कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वप्रधानमन्त्री विष्टको ९१ वर्षको उमेरमा निधन

सादगीपूर्ण प्रस्थान
कान्तिपुर संवाददाता

काठमाडौं — शनिबार बिहान निधन भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको अन्येष्टि गरिएको छ । विष्टलाई राजकीय सम्मानबिना नै शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्येष्टि गरिएको हो । आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छाअनुसार नै सामान्य ढंगबाटै अन्त्येष्टि गरिएको परिवार स्रोतले जानकारी दिएको छ ।

पूर्वप्रधानमन्त्री विष्टको ९१ वर्षको उमेरमा निधन

देशभक्त नेताको छवि बनाएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा शनिबार बिहान साढे १० बजे आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । उनी लामो समयदेखि क्यान्सर रोगले पीडित थिए । प्रचारप्रसार र सार्वजनिक जीवनबाट टाढै बस्न रुचाउने उनले आफ्नो अन्त्येष्टि पनि सामान्य ढंगले होस् भन्ने चाहेका थिए । पशुपति आर्यघाटमा परिवारका थोरै सदस्यको उपस्थितिमा शनिबारै उनको अन्त्येष्टि गरिएको छ ।

पञ्चायतकालमा तीन पटक प्रधानमन्त्री रहेका विष्ट पटक–पटक मन्त्रिपरिषद् उपाध्यक्ष र उपप्रधानमन्त्रीसमेत भएका थिए । पछिल्लो समय २०६१ सालमा ज्ञानेन्द्र शाहको शाही सरकारमा उनी तुलसी गिरीसँगै उपाध्यक्ष थिए । उत्तरी सीमाक्षेत्रमा राखिएका भारतीय सैन्य चेकपोस्टहरू हटाउने साहसिक निर्णय लिएको र सिंहदरबारमा आगलागी हुँदा नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका कारण इतिहासमा उनको बेग्लै छवि छ ।

‘कीर्तिनिधि विष्ट राष्ट्रियताप्रति प्रतिबद्ध, अत्यन्तै इमानदार र मुलुकलाई माया गर्ने एक असल राष्ट्रवादी नेता हुनुहुन्थ्यो,’ कूटनीतिज्ञ भेषबहादुर थापाले भने, ‘जनताको तहबाट उठेका उनीभन्दा राष्ट्रवादी अरू नेता कमै छन् ।’ सन् १९५० को नेपाल–भारत सन्धि असमान र नेपालका लागि अमान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममै बोल्ने पहिलो नेता पनि उनै रहेको थापाले बताए । वि.सं. १९८३ मा काठमाडौंको वटुमा जन्मेका विष्टको परिवार गोरखाको खोप्लाङबाट बसाइँ सरेर आएको थियो । राजनीतिशास्त्रमा एमए पढ्दै गर्दा उनी डिल्लीरमण रेग्मी नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध भएका थिए । उक्त पार्टीको महासचिवसम्म भएका विष्ट २०१७ सालपछि पञ्चायत प्रवेश गरेका थिए । ०१७ मा विष्ट जब दाङ, सल्यान र प्यूठान हेर्ने दौडाहा टोलीको अध्यक्ष बनाइए, राजा महेन्द्रसँग उनको पहिलो भेट त्यसैबेला भएको थियो । त्यसपछि राजा र राजदरबारसँग उनी कहिल्यै टाढा रहेनन् । खासगरी महेन्द्रसँग उनको निकट सहकार्य रह्यो । पंक्तिकारसँगको एक अन्तर्वार्तामा विष्टले भनेका थिए, ‘मानिसहरू मलाई राष्ट्रवादी भन्छन्, मभन्दा ठूला र उच्चकोटीका राष्ट्रवादी नेता त राजा महेन्द्र थिए ।’

नेपाली भूभागभित्र रहेका भारतीय सैन्य डफ्फालाई ०२७ सालमा स्वदेश फिर्ता पठाउने निर्णय उनले महेन्द्रकै आडमा लिएका थिए । चीनको निगरानी गर्न राखिएका ती विदेशी सैनिकलाई झन्डै दुई दशकपछि हटाउने कार्य विष्टको पहिलो प्रधानमन्त्रीत्वकालमा सम्भव भएको थियो । भारतीय चेकपोस्ट हटाउने प्रस्ताव राष्ट्रिय पञ्चायत र मन्त्रिपरिषद् बैठकमा पेस नगरी सीधै राजाबाट अनुमोदन गराएको भनेर उनको पञ्चायतभित्रै पनि आलोचना भएको थियो । यस सन्दर्भमा जिज्ञासा राख्दा विष्टले भनेका थिए, ‘ज्यादै संवेदनशील र बाहय दबाबका कारण किनारा लाग्न नसकेको भारतीय मिलिटरी मिसन र चेकपोस्ट हटाउने कुरा मन्त्रिपरिषद्बाट निर्णय गराएर टुंग्याउन सकिने विषय थिएन । हल्लाखल्ला र प्रचारबाजी गरेर यो समाधान हुने विषय नै होइन । त्यसो गर्‍यो भने त उल्टै दबाब पथ्र्यो र हुने काम पनि नहुन सक्थ्यो ।’

विष्ट नैतिकवान् नेता थिए । उनले ०३० सालमा सिंहदरबारमा आगलागी हुँदा नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

आफूलाई लागेका कुरा प्रस्टसँग भन्न सक्ने कमै राजनीतिक नेतामा विष्टको नाम आउने पुराना राजनीतिज्ञ विश्वबन्धु थापाले टिप्पणी गरे । ‘उहाँ एक असल प्रजातन्त्रवादी नेताका साथसाथै राष्ट्रवादी नेता पनि हो,’ उनले भने, ‘मुलुकले एउटा हक्की एवं देशभक्त नेता गुमाएको छ ।’

.....

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ । विष्टको शनिबार बिहान ज्ञानेश्वरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी क्यान्सर पीडित थिए । विष्ट तीनपटक प्रधानमन्त्री र शाहीकालमा मन्त्रिपरिषद्‍का उपाध्यक्ष भएका थिए ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । ९० वर्षीय विष्ट काठमाडौं ठमेलमा जन्मेका थिए । उनका दुई छोरा र तीन छोरी छन् । दुई वर्षअघि उनका श्रीमती र एक छोराको निधन भएको थियो ।

प्रकाशित : कार्तिक २५, २०७४ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?