कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौचन हत्या प्रकरणः मुख्य योजनाकार कहाँ होलान् ?

जनकराज सापकोटा

काठमाडौं — निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको छ । असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए । आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

गौचन हत्या प्रकरणः मुख्य योजनाकार कहाँ होलान् ?

प्रहरीले मुख्य सुटर नुवाकोट पञ्चकन्या गाउँपालिका १ घर भएका २१ वर्षीय राजीव स्याङतान, हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने पर्सा कालिकामाई गाउँपालिका १ घर भएका शिवजी महतो, हतियार व्यवस्थापन गर्ने काममा खटिएका विहार भारतका मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र सहयोगी भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारतका विभिन्न स्थानमा बसेर नेपालमा फिरौती असुलीको धन्दा चलाइरहेका समीरमान बस्नेतको योजनामा गौचनको हत्या गरिएको हो । प्रहरीले बस्नेतसहित रूपन्देहीका युवासंघ अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका मनोज पुन, गत चैतमा गौरीघाटमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार गर्ने लोप्साङ लामा, बोका भनेर चिनिने गंगा लिङदेन, नेपाली सेनाका भगौडा काले दाइ भनिने अम्बरबहादुर लामा, सेनाकै अर्का भगौडा श्यामबहादुर गुम्बे, घटनाका मुख्य योजनाकार समीरका भान्जा पर्ने रोशन बुढाथोकी र अजय थापालाई फरार अभियुक्तका रूपमा लिएको छ ।

हत्याका योजनाकारहरूले एक महिनाअघिदेखि नै गौचनको गोप्य निगरानी राखेका थिए । प्रहरीका अनुसार पर्साका शिवजी महतोले भारतको बेतियाबाट चोरी गरिएको साइन मोटरसाइकल १८ हजार नेपाली रुपैयाँमा र दुई पेस्तोल ५५ हजार रुपैयाँमा किनेर श्यामबहादुर गुम्बेलाई क्रमश: २४ र ६५ हजारमा बेचेका थिए । श्यामले उक्त मोटरसाइकल पर्साका सन्तोष गुरुङलाई दिएका थिए । उनीमार्फत मुख्य सुटर राजीवले मोटरसाइकल हात पारेका थिए । घटनाको अनुसन्धान गरिरहेका डीआईजी गणेश केसीका अनुसार गौचनमाथि दुई फरक–फरक पेस्तोलबाट गोली प्रहार भएको थियो ।

मुख्य सुटर स्याङतान बा३५प २४६१ नम्बरको नक्कली नेपाली नम्बर प्लेट हालिएको चोरीको भारतीय साइन मोटरसाइकल चढेर भागेका थिए । उक्त मोटरसाइकल प्रहरीले घटनालगत्तै सिनामंगलको वनकाली जंगलछेउमा बेवारिसे अवस्थामा फेला पारेको थियो । मोटरसाइकलधनी पत्ता लगाउनेबित्तिकै घटनाको रहस्य खुल्ने प्रहरीको अनुमान त्यतिबेला फेल खाएको थियो, जब प्रहरीले उक्त नम्बरको मोटरसाइकल यातायात व्यवस्था विभागमा दर्तै नरहेको देखियो । त्यसपछि प्रहरी चोरीको भारतीय मोटरसाइकल प्रयोग भएको निष्कर्षमा पुगेको थियो ।

घटनामा प्रयोग भएको पल्सर मोटरसाइकल भने समीरकै भान्जा पर्ने रोशन बुढाथोकीले चलाइरहेका थिए । घटनालगत्तै रोशन पनि भागेर भारत पुगेको प्रहरीको अनुमान छ । प्रहरीले सीसीटीभी फुटेजका आधारमा गोली प्रहार गरेलगत्तै साइन मोटरसाइकलको पछाडि बसेका राजीवले आफ्नो हुलिया बदल्न आफूले लगाएको ज्याकेट र टोपी क्रमश: मिल्काएको पत्तो पाएको थियो । एक साताअघि नै नुवाकोटको ढिकुरेस्थित एक घरमा घेरा हालेर प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरी आएको सुइँको पाएर भागेका राजीवलाई प्रहरीले लखेटेर घेरा हालेपछि पक्रेर काठमाडौं ल्याएको थियो ।

अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीका अनुसार ०७२ भदौ पहिलो साता प्रहरी कारबाहीमा मारिएका गुन्डा नाइके कुमार घैंटे र गौचनबीच पुरानो आर्थिक हिसाबकिताबको किचलो पनि हत्याको घटनामा जोडिएको देखिन्छ । बाफल क्षेत्रलाई केन्द्र बनाएर फिरौती र असुली धन्दामा सक्रिय समीरमान लामो समयदेखि कुमार घैंटेको नजिक रहेर गुन्डागर्दीमा संलग्न रहेको प्रहरीको भनाइ छ । त्यसैले पनि घैंटे र गौचनबीचको आर्थिक लेनदेनको घटनाबारे समीर जानकार थिए । घैंटेको मृत्युपछि उनकी श्रीमतीले गौचनसँग रकम मागेको समेत प्रहरीको बुझाइ छ । समीरले त्यही रकम फिर्ता ल्याउने भन्दै लामो समयदेखि गौचनलाई धम्काइरहेका थिए ।

हत्या घटनामा फिरौती रकमको सम्बन्ध देखिएको डीआईजी केसीले बताए । ‘मुख्य अभियुक्त पक्राउ नपरेकाले यति नै फिरौती रकम मागेका थिए भनेर खुल्न सकेको छैन,’ उनले भने । सुटर र घटनामा संलग्न अन्य अभियुक्तहरूलाई समीरले काम फत्ते गरेपछि विभिन्न बैंकको सेयर दिलाइदिने आश्वासन दिएका थिए ।

प्रकाशित : कार्तिक २९, २०७४ ००:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?