कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेससँगको तालमेल चुनावका लागि मात्रै : बाबुराम

भीम घिमिरे

पोखरा — प्रतिनिधिसभाका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले कांग्रेससँगको सहकार्य चुनावी तालमेलका लागि मात्रै भएको बताएका छन् ।

प्रतिनिधिसभाका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले कांग्रेससँगको सहकार्य चुनावी तालमेलका लागि मात्रै भएको बताएका छन् ।

पोखरामा मंगलवार सचारकर्मीसँग कुरा गर्दै उनले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै देशको राजनीतिक अधिकार प्राप्तिको चरण सकिएपछि विकास र आर्थिक समृद्धिको कार्यभारमा दलहरूको ध्यान जानुपर्ने बताए । ‘लोकतान्त्रिकरणको कार्यभार पुरा भयो, अब नपुगेका कुराका लागि संविधान संशोधन गर्दै त्यसलाई पूर्णता दिन सकिन्छ,’ उनले भने, ‘तर, अब राजनीतिक अधिकारको जगमा टेकेर जनतालाई विकसित र आर्थिकरूपले समृद्ध बनाउनुपर्ने अबको मुख्य कार्यभार हो । यसका लागि समाजवादी र लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक छ ।’

यसपटक कांग्रेससँगको तालमेलमा आफ्नो क्षेत्रमा उम्मेदवारी दिनु उक्त पार्टीसँग मिल्नु नभइ चुनावी तालमेल मात्रै भएको प्रष्टीकरण उनले दिए । ‘आर्थिक समृद्धिको कार्यभारलाई पुरा गर्न हिजोको आन्दोलनका क्रममा गठित पार्टीहरूले मात्रै सम्भव नहुने भएकाले वैकल्पिक, सांगठनिक ढंगले नयाँ शक्ति आवश्यक भएकाले हामीले नयाँ शक्ति पार्टी बनायौं,’ उनले भने, ‘हिजो शीतयुद्ध कालमा भएका कांग्रेस र कम्युनिष्ट अथवा पूँजिवादी र साम्यवादी भन्ने दुइवटा शक्ति थिए, त्यसैले मात्रै अहिलेको विश्वमा काम गरिरहेको छैन । अमेरिकादेखि फ्रान्सदेखि कोरियासम्म अहिले नयाँ विकल्पको खोजी भइरहेको छ ।’ भर्खरै लोकतान्त्रिक युगमा प्रवेश गरेको हाम्रोजस्तो देशमा त्यो खोजी हुनु स्वभाविक भएको उनले बताए ।

‘नयाँ शक्ति मुल रुपमा हिजोमा बाम र दक्षिण अथवा कांग्रेस र कम्युनिष्ट भन्ने ध्रुवभन्दा माथि उठेको बाम–लोकतान्त्रिक शक्ति हो,’ उनले भने, ‘हामी सारतत्वमा यसको प्रगतिशीलता र अग्रगमनका पक्षधर छौं, रूप पक्षमा जनताको प्रत्यक्ष सहभागिता हुने लोकतन्त्रको पक्षमा छौं । त्यसैले बाम र लोकतन्त्र एकअर्काका विरोधी हुन सक्दैन ।’

हाम्रो शासकीय स्वरुप र निर्वाचण प्रणालीमा बहुमत ल्याउनैपर्ने भएकाले बाम र लोकतान्त्रिक शक्ति आआफ्नो पक्षमा बहुमत ल्याउन लागिपरेको अवस्था भएको उनले बताए । ‘दुइ ध्रुव राखेर बाम र लोकतान्त्रिक शक्ति खडा गर्ने जुन काम भयो, हामी दुवैसँग समदुरी राखेर अघि बढ्ने शक्ति हौं,’ उनले भने, ‘त्यसैले आवश्यकताअनुसार हामीले चुनावी तालमेल गर्नसक्छौं ।’

यसबीचमा पुराना कम्युनिष्ट पार्टीहरूले हामी कम्युनिष्ट पार्टी रहँदैनौं, समाजवादी शक्तिका रूपमा हामी अघि बढ्छौं भन्ने कुराकानी गरेपछि गठबन्धनको कुरा अघि बढेको उनले बताए । ‘वैचारिक ढंगले हामी पनि त्यसमा सहभागी हुन्छौं भनेर हामीले सहभागी हुने कोशिश गर्‍यौं तर, उहाँहरूकै बीचमा भनिएका कुरामा एकरुपता रहेनछ,सहमति भइसकेको रहेनछ’ उनले भने, ‘पुरानै कम्युनिष्ट पार्टीको धङधङी बोक्ने जुन तरिका अपनाउनु भयो, त्यसमा हामी सहमत हुन सकेनौं । त्यसबाट निस्केर हामी स्वतन्त्र धार अघि बढाउँदैछौं ।’

यसबीचमा परेको चुनावका लागि नयाँ शक्तिले जोसँग पनि तालमेल गर्न स्वतन्त्र रहेको उनले बताए । ‘हामीले स्थायी गठबन्धन कसैसँग गरेका छैनौं, गर्ने हाम्रो मनशाय पनि छैन,’ उनले भने, ‘केही जिल्लाहरूमा जहाँ एकअर्कासँग तालमेल गर्दा लाभ हुन्छ, गोरखा, रसुवा जस्ता केही ठाउँहरूमा कांग्रेससँग तालमेल गरेका छौं । तर, यो गठबन्धन होइन, चुनावी तालमेल हो ।’ भारत र चीनजस्ता दुइ ठूला छिमेकी मुलुकको विकास र समृद्धि हेर्दै जाँदा पुरानो तरिकाले चल्न नसकिने, अन्तत: दलहरूले वैकल्पिक धारको खोजी गर्ने चेतना आउने भनाइ उनले राखे । आफ्नो दल बाम र लोकतान्त्रिक दुवै गठबन्धनमा नमिसिने बरु दुवैलाई मिलाएर अघि लैजान मिल्ने वैकल्पिक शक्ति बन्ने दाबी उनले गरे ।

प्रतिष्पर्धी क्षमतावान हुँदा राम्रो
गोरखा–२ मा भट्टराईका प्रतिष्पर्धी उम्मेदवार यसपटक बाम गठबन्धनबाट माओवादीका नारायणकाजी श्रेष्ठ छन् । आफ्नो प्रतिष्पर्धीबारे व्यक्तिगत कुरा केही पनि भन्नुपर्ने नभएको भट्टराईले बताए । ‘मैले आफ्नो प्रतिष्पर्धामा आफूलाई अव्वल साबित गर्दै आइरहेको छु । जनताको माया र विश्वासलाई मतमा परिणत गर्ने हो, त्यो गरेकै छु,’ उनले भने, ‘लोकतन्त्रमा स्वस्थ प्रतिपर्धा हुन्छ । प्रतिष्पर्धी क्षमतावान भए आफूले पनि बढि मेहेनत गरिन्छ, आफ्नो पनि क्षता बढ्छ ।’ आफूले प्रतिष्पर्धीको आलोचना गर्नुभन्दा गोरखामा गरेका कामका आधार हेरेर जनताले जिताएर पठाउनेमा विश्वस्त रहेको उनले बताए ।

यसकारण मिलेन बाम गठबन्धनसँग कुरा
माओवादी, नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच नयाँ पहिचानसहित समाजवादी शक्ति निर्माण गर्ने सल्लाह भएपनि एमाले–माओवादीले एकलौटी गरेपछि कुरा नमिलेको भट्टराईले बताए । ‘सल्लाहमा हामी सहभागी भएका थियौं तर, पछि फोरम र हामीलाई अलग राखेर दुइटा कम्युनिष्ट पार्टीले मात्रै एउटा कम्युनिष्ट केन्द्र मात्रै बनाउने जुन सोच उहाँले राख्नुभो त्यसमा हाम्रो सहमति रहेन,’ उनले भने, ‘नेपालमा अब पुरानै स्टालिन ढाचाका कम्युनिष्ट पार्टी एक ठाउँमा जोडेर कम्युनिष्ट केन्द्र बनाएर त्यसको भविष्य हुँदैन । जसरी माइनस माइनस जोडेर प्लस हुँदैन, बरु ठूलो माइनस हुन्छ ।’

पुराना कम्युनिष्ट पार्टी एक ठाउँमा आउँदा पार्टीको आकार ठूलो भएपनि भविष्य नहुने दाबी उनले गरे । ‘हामीले प्लस वन, प्लस वन तीनवटा/चारवटा जोडेर प्लस फोर बनाउन खोजेका थियौं,’ उनले भने, ‘उहाँहरूले माइनस टु माइनस टु जोडेर माइनस फोर बनाउनुभयो । यसले देशको हित गर्दैन भनेर हामी बाहिरिएका हौं ।’

चुनावका मात्रै लागि कांग्रेससँग तालमेल भएको दोहोर्‍याएका उनले गोरखाकै लागि नयाँ शक्ति बाम गठबन्धनमा नमिलेको भन्ने दुष्प्रचार भएको उनले बताए । ‘गोरखा त म दुइपटकसम्म जितेको ठाउँ, जनताले माया गरेको ठाउँ,’ उनले भने, ‘म उठ्नु स्वभाविक हो, यसको फैसला जनता आफैंले गर्छन् ।’

‘विकृत र भ्रष्ट भइसकेको स्टालिनवादी ढाचाले नेपालमा विकास हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘भ्रष्टाचारका अनगिन्ती श्रृंखला कायम राखेर राष्ट्रको जुन बदनाम गर्ने काम भइरहेको छ त्योभन्दा माथि नउठेसम्म देशको हित हुन सक्दैन ।’

नयाँ शक्ति राम्रो बीऊ
नयाँ शक्तिलाई थोरै नेता भएको सानो पार्टी मान्नेहरूले कालान्तरमा यसले ल्याउने परिवर्तन देख्न पाउने दाबी उनले गरे । विचारक र आविष्कारकहरूले आफ्नो जीवनकालमा के भयो भएन भन्ने चिन्ता नगरी समाजलाई देन दिने कुरामा तल्लिन भएजस्तै आफ्नो दल भएको भनाइ उनले राखे ।

‘४७ सालमा हामीले माओवादी बनाउदाको पार्टी सानै थियो, ४९ सालको चुनाव लड्दा जम्मा नौ सीट जितेका थियौं,’ उनले भने, ‘सानाबाटै ठूलो हुने हो तर, बीउ राम्रो रोप्नुभो भने हुर्कन्छ र फल लाग्छ, भुस रोप्नुभो भने केही पनि उम्रँदैन ।’ नयाँ शक्ति राम्रो बिउ रहेकाले हुर्कने र देशलाई समृद्धिको दिशातिर लिएर जाने दाबी उनले गरे । ‘चुनावबाट व्यक्तिगत रूपमा मैले कुनै आकांक्षा राखेको होइन । म देशको प्रमुख कार्यकारी भइसकेँ’ उनले भने, ‘चाहना के हो भने देश जुन गरिबी र बेरोजगारीको दुष्चक्रमा छ, त्यसबाट निकाल्न नयाँ सोच चाहिन्छ भन्ने प्रयत्नमा म छु । त्यसैका लागि लागिरहेको छु ।’

प्रकाशित : कार्तिक १४, २०७४ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?