेर छुट्टिएका नयाँ शक्ति संयोजक भट्टराई र माओवादी शीर्ष नेता श्रेष्ठ एउटै निर्वाचन क्षेत्रमा चुनाव भिड्ने भएपछि गोरखाको चुनावी प्रतिस्पर्धा रोचक बन्ने भएको छ । वाम गठबन्धनको औचित्य पुष्टि गर्न आफूले उम्मेदवारी दिएको श्रेष्ठले बताए । ‘गोरखा कम्युनिस्ट किल्ला हो, त्यसलाई जोगाएर वामपन्थीहरूको बहुमतको सरकार बनाउन चुनावमा उठेको हुँ,’ मनोनयन दर्तापछि उनले सञ्चारकर्मीसँग भने । 

पूर्वप्रधानमन्त्री भट्टराईले लोकतन्त्रवादी र कम्युनिस्ट मिलेर मुलुकमा शान्ति र समृद्धि ल्याउन कांग्रेससँग तालमेल गर्नुपरेको बताए । ‘गोरखाबाट नयाँ प्रयोग सुरु गरेका हौं,’ उनले भने, ‘कांग्रेस र नयाँ शक्तिको चुनावी गठबन्धनले विश्वको ध्यान खिचेको छ ।’ ०६४ र ०७० का संविधानसभा निर्वाचनमा क्रमश: क्षेत्र नम्बर १ र २ बाट विजयी भएका भट्टराईले पुरानो विरासत जोगिने दाबी गरे ।

मनोनयन दर्ता गर्न आउनुअघि दुवै नेताका लागि कार्यकर्ताले आँबुखैरनीबाट सदरमुकामसम्म मोटरसाइकल र्‍याली गरेका थिए । एमालेसहितका सहयात्रीसँग श्रेष्ठ निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । भट्टराई पनि कांग्रेसका अन्य उम्मेदवारसहित मनोनयन दाखिला गर्न पुगेका थिए । भट्टराईको प्रस्तावकमा नयाँ शक्तिका संयोजक रमेश पोखरेल छन् भने समर्थकमा कांग्रेस सभापति हरिबहादुर घले । श्रेष्ठका प्रस्तावक माओवादी सहिद परिवारका सदस्य विकास वाग्ले र समर्थक एमाले अध्यक्ष प्रेम गुरुङ छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर १ ‘क’ मा कांग्रेसका धीरन थापा र माओवादीका लेखबहादुर थापाबीच प्रतिस्पर्धा हुने भएको छ । ‘ख’ मा कांग्रेसका राजेन्द्र बजगाईं र एमालेका रामशरण बस्नेतबीच चुनावी भिडन्त हुनेछ । क्षेत्र नम्बर २ को ‘क’ मा नयाँ शक्तिका हरिशरण आचार्य र माओवादीकी कमला नहर्कीको उम्मेदवारी दर्ता भएको छ । ‘ख’ मा कांग्रेसका प्रकाशचन्द्र दुवाडी र माओवादीका अमर तमुले उम्मेदवारी दिएका छन् । राप्रपाले समेत कांग्रेस–नयाँ शक्ति तालमेलमा समर्थन जनाएको छ । 

एमाले–माओवादी गठबन्धनमा सामेल भएर निर्वाचन क्षेत्रमा कुरा नमिल्दा भट्टराई बाहिरिएका थिए । लामो छलफलपछि भट्टराईलाई कांग्रेसले गोरखा २ मा समर्थन गरेको हो । चार पार्टीको चुनावी तालमेलमा कांग्रेस र नयाँ शक्तिले १/१ निर्वाचन क्षेत्र र प्रदेशतर्फ चारमध्ये कांग्रेसले ३ र नयाँ शक्तिले १ क्षेत्र लिएको छ ।

त्यस्तै, एमाले–माओवादी तालमेलमा दुवै निर्वाचन क्षेत्रसहित ३ प्रदेश क्षेत्र माओवादी र १ क्षेत्र एमालेले लिएको छ । क्षेत्र नम्बर २ को ‘क’ प्रदेशतर्फ ८ र ‘ख’ मा ५ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा विवेकशील साझादेखि संघीय समाजवादी फोरमलगायत साना पार्टीसम्मका उम्मेदवार छन् । त्यस्तै, क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’ प्रदेशमा क्रमश: ४ र ३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी घोषणापछि दुवै गठबन्धनले सदरमुकाममा छुट्टाछुट्टै सभा गरेर आफ्ना गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आहवान गरे । 

प्रकाशित : कार्तिक ६, २०७४ ०१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?