कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लालबाबु पण्डित र शेखर कोइराला : विरासत थाम्ने र भत्काउने संघर्ष

वाम गठबन्धनका पण्डित र कांग्रेसका कोइरालाबीच कडा प्रतिस्पर्धा

विराटनगर — प्रदेश १ मा चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो, मोरङ ६ । जहाँ कांग्रेस नेता डा. शेखर कोइरालालाई चुनौती दिँदै वाम गठबन्धनबाट चुनावी मैदानमा छन् एमाले नेता लालबाबु पण्डित । राजनीतिमा आफ्नो स्थान बनाएका दुवै नेताको प्रतिस्पर्धाले यो क्षेत्रलाई तताएको छ ।

लालबाबु पण्डित र शेखर कोइराला : विरासत थाम्ने र भत्काउने संघर्ष

कांग्रेस संस्थापक नेता बीपीका भाइका छोरा शेखरलाई कोइराला परिवारकै छविले सहज बनाएको छ भने सामान्य प्रशासन मन्त्री भएका बेला डीभी र पीआर लिएका कर्मचारीलाई कारबाही गरेबापत वाहवाही कमाएकाले पण्डित पनि चर्चित नेताका रूपमा छन् । कोइराला परिवारको राजनीतिलाई निरन्तरता दिई आएका शेखरलाई मधेसी समुदायबाट आएका पण्डितबीच देखिएको प्रतिस्पर्धा रोचक छ ।

कोइराला र पण्डितबीच औपचारिक परिचय छैन । कांग्रेस नेता कोइरालाले आफूले प्रतिस्पर्धीलाई नचिनेको बताए । ‘प्रतिस्पर्धी को हुन् भन्ने म चिन्दिनँ,’ उनले भने, ‘म कहिलै पनि प्रतिस्पर्धीलाई कमजोर ठान्दिनँ ।’ वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार पण्डितले पनि कोइरालासँग राम्रो चिनजान नभएको बताए । ‘व्यक्तिगत चिनजान छैन,’ उनले भने, ‘टाढैबाट चिन्दछु ।’ यो क्षेत्रमा एकले अर्कोलाई कडा प्रतिस्पर्धी ठानेका छन् ।

यी दुई नेता मतदाताको मन जित्न कम्मर कसेर लागेका छन् । दुवैले जित्ने दाबी गरेका छन् । कोइरालाको राजनीतिक उद्गम थलो विराटनगरमा आफ्नो विरासत कायम राख्न शेखर लागिपरेका छन् । कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला समानुपातिक सूचीमा बसेपछि शेखर प्रत्यक्ष निर्वाचनमा भिडेका हुन् ।

विराटनगरस्थित कोइराला निवासमा बसेर शेखरले आफ्नो निर्वाचन अभियान सञ्चालन गरेका छन् । एमाले उम्मेदवार पण्डितले विद्यार्थी संगठनको कार्यालयबाट चुनावी प्रचारप्रसार तीव्र पारेका छन् । ‘चुनावी अभियान राम्ररी चलेको छ, मतदाताले फेरि पनि प्रतिनिधिसभामा जानुपर्छ भनेका छन्, सकारात्मक अवस्था छ,’ कोइराला निवासमा शेखरले कान्तिपुुरसँग भने, ‘किनकि चुनाव जिते पनि, हारे पनि म सधंै यहाँका जनतासँग प्रत्यक्ष सम्पर्कमा छु ।’

मोरङ–६ को तथ्यांक : स्थानीय निकाय मत परिणाम

कांग्रेस र लोकतान्त्रिक फोरम : २७,९९७
वाम गठबन्धन : २६,३८०
जम्मा मतदाता संख्या : १,१०३२२

कांग्रेस पक्षले पण्डितलाई नयाँ क्षेत्रबाट निर्वाचनमा उम्मेदवार भएको आरोप लगाइरहेका बेला उनले त्यसको प्रतिवाद गरे । ‘म २०४८ देखि ०५६ सम्म यही क्षेत्रबाट चुनावमा उठेको हो,’ उनले भने, ‘म बाहिरबाट आएको होइन ।’ कान्तिपुर टिमसँग कुरा हुनुअघि उनी प्रचारप्रसारबाट असिनपसिन हुँदै पार्टी कार्यालय फर्किएका थिए ।

विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक कांग्रेसमा एकीकरण भएपछि कांग्रेस उम्मेदवार कोइरालाले सहज ठानेका छन् । मोरङ ६ बुढीगंगा गाउँपालिकाका थारू समुदायका मतदाताको भर कोइरालालाई छ । ती मतदाता विगतमा गच्छदारलाई समर्थन गर्दै आएको उनको भनाइ छ । त्यो गाउँपालिकामा फोरम लोकतान्त्रिकले जितेको छ । विराटनगर महानगरपालिकामा स्थानीय निकाय कांग्रेसले जितेकाले अनुकूल हुन सक्छ । ‘लोकतान्त्रिक फोरम कांग्रेसमा मिलेपछि मैले सहज महसुस गरेको छु,’ कोइरालाले भने ।

सामान्य प्रशासनमन्त्री हुँदा बनाएको छवि, सामान्य जीवनशैलीले एमाले उम्मेदवार पण्डितलाई सहयोग पुग्ने देखिन्छ । मधेसी समुदायका स्वतन्त्र मतको अपेक्षा उनले गरेका छन् । ‘म सबभन्दा बढी मधेसको पक्षमा छु, मैले पहाड, मधेसलाई जोडेको छु, फोडेको छैन,’ उनको दाबी छ, ‘म यो क्षेत्रमा भौतिक विकासका साथै सामाजिक सद्भाव बलियो बनाउन चाहन्छु ।’ माओवादीले पण्डितलाई समर्थन गरेकाले उनलाई सहज महसुस भएको छ । कांग्रेस उम्मेदवार कोइरालालाई खास गरी फोरम लोकतान्त्रिकको मतले बल दिने छ । २०७० को संविधानसभा निर्वाचनमा कोइरालाले गच्छदारलाई पराजित गरेका थिए ।

तत्कालीन कांग्रेस सभापति कोइरालाको निधनपछि विराटनगरको कोइराला विरासत थाम्ने कसरतमा शेखर लागेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा बढी आउने नेतामा उनी पर्छन् । ‘मलाई विराटनगर जति धेरै माया अरू ठाउँको लाग्दैन, म हुर्के बढेर पढेको क्षेत्र हो,’ उनले भने, ‘मेरो राजनीतिक कर्मथलो पनि यही हो ।’

एमाले उम्मेदवार पण्डितले कोइराला परिवारप्रति संकेत गर्दै गणतन्त्रमा कसैको विरासत नहुने तर्क गरे । ‘गणतन्त्रमा विरासतको अर्थ छैन,’ उनले भने, ‘राजतन्त्रमा मात्र विरासतको कुरा हुन्थ्यो ।’ निर्वाचन प्रचारप्रसारका क्रममा पण्डितले आफूसँग निर्वाचन खर्चको अभाव भएको भन्दै सहयोग माग्दै हिँडेका छन् । ‘मसँग १६ वर्ष पुरानो साइकलबाहेक केही छैन,’ उनले सुनाए, ‘म पैसा खर्च गरेर चुनाव जित्ने व्यक्ति होइन ।’ सबै समुदायका लागि आफ्नो उम्मेदवारी भएको उनको भनाइ छ । ‘मेरो उम्मेदवारी धोती, टोपी लगाउने दुवैको हो, म सबैलाई जोड्न चाहन्छु,’ उनले भने, ‘म प्रिय काम गरेर प्रिय भएको हुँ ।’

‘कोइराला परिवार एक’
कांग्रेस नेतासमेत रहेका शेखरले कोइराला परिवार एक भएको बताए । केही समयअघि कांग्रेस महामन्त्री डा. शशांक कोइराला, सुजाता र डा. शेखरको तस्बिर सार्वजनिक भएको प्रसंगमा उनले भने, ‘फोटोमा मात्र होइन, हामी अरू बेला पनि एक छांै । देशलाई अप्ठ्यारो परेका बेला हामी एक हुन्छौं । लोकतन्त्र कमजोर भएका बेला एक हुन्छौं ।’

उनले कांग्रेसको अबको महाधिवेशनमा कोइराला परिवारबाट पार्टी सभापतिको उम्मेदवार उठाउने संकेत गरे । ‘सभापति उम्मेदवार हुनुपर्‍यो भने पनि हामी एक हुन्छौं,’ उनले थपे । बीपीका छोरा शशांक, उनका भाइ केशवका छोरा शेखर तथा गिरिजाप्रसादकी छोरी सुजाता हाल सक्रिय राजनीतिमा छन् ।

प्रकाशित : कार्तिक २७, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?