कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार : अध्यक्ष दाहाल

रत्ननगर, चितवन — पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने र त्यसले राजनीतिक स्थिरता कायम गर्ने बताएका छन् ।

निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार : अध्यक्ष दाहाल

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष दाहालले शनिबार पश्चिम चितवनको शिवनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै दशकौंदेखि नेपाली जनताले चाहेको कुरा यसपाली पूरा हुनलागेको बताए । 'दशकौँदेखि नेपाली जनताले कम्युनिष्ट मिलेर काम गरुन् भन्ने चाहे पनि कम्युनिष्ट विभाजन हुने र त्यो विभाजनको फाइदा दक्षिणपन्थीले लिने गरेका थिए,' उनले भने 'फुटाउ र राज गर भन्ने साम्राज्यवादी रणनीति अनुसारको जुन परम्परा २०१९ सालदेखि चल्दै आएको थियो, यसपटक हामीले त्यो इतिहासलाई बदल्ने पहल गरेका छौँ, सबै नेपालीका निम्ति खुसीको कुरा हो ।'

अहिलेको वाम गठबन्धन चुनावका लागि मात्रै नभई कम्युनिष्ट एकताका लागि भएको उनको भनाइ थियो । एउटा बलियो कम्युनिष्ट केन्द्र बनाउने योजनाका साथ पार्टी एकता संयोजन समिति निर्माण गरेर अगाडि बढेको अध्यक्ष दाहालले बताए ।

यसअघि गौचरणका सुकुम्वासीसँग अन्तक्रिया गर्दै अध्यक्ष दाहालले १० वर्षमा दशौं सरकार फेरिँदै आए पनि विकासको रुप रंग फेरिन नसकेकोमा चिन्ता व्यक्त गरे । मुलुकमा राजनीतिक स्थिरता र विकासको युग आरम्भ हुन लागेको उनको भनाइ थियो । निर्वाचनपछि बन्ने स्थिर सरकारले सबै समस्या समाधान गर्ने उनले प्रतिबद्धता जनाए ।
- रासस

प्रकाशित : कार्तिक २५, २०७४ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?