कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी खर्चबाट तर्सिएर 'प्रभावशाली' नेताहरु समानुपातिकतिर

स्थानीय चुनावमै एउटै उम्मेदवारले करोडौं खर्चिएको देखेपछि प्रभावशाली नेताहरु संघ र प्रदेशमा प्रत्यक्ष प्रतिस्पर्धा गर्न हच्किए
अमन कोइराला, नवीन पौडेल

सर्लाही, नवलपरासी — चुनावमा प्रचारप्रसार र कार्यकर्ता परिचालन खर्चिलो हुँदै गएपछि प्रभावशाली नेताहरु नै प्रत्यक्षबाट उठ्न हच्किएका छन् । उनीहरु सकेसम्म समानुपातिकमा परेर आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्ने कसरतमा छन् ।

चुनावी खर्चबाट तर्सिएर 'प्रभावशाली' नेताहरु समानुपातिकतिर

कांग्रेसका सर्लाही सभापति नागेन्द्रकुमार राय र पूर्वसभापति लक्ष्मण रायले पनि यसपटक प्रत्यक्षमा लड्न रुची देखाएनन् । उनीहरु समानुपातिकमा सिफारिस भएका छन् । संविधानसभा चुनावमा दुवै नेता प्रत्यक्षबाट लडेका थिए ।

एमाले पूर्वजिल्ला उपाध्यक्ष राजनारायण साह पनि यसपटक समानुपातिक सिफारिसमा छन् । उनी संविधानसभा चुनावमा दुईपटक प्रत्यक्षबाट उठेका थिए । चुनाव खर्चिलो हुँदै गएपछि धेरै खर्च गर्न नसक्ने नेताले समानुपातिक रोजेका हुन् । यसले गर्दा दलहरुलाई संघीय र प्रदेश चुनावमा प्रभावकारी उम्मेदवार पाउन कठिनाइ छ ।

एमाले र माओवादीले २ नम्बर क्षेत्रमा कसैको नाम सिफारिस गरेका छैनन् । यसअघि उक्त क्षेत्रमा एमालेका साहले चुनाव लड्दै आएका थिए । उनले चुनावी खर्च थेग्नै नसक्ने अवस्था भएपछि प्रत्यक्षमा लड्न नसकेको बताए । ‘स्थानीय चुनावमै बढी खर्च भएको देखियो,’ उनले भने, ‘यस्तो अवस्थामा करोडौं खर्चेर प्रत्यक्षमा लड्न सकिँदैन ।’

अघिल्ला चुनावमा ठूलो रकम खर्चिएर पनि चुनाव नजितेकाहरु यसपालि हताश देखिन्छन् । कांग्रेसका वर्तमान र पूर्वसभापति दुवै नेता अघिल्ला दुई चुनावमा भएको खर्चबाटै तर्सिएका छन् ।

मत किनबेच हुने, भोजभतेर गर्नुपर्ने, प्रचारमा सवारीसाधन धेरैवटा राख्नुपर्ने भएकाले चुनाव खर्चिलो हुँदै गएको हो । ‘अन्य उमेदवारले धेरै रकम खर्चेपछि त्यसै अनुपातमा चुनावी खर्च बढै जान्छ,’ साहले भने, ‘चुनाव जितेर कमाउने उद्देश्य राख्नेले खर्च गर्न पनि सक्छ । हामी त जनताको सेवा गर्ने हो । चुनावमा खर्च गर्न सकिंदैन । जितेपछि कमाउने लक्ष्य पनि छैन ।’ उनले चुनावमा पार्टी संगठनभन्दा पैसा प्रभावशाली हुँदै गएको बताए ।

चुनाव खर्चिलो हुनुको अर्को कारण निर्वाचन आचारसंहिताको बढ्दो उल्लंघन पनि हो । उम्मेदवारले निर्वाचन क्षेत्रका विभिन्न ठाउँदा दैनिक भोजभतेर गराउने गरे पनि अनुगमन प्रभावकारी छन् । विपन्न बस्तीमा भोट तान्नकै लागि पैसा, कपडा, जुत्ता चप्पल, खाद्यान्न र माछामासु वितरण भइरहेको हुन्छ ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कौशलकिशोर रायले खर्च गर्न नसकेरै राम्रा नेताले प्रत्यक्षमा उमेदवारी दिने हिम्मत नगरेको बताए । चुनावी खर्च अनुमानभन्दा धेरै हुने भएकाले सबैजसो दलमा राम्रा नेताकार्यकर्ता छायाँमा परेको उनको बुझाइ छ । ‘पैसा नभएका कारण प्रभावशाली नेता पनि समानुपातिकमा सिफारिस हुन खोजे,’ उनले भने, ‘कम खर्चमा चुनाव लड्ने संभावना नै रहेन । चुनावमा उम्मेदवारले गर्ने खर्चमा सीमा नलगाए भविष्यमा धनाढ्य, व्यापारी, भ्रष्टाचार गरेर कमाएका ब्यक्तिमात्र चुनाव लड्ने अवस्था आउँछ ।’

नवलपरासीमा पनि पुराना नेता-कार्यकर्ता प्रत्यक्षतर्फ उम्मेदवार बन्न मन हुँदाहुँदै कमजोर आर्थिक अवस्थाका कारण हच्किएका छन् । स्थानीय चुनावमा एक करोडभन्दा माथि खर्चिइएको देखेका उनीहरू निराश छन् ।
पैसा भएकाहरु भने टिकटका लागि आफूलाई प्रभावशाली देखाउन स्थानीय क्लब, संघसंस्था तथा आमा समूहलाई आर्थिक सहयोग गरिरहेका छन् । प्राय: ठूला दलमा राजनीतिक योगदान कम भएका तर आर्थिकरुपमा मजबुत भएकाहरुको नाम उम्मेदवार आकांक्षीका रुपमा चर्चामा छ ।

लामो समयदेखि कम्युनिस्ट आन्दोलन र राजनीतिमा लागेका धर्म केसीलाई विचारभन्दा पैसा र अनावश्यक प्रचारबाजी गर्नेहरु मूलधारमा हाबी भएकोमा चित्त बुझेको छैन । ‘राजनीतिक योगदान र जनताले रुचाएको व्यक्तिलाई पार्टीले टिकट दिनुपर्छ तर यहाँ पैसा र पहुँचका आधारमा टिकट ल्याउने धेरै छन्,’ उनले भने, ‘यो प्रवृत्तिले निष्ठाको राजनीति गर्ने सधैं ओझेलमा पर्ने भए ।’ संगठन गर्ने समयमा व्यापार, व्यवसायमा बिताएका र विदेश गएकाहरु नै अहिले राजनीतिमा हाबी हुन खोज्दा कांग्रेस, एमाले, माओवादी केन्द्रका पुराना नेता कार्यकर्तामा वितृष्णा जागेको छ । तर, उनीहरु टिकट पाइहालिन्छ कि भन्दै राजधानीतिरै लागेका छन् ।

क्षेत्र र जिल्लाबाट सिफारिसमा परेकाहरु केन्द्रीय नेता भेटेर आफ्ना लागि माहोल बनाइदिन आग्रह गर्दै छन् । कांग्रेस महामन्त्री शशांक कोइराला प्रदेश नम्बर ४ अन्तर्गतको सुस्ता पूर्व प्रतिनिधिसभाको १ नम्बर क्षेत्रबाट उठ्ने पक्कापक्की भएपछि कार्यकर्ताले प्रचार सुरु गरेका छन् । प्रदेश ५ अन्तर्गत परासी क्षेत्रमा राजपा छाडेका हृदयेस त्रिपाठीलाई एमालेले सहयोग गर्ने भएपछि उनले पनि प्रचार थालिसकेका छन् ।

प्रकाशित : कार्तिक १२, २०७४ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?