कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तराईमा समा चकेवाको रौनक

पवन यादव

रौतहट — दाजु बहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराईको मौलिक पर्व समा चकेवाको रौनक अहिले तराईका जिल्लाहरुमा छाएको छ । अहिले गाउँ गाउँमा किशोरीहरु समूह/समूह बनाएर समाचकेवा खेल्न थालेका छन् । उनीहरुले गोर्बधन पूजा देखि समाचकेवा खेल्न थालेका हुन् ।

तराईमा समा चकेवाको रौनक

कार्तिक पूर्णिमा सम्म खेलिने यस मौलिक पर्वले अहिले गाउँको रौनक बढाएको छ । यो पर्व विशेष गरी तराई मधेशका रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरी, धनुषा, महोतरी, नवलपरासी लगायत जिल्लासँगै जोडिएको छिमेकी राष्ट्र भारत बिहारका विभिन्न गाउँ तथा सहरी क्षेत्रमा बसोवास गर्ने मधेशी तथा थारु मुलकी अविवाहित किशोरीले मनाउने गर्दछन् । द्वापरयुगमा भगवान श्रीकृष्णले आफ्नो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि राधिका र भगवान कृष्णका १६ हजार गोपिनीहरुले भगवान कृष्णको सम्झनामा मनाउने समा चकेवा कालान्तरमा दाजु बहिनीको प्रेम र सदभावको मौलिक पर्वमा रुपान्तरित भएको छ ।

दुई साता सम्म मनाईने यस सांस्कृतिक पर्वमा रातको समयमा गाउ घरका खासगरी कुमारी कन्याहरु एकत्रित भई माटोले बनाईएको मूर्तिहरुको लोक गित गाएर पुजा आजा गर्ने गर्दछन् ।

पर्वको अन्तिम दिन पुर्णिमाको रातमा उक्त मुर्तिहरुलाई परम्परागत गीत गाउँदै फुटाउँछन् । अनि गाउँ घर नजिकको नदी, जलाशय, पोखरी, सरोवर आदिमा लगि सेलाएर आफ्ना दाजुभाइहरुलाई मिठाई पकवान आदी खुवाएर यो पर्व विधिवत रुपमा सम्पन्न गर्छन् ।

समा चकेवामा चकेवा (दाजु), समा (भाउजु), खिडलिच (बहिनी), बृन्दावन र चुङ्गला (भाईहरु) समेत गरी पाँच जनाको रंगीन मूर्तिहरु कुशले बनाईएको रंगीन भाडोमा राखेर गाउ भरी घुमाएर घर घरै अन्न, नगद आदि उपहार स्वरुप लिने र पर्वको अन्तिम दिन उक्त जम्मा भएको अन्नपात र रकमको गाउँ भरीका मान्यजन र ईष्ट मित्रहरुलाई एकत्रित गरेर भोज भतेर खाने खुवाउने चलन छ ।

प्रकाशित : कार्तिक १३, २०७४ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?