कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोलुमा कांग्रेस र वाम गठबन्धनबीच कडा टक्कर

वाम गठबन्धन र कांग्रेसबीच भिडन्त
कुलचन्द्र न्यौपाने

सोलुखुम्बु (सल्लेरी) — कांग्रेस नेता बलबहादुर केसी ०४८ सालयता भएका ५ निर्वाचनमध्ये ०६४ को पहिलो संविधानसभाबाहेकका सबै चुनावमा विजयी हुँदै आए । तीनपटक मन्त्री समेत बने । २६ वर्षदेखि पार्टी र सरकारको केन्द्रविन्दुमा रहेका केसीका लागि मंसिर १० मा हुन गइरहेको छैटौं प्रतिस्पर्धा त्यति सहज देखिन्न । स्थानीय चुनावमा वाम गठबन्धनले पाएको मतको आंकलन गर्ने हो भने केसीलाई कांग्रेसको विरासत जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ ।

सोलुमा कांग्रेस र वाम गठबन्धनबीच कडा टक्कर

सायद यही ठानेर हुनसक्छ, औपचारिक उम्मेदवारको घोषणा गर्नु अघिदेखि नै केसी जिल्लाको चुनावी अभियानमा जुटिसकेका थिए । केसी शुक्रबार सदरमुकाम सल्लेरीबाट पश्चिम एक दिन पैदल दूरीमा पर्ने बुङ र त्यस आसपासका गाउँमा चुनावी प्रचारमा जुटिरहेका थिए र वाम गबठन्धनमा उम्मेदवारहरु पनि त्यसै क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुका पछि पछि प्रचारमा छन् ।

केसीका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका युवा नेता हेमबहादुर राई चुनौती बनेर खडा भएका छन् । उमेरको तुलना गर्ने हो भने बाउ छोरा बीचको प्रतिस्पर्धा भन्दा पनि फरक पर्दैन । ३४ वर्षीय राई र ६५ कटेका केसीबीचको चुनावी प्रतिस्पर्धाले विश्वको अग्लो सगरमाथाको काखमा रहेको यस सुन्दर जिल्लालाई यतिबेला तताइरहेको छ । कांग्रेसले प्रदेशसभामा प्रकाशसिंह कार्कीलाई ‘क’र पार्टीको पूर्वजिल्ला सभापति आङगेलु शेर्पालाई ‘ख’मा उम्मेदवार बनाएको छ । जिल्लामा केसी र शेर्पा पक्षबीच कटाक्ष रहे पनि दुवै उम्मेदवार भएकाले कांग्रेसभित्र यसपटक एकता देखिएको छ । तर, लोकतान्त्रिक गठबन्धनमै आबद्ध रहेका संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालले पनि जिल्लामा उम्मेदवारी दिएका छन् । उनीहरुको प्रभाव न्यून देखिए पनि समानुपातिक मत तान्नका लागि कांग्रेसलाई सहयोग नगरी आफैले उम्मेदवारी दिएको स्थानीय नेताहरु बताउँछन् ।

०४८ र ०५१ को स्थानीय चुनावमा दोस्रो शक्तिको रुपमा रहेको राप्रपाको प्रभाव पनि जिल्लामा न्यून छ । ०७० को चुनावमा राप्रपालाई ३६ सय मतमात्रै प्राप्त भएको थियो । स्थानीय तहमा त्यो पनि घटेको छ । राप्रपाले कांग्रेसलाई सघाउने गरी उम्मेदवारी दिएको छैन ।

एमाले र माओवादी केन्द्रको ६० र ४०को भागबन्डामा प्रतिनिधिसभा माओवादीको र दुईटा प्रदेशसभाका सदस्य एमालेको भागमा परेको छ । प्रदेशसभामा एमालेबाट ‘क’मा उत्तमकुमार बस्नेत र ‘ख’बाट बुद्धिकुमारराज भण्डारी उम्मेदवार छन् । प्रतिनिधिसभाको उम्मेदवार माओवादीलाई दिइएकोप्रति एमालेको एउटा कार्यकर्ता पंक्ति असन्तुष्ट छ । असन्तुष्टि जनाउँदै जिल्ला कमिटीका पूर्वसहसचिव समेत रहिसकेका लोचनकुमार शर्मा बागी छन् । उनले उम्मेदवारी फिर्ता नगरेपछि उनलाई जिल्ला कमिटीको सदस्यबाट निस्काशन गर्नुको साथै पार्टी सदस्यता नै नरहने गरी कारबाही गरिसकिएको छ । गठबन्धन बन्नुअघि एमालेले जिल्लाबाट पार्टी अध्यक्ष मानवीर राईको नाममात्रै प्रतिनिधिसभा उम्मेदवारका लागि केन्द्रमा सिफारिस भएको थियो । गठबन्धनका कारण प्रतिनिधिसभा उम्मेदवार माओवादीको भागमा परेपछि एमाले अध्यक्ष राई असन्तुष्ट मात्रै भएनन्, प्रदेशसभामा उम्मेदवार समेत बन्न मानेनन् ।

माओवादीभित्रै पनि एउटा पंक्ति उम्मेदवारकै विषयलाई लिएर असन्तुष्ट छ । माओवादी नेता एवं पूर्वमन्त्री गोपाल किराती यसै जिल्ला निवासी हुन् । वाम गठबन्धनप्रति सैद्धान्तिक रुपमै असहमति सार्वजनिक गरेका किराती अहिलेसम्म चुनावी प्रचारमा गृहजिल्ला आइपुगेका छैनन् । उनको असन्तुष्टिको प्रभाव जिल्लामा पनि पर्ने देखिन्छ । यद्यपि माओवादीका स्थानीय नेता ध्रुव पराजुली किरातीको असन्तुष्टि सैद्धान्तिक पक्षमा रहेको तर चुनावी गठबन्धनप्रति नभएको भन्दै त्यसको असर जिल्लामा नपर्ने दाबी गर्छन् । भन्छन्,‘नेता किराँती पनि एकदुई दिनमै चुनावी प्रचारका लागि जिल्ला आउँदै हुनुहुन्छ ।’तर, सल्यान निवासी एमाले जिल्ला कमिटी स्कुल विभागका सदस्य शत्रुधन बस्नेत एमाले र माओवादीभित्रको असन्तुष्टी रहेको स्वीकार्छन । ‘सबैभन्दा बढी मत जिल्लामा एमालेको छ, तर उसैलाई उम्मेदवार नदिँदा मतदाताहरुमा असन्तुष्ट छाएको छ’यो असन्तुष्टि चिर्न नसकेमा वाम गठबन्धनलाई पनि सकस छ ।’

एमाले र माओवादीभित्रको असन्तुष्टि फाइदा लिने प्रयासमा कांग्रेस नेता केसी भित्रभित्रै लागिपरेका छन् । तर, चुनाव जित्ने प्रमुख आधार भने उनले ०४८ सालदेखि आफूले गरेका विकासका निर्माणलाई ठानेका छन् । त्यसबाहेक एमाले र माओवादीभित्रको असन्तुष्ट पक्षको मत तान्ने कोसिसमा पनि उतिकै सक्रिय छन् ।

गत स्थानीय तहको चुनावमा जिल्लामा रहेका एक दूधकोसी नगरपालिका र ७ गाउँपालिकामध्ये एमालेले चार गाउँपालिका जितेको छ । कांग्रेसले सदरमुकामसँग जोडिएको एकमात्रै नगरपालिकामा जित हासिल गरेको छ भने माओवादी केन्द्रले ३ गाउँपालिकामा जितेको छ । मतान्तर हेर्ने हो भने कांग्रेस र राप्रपा लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धन ९ हजार ५ सय ९५ मतले अघि छ । कांग्रेस नेता केसी वाम गठन्धनले चुनौती थपिएको स्वीकार्छन् । तर, तत्कालीन अवस्थामा एमाले र माओवादीबीचको तिक्तता र उम्मेदवारको विषयलाई लिएर एमाले र माओवादीभित्रै उत्पन्न विवादको फाइदा आफूलाई हुने केसीको ठम्याई छ । ‘प्रचण्ड र केपी ओली मिल्दैमा मतदाता मिल्छन् भन्ने छैन’उनी भन्छन्,‘कांग्रेसले जिल्लामा गरेको विकास, परिचित नेतालाई मतदाताले खोज्छन् । त्यसैले त्यति ठूलो चुनौती मैले देखिरहेको छैन ।’

एमाले र माओवादी केन्द्रभित्रको असन्तुष्टिभित्रको मत ज्यादै न्यून रहेकाले गठबन्धनको स्थिति सुदृढ रहेको एमाले र माओवादी केन्द्रका स्थानीय नेताहरुको दाबी छ । ‘अहिले हाम्रो जिल्ला अध्यक्ष उम्मेदवारसँगै प्रचारमा हुनुहुन्छ’एमाले जिल्ला कमिटीका सहसचिव रामकाजी श्रेष्ठ भन्छन्,‘एकाध असन्तुष्टि होलान् । तर, अहिले सबै मेटिसकेका छन् । वाम गबठन्धनको संयुक्त निर्वाचन परिचालन समिति गठन भएर सामूहिक प्रचार अभियान सुरु भइसकेको छ ।

गठबन्धनका नेताहरु जिल्लाको विकास योजना देखाएर मत तान्ने प्रयासमा छन् । त्यसपछि स्थिर सरकार र शान्तिसुरक्षा उनीहरुको मुख्य एजेन्डा छ । ०४८ सालदेखि अहिलेसम्म एकपटक बाहेक सबै अवधि कांग्रेसले नेतृत्व लिएकै कारण जिल्लाको विकासपछि परेको उनीहरुको आरोप छ । जिल्लाका सात गाउँपालिकामध्ये अझै तीन गाउँपालिकामा मोटरबाटो जोडिएको छैन । लिखु पिके, खुम्बु पासङ लामु र महाकुलुङ गाउँपालिकासम्म अझै बाटो पुगिसकेको छैन । जहाका जनता हप्तौ हिँडेर सदरमुकाम आउनु पर्ने बाध्यता छ । बाटो बनाउने काम भने अघि बढिसकेको छ ।
‘हामीले जित्यौ भने सबै गाउँमा बाटो पुऱ्याउँछौ, हप्तौ दिन हिँड्न पर्ने बाध्यता हटाउँछौ’माओवादीका नेता पराजुली भन्छन्,‘जिल्लालाई पर्यटकीय हवको रुपमा विकास गर्ने योजना पनि हाम्रो छ ।’उनले विश्वकै आकर्षण गन्तव्य भएर पनि जिल्लामा पर्यटकीय विविधताको विकास हुन नसकेको र यसतर्फ कांग्रेसको ध्यान नपुगेको बताए । कांग्रेस नेता केसी भने जिल्लामा मोटरबाटोको सञ्जाल बनाउनेदेखि पर्यटकीय विकासमा आफ्नो ठूलो योगदान रहेको दाबी गर्छन् । ‘मै पर्यटनमन्त्री भएका बेला सगरमाथा चढेबापत आउने सलामीको दस प्रतिशत रोयल्टी जिल्लालाई छुट्याउने व्यवस्था गरे, पछि त्यसलाई बढाएर ३० प्रतिशत पुऱ्याउने काम भयो’ उनले भने,‘अहिले त्यहिँ रोयल्टीले पर्यटकीय विकासका काम सुरु भएका छन् ।’गतवर्ष जिल्ला विकास समितिले सगरमाथा चढेबापत जिल्लालाई प्राप्त भएको ३५ करोड रुपैयाँ रोयल्टी विकास योजनामा छुट्याएको थियो ।

को हुन् माओवादी उम्मेदवार राई ?
वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका हेमबहादुर राई पूर्वमाओवादी लडाकु हुन् । राजनीतिक दर्शनबाट भन्दा लडाकु पृष्ठभूमिबाट जिल्लामा उनलाई चिनिन्छ । माओवादी द्वन्द्वकालमा पार्टी अध्यक्ष पुष्पकमल दाहालकै सुरक्षा दस्तामा उनी खटिएका थिए । तत्कालीन गृहमन्त्री जनार्दन शर्मा टिममा बसेर काम गरेका राई अध्यक्ष दाहालकै चाहनाबाट उम्मेदवार बनाइएका हुन् । राई सोलुखुम्बको नेथासल्यान गाउँपालिका-४ निवासी हुन् । उमेरमा उनी ३५ वर्षका छन् । कक्षा ८ मा पढै गर्दा १५ वर्षकै उमेरमा उनी माओवादीको तत्कालीन जनयुद्धमा लडाकु बनेर होमिएका थिए ।

जनयुद्धमा लाग्दा जनमुक्ति सेनाको विग्रेड कमाण्डरको रुपमा समेत काम गरेको माओवादीका स्थानीय एक नेताले बताए । जनयुद्धका क्रममा लाहनको बन्दीपुर, खोटाङको मैरे, ओखलढुंगाको रुम्जाटारलगायत भिडन्तमा उनी घाइते समेत भएका थिए । ‘पूर्वलडाकु भए पनि कुनै ठेक्कापट्टामा संलग्न नभएको, गुण्डागर्दी नगरेको युवाको रुपमा उनलाई चिनिन्छ’माओवादीका स्थानीय नेता ध्रुव पराजुली भन्छन् । तर, उनी जिल्लामा भन्दा काठमाडौंमा बढी बस्ने भएकाले जिल्लाको गाउँबस्तीमा भिजेको नभएकाले माओवादीकै कतिपय नेताहरु मतदाता प्रभावित पार्न समस्या परेको बताउँछन् ।

वाम गठबन्धन र कांग्रेसबीच भिडन्त
चुनाव नजिकिँदै गर्दा जिल्लामा वाम गठबन्धन र कांग्रेसबीच भिडन्त हुन थालेका छन् । जिल्लाको पूर्वी सोताङ गाउँमा बिहीबार राति कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच भिडन्त हुँदा ५ घाइते भएका छन् । जसमा कांग्रेसका चारजना र वाम गबठन्धनका एक कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरुमा कांग्रेस जिल्ला कार्यसमिति कोषाध्यक्ष पेमा तामाङ, तरुण दलका कार्यकर्ताहरु प्रकाश राई, अजित बस्नेत, आरबी राणा छन् । घाइतेमध्ये तामाङको स्थिति गम्भीर रहेको कांग्रेस नेतृ रिना उप्रेतीले बताइन् । उनीहरुलाई कांग्रेस नेता बलबहादुर केसीले बिहान नै हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं पठाएका छन् । घाइते हुनेमा वाम गठबन्धनका दिलबहादुर नेपाली छन् ।

कांग्रेस नेतृ रेनु उप्रेतिका अनुसार बुङको कार्यक्रम सकेर सोताङमा बास बसेका कांग्रेस कार्यकर्ताहरुमाथि वाम गठबन्धन कार्यकर्ताहरुले ढुंगा र लाठी हानेर भिडन्त निम्ताएका थिए । कांग्रेस नेता केसी घटनास्थलभन्दा केही टाढा अर्को गाउँमा भएकाले उनीमाथि केही भएन । आक्रमण भएकै गाउँमा शुक्रबार वाम गठबन्धनले कार्यक्रम आयोजना गरेका थिए । माओवादीका स्थानीय नेता ध्रुव पराजुलीका अनुसार वाम गठबन्धनको कार्यक्रम हुने स्थलमा तरुण दलका दस्ताले पोस्टर च्यातेर चुनावी सभा विथोल्ने गरेकाले भिडन्त भएको बताए । उनले तरुण दलको कार्यकर्ताको खुकुरी प्रहारबाट माओवादीकी दिलबहादुर नेपाली घाइते भएको बताए ।

नेपालीलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको उनले बताए ।

प्रकाशित : कार्तिक २४, २०७४ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?