माइक्रोबस दुर्घटनामा ३ को मृत्यु, १६ जना घाइते

ज्योति कटुवाल

दैलेख — सुर्खेतबाट दैलेख आउँदै गरेको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दैलेखको गुरास गाउँपालिका वडा नं. ४ सियाकोटमा शुक्रबार राति भएको दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २ जनाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरीले कार्यलयले जनाएको छ ।

सुर्खेतबाट दैलेख आउँदै गरेको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दैलेखको गुराँस गाउँपालिका-४ सियाकोटमा शुक्रबार राति भएको दुर्घटनामा १ को घटनास्थलमै र अन्य २ जनाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरीले कार्यलयले जनाएको छ ।

सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्बरको माइक्रोबस सियाकोटमा दुर्घटना हुँदा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिंजाली र जसी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेहरुमध्ये ८ जनाको अवस्था चिन्ताजनक छ । दुर्घटनामा बुटवल–७ दीपनगरका वर्ष ३८ का विनोदकुमार अगहरी, नारायण नगरपालिका–१ की २५ वर्षीया हेमा खड्का, वीरेन्द्रनगर–९ का १२ वर्षका गोविन्द तिवारी, दैलेख खरीगैरा–४ का वर्ष १९ का खेमराज बुढा, पाताभार–२, बर्दिया वर्ष २५ का नरेश थारु र वर्ष ३६ का धर्म थारु घाइते भएका छन् ।

यस्तै पाताभार–२ का ३५ वर्षीय विनोद चौधारी,३६ वर्षीय पशुराम चौधरी,दुल्लु नगरपालिका–८ दैलेखका २४ वर्षीय सुरेश देवकोटा, कालभैरव–१ का २१ वर्षीय विमलबहादुर थापा घाइते भएका छन् । घाइतेहरुको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीले बतायो । तीव्रगतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरी अनुमान छ ।

प्रकाशित : कार्तिक २५, २०७४ १०:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अनुभूति : शिरको सिन्दूर झरेपछि...

राधिका अधिकारी

काठमाडौं — ४५ वर्ष पुगिसकेको एउटा सरकारी अधिकृत मलाई माग्न आफन्तकहाँ पुगेछन् । त्यो बेला म भर्खर २४ वर्ष लाग्दै थिएँ । र, मेरो सिउँदोको सिन्दूर पुछिएको ६ महिना जति मात्र भएको थियो । त्यही मेरो पुछिएको सिउँदोको आडमा दुई छोराका पिता उनी आफूभन्दा २ दशक कान्छी मसँग सम्बन्ध गाँस्न चाहन्थे ।

एक त, मेरो मनमा लागेको घाउ आलै थियो । अर्को, मेरो उमेरले आफूभन्दा दोब्बर उमेरसँग सहयात्रा गर्न सक्छ भन्ने नै लागेन । तर, परिवारको दबाब भनिसाध्य थिएन, ‘भविष्य सुरक्षित हुन्छ, सरकारी जागिरे, त्यही मान्छेसँग विवाह गर ।’ यस्तै यस्तै । मैले भने भविष्यको सुरक्षाकै लागि भनेर फेरि आफ्नो जिन्दगी, मन र वर्तमानसँग सौदाबाजी गर्न चाहिनँ ।

मेरो उमेर, मन र बाध्यतालाई यो समाजले कसरी बुझ्यो थाहा भएन । ती सरकारी अधिकृतले भने बाराम्बार खबर पठाइरहे, ‘भाग्यले ठगेकी एउटी अवलालाई साथदिउँm भन्ने लागेर मात्रै हो, नत्र म भनेर मर्ने कुमारी केटी कति छन् कति !’

उनले केवल मेरो जीवनको उडेको रंग देखे । मेरो पुछिएको सिउँदोलाई नमेटिने दाग ठाने (समाज पनि यस्तै ठान्छ) । तर उनले आफ्नै ढल्केको उमेर र हुर्केका छोराहरू देखेनन्, जुन मेरा अस्वीकृतिका कारणहरू थिए ।
यही अस्वीकृतिका कारण धेरै पछिसम्म मैले बारम्बार ‘बुद्धिमा बिर्को लागेकी’ को उपमा गुथिरहें ।

ती अधिकृत त मेरो जिन्दगीले एउटा मोड लिएपछि जोडिन आइपुगेका एक पात्र मात्र हुन् ।
***

एक दिन एउटा साथीसँग टुँडिखेलमा बसेर उसको प्रेम वियोगको कथा सुनें । उनले घरमा श्रीमती हुँदाहुँदै अर्की युवतीसँग प्रेम गरेका रहेछन् । पछि श्रीमती भएको थाहा पाएपछि ती प्रेमिकाले छाडिछन् । उता श्रीमतीसँग पनि सम्बन्धविच्छेदको मुद्दा चलेछ । यो कुरा उनले रुँदै सुनाएका थिए । नाटक लेखन र गजलमा आफूलाई अब्बल ठान्ने उनले यो पनि सुनाएका थिए कि, उनको एक अन्तर्राष्ट्रिय महिलासँग पनि प्रेम र सहबास थियो । उनका एक छोरा र छोरी थिए । उमेर मैले कहिल्यै सोधिनँ । हेर्दा ३० वर्षभन्दा माथिका जस्ता देखिन्थे ।

श्रीमतीसँग मुद्दा चल्दाचल्दै उनले मलाई प्रेम प्रस्ताव राखे । धेरै दिनसम्म म हिँड्ने बाटोमा पछ्याए । तर मेरो उनीप्रति कुनै ‘फिलिङ्स’ थिएन । एकातिर प्रेम वियोग अर्कोतिर अदालतको पेसी, उसको मन थप अशान्त नहोस् भन्ने लागेर मात्र मैले उनलाई भनें— पहिला कानुनी झमेला सक्नु अनि बसेर कुरा गरौंला ।

परार तिहारताका अदालतले उनका श्रीमान्–श्रीमती छुट्टिने फैसला सुनायो, यो खबर उनले मलाई त्यसै दिन सुनाएका थिए ।

मैले अस्वीकार गर्दागर्दै उनले लगातार २ वर्ष पछ्याए, यो उनी आफैं पनि सुनाउँथे । तर, मैले भित्रैबाट उनको प्रस्ताव स्विकार्न नसक्ने भनिदिएँ । अचम्म ! मेरो त्यही अस्वीकृति नै फरि पनि मेरो ‘भाग्यमा लागेको दाग’ देखिने अर्को कारण बन्यो । ‘मलाई कसैकी स्वास्नी भैसकेकी केटी चाहिएको छैन’ भनेर उनले उल्टो वचन लगाए ।

मलाई जान्न मन थियो, उनले कुनै दिन रुँदै आफैंले सुनाएका कथा कता बिर्सिए ? अदालतमा उभिएर पारपाचुके पत्रमा गरेको हस्ताक्षरले उसको जीवनलाई खोटो बनायो कि बनाएन ? तर उनीसँग यो सवाल–जवाफ गरिरहन मन लागेन ।

खाटा बस्न खोज्दै गरेको मेरो घाउ त्यो वचनवाणले फेरि बल्झियो । धेरै दिनसम्म दैलो थुनेर, समाजसँग लुकेर, डाँको छाडेर रोएँ । तर पनि त्यो आँसुले मेरो शिरबाट सिन्दूर झर्दा समाजले देखेको ‘दाग’ बगाउन सकेन ।
***

समाज, संस्कार र पराइले मात्रै होइन आफन्तले पनि बेला–बेलामा मेरो खाटो बसेको घाउ कोट्याएर रक्ताम्य बनाइरहे ।

एक महिनाअघि पनि दिदी पर्ने आफन्तले अन्दाजी ५५ वर्षका ‘एक होनहार युवक’ सँग सम्बन्ध गाँस्न भनेर खबर पठाइन् । सरकारी अस्पतालका जागिरे, काठमाडौंमा आफ्नै घर भएका र एउटा निजी क्लिनिकका सञ्चालक उनकी श्रीमती बितेको एक वर्ष पूरा भएको रहेछ । क्याम्पस पढ्ने २ छोराका पिता उनलाई जीवनको उत्तराद्र्धमा सेवा गर्ने श्रीमती चाहिएको रहेछ ।

एक्लै संघर्ष गरेर थोरै भए पनि आफ्नै परिचयमा बाँच्न संघर्षरत म ती दिदीको प्रस्तावले अवाक बनें । उनले मैसँग प्रश्न गरिन्, अब त उमेर पनि जान लाग्यो, जीवनसाथी चाहिन्छ, के छ विचार ? ‘काठमाडौंमा घर छ, सरकारी जागिरे, आफ्नै क्लिनिक छ, केही कुराको दु:ख हुँदैन,’ उनले बिहे गर्न जोड दिइन् । तर, मैले उनलाई जीवनका सुखदु:ख धनसँगभन्दा बेसी मनसँग गाँसिएर आउँछ भनेर बुझाउन सकिनँ । ‘अब घरका लागि हैन, गरे आफ्नै र जीवनका लागि विवाह गर्छु नत्र गर्दिनँ’ भन्न मन थियो । तर सकिनँ । केवल चुपचाप उठेर हिँडिदिएँ ।

उदेक लाग्छ— भर्खर रंगीन सपना देख्ने समयमा श्यामश्वेत बनेको जीवन र त्यही कारण आफूमाथि अनेकथरीका प्रश्न बर्सिरहँदा पनि जिन्दगीसँग हार नखाएर बाँच्ने हिम्मत गर्ने एउटी छोरीका कुमारी सपनाप्रति यो समाजले आफ्नो उत्तरदायित्व छ भनेर आजसम्म बुझ्नै सकेन ।

एकपटक भरिएर उजाडिएको सिउँदो बोकेर हिँडेको ६ वर्ष गुज्रन लाग्यो । यी वर्षहरूमा मैले थाहाँ पाएँ, आफन्त, समाज र संस्कारका नाममा पाएका यातना सानो छातीले कुल्चेर हिँड्न सम्भव रहेनछ । भरिएर एउटी छोरीको सिन्दूर पुछिनु भनेको हाम्रो समाजमा ऊ जिन्दगीभरिका लागि बोक्सी हुनु हो, खोटी हुनु हो । त्यो खोट बोकेर यो समाज र यहाँको संस्कारको सामना गर्नु कति कहालीलाग्दो छ ? यौवनमै नाडीका चुरा फुटालेर हिँड्न विवश कैयौं छोरीहरूका छातीमा कस्तो खिल बनेर बसेको होला ? कल्पना गर्दा पनि धर्ती च्यातिएर आफैं भासिन्छु कि जस्तो लाग्छ ।

हुन त, सन्तानका लागि बाबु–आमा हरेक क्षण चिन्तित हुन्छन् । तर, जवानीमै सिन्दूर पुछेर बसेकी छोरी आमा–बाबुका लागि पीडा मात्र होइन, बोझ पनि हुँदा रहेछन् । म पनि त्यस्तै भएँ । पीडाका हिसाबले यो ६ वर्षमा मैले ६० वर्षको जीवन गुजारेँ होला । ६० थरीका मान्छेका प्रस्ताव अनि विवाह गर्न छोरी राजी भैदिए हुन्थ्यो भन्ने नजानिँदो ढंगको बाबा–आमाका आशयका बीचबाट आफूलाई बचाउने हिम्मत जुटाउनु चानचुने कुरा थिएन । यसो भनिरहँदा, मेरो उजाडिएको सिउँदोले मेरी आमाको आँखामा छल्किने आँसु र रुन नसकेर आफैंभित्र मडारिने बाबाको मनको आँधीलाई कम भन्न खोजेकी पक्कै होइन । मलाई थाहा छ, मेरा बाबाआमा यही समाजका सदस्य हुन् । यहीँका संस्कारमा हुर्किएका हुन् । समाज र संस्कारको दबाबमा छन् उनीहरू ।

यस बीचको यात्रामा ठोक्किन कुमार केटा नआएका पनि होइनन् । प्राय: मुस्कुराइरहने मेरो आदतसँग गाँसिएर केही साथी र अलि परका युवाहरू पनि बारम्बार नजिकिन खोजे । तर, ओठको हाँसोसँग लठ्ठिएर आउनेहरू आँखाबाट बग्ने आँसुसँगै टाढिएर गए । उनीहरूसँग मेरो कहिल्यै केही गुनासो रहेन ।

म आफैंलाई पनि कुनै कुमार केटाको तस्बिरले कैयौं रंगीन सपना नदेखाएको होइन । झरे पनि शिरको सिन्दूर, नझर्ने रहेछ जीवनका रहर, मनको रंग र उमेरका संवेगहरू । त्यसैले बारम्बार यी आँखाले रंगीन सपना देख्न छाडेनन् ।

तर, पर्खाल लगाएपछि जीवनमा धेरै कुरा त्यही पर्खालबाहिर पर्दा रहेछन् । संस्कारको ठूलो पर्खाल लागेको मेरो जीवनमा मेरा सुकिला सपनाहरू पर्खालबाहिरै परिरहे । भावनात्मक माया र सद्भावको परिधिभन्दा माथि उठेर रंगीन सपना देख्ने अधिकार पनि सिन्दूरसँगै खोसियो मेरो जीवनबाट । विवाह एक संस्कार र संस्था हो । तर, विवाहपश्चात् पुरुष वा महिलाको मृत्यु भएमा अथवा पारपाचुके भएमा पुरुषको जस्तै सजिलैसँग महिलाको पुन: विवाह किन हुँदैन ? अथवा, एक्लै बाँच्छु भन्दा पनि किन जटिल बनिदिन्छ यो समाज ? यो प्रश्नले बारम्बार चिमोटिरहन्छ ।

केही छोरीहरूले पतिको मृत्यु वा पारपाचुकेपश्चात् पुनर्विवाह गरेका थुप्रै उदाहरण त छन् । तथापि २५–२६ वर्षकै उमेरमा, मातृत्व नपोखिएको काख लिएर त मैले समाजका यावत् जटिलतासँग गाँसिनुपरेको छ भने म कल्पना गर्न सक्छु— अलि उमेर ढल्किएपछि र आमा बनेपछि एकल महिला बनेकाहरूले कति अड्चनहरूसँग जुध्नुपर्छ होला !
sabdha.sahitya@gmail.com

प्रकाशित : कार्तिक २५, २०७४ १०:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT