कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनसमर्थनबाट आत्तिएका तत्वले विस्फोट गराए : महत

गठबन्धनलाई आरोप लगाउनु निराधार : तामाङ
तामाङ र केसीलाई पीएसओ उपलब्ध गराइने
कृष्ण थापा

नुवाकोट — नुवाकोट निर्वाचन क्षेत्र न‌ं १ का कांग्रेस उम्मेदवार रामशरण महतले आफूमाथि जानाजान मार्ने उद्देश्यले विस्फोट गराएको दाबी गरेका छन् । जिल्लाको चतुरालेमा आयोजित कार्यक्रममा जाँदै गर्दा महतसहित चुनाव प्रचार टोली लक्षित ककनी गाउँपालिका-५ डाँडागाउँ शिकारीचौरमा साढे १० बजे माइन विस्फोट गराइएको थियो ।

जनसमर्थनबाट आत्तिएका तत्वले विस्फोट गराए : महत

पूर्वअर्थमन्त्री महतले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कठघरामा ल्याउन सरकारसँग माग गरे । ‘तुरुन्त छानबिन गरेर अपराधीलाई कठघरामा ल्याउनु पऱ्यो', उनले भने,‘जानाजान मलाई मार्ने उद्देश्यले व्लास्ट गराएको हो ।’कांग्रेसलाई जनसमर्थन बढ्दै गएपछि आत्तिएका तत्वहरुले विस्फोट गराएको उनले आशंका व्यक्त गरे ।

शुक्रबार बिहान भएको विस्फोटमा ६ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । घाइतेहरु उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, लीलाबहादुर घर्तीमगर नवलपरासी, सिन्धुलीका रामबहादुर राई र रमेश राईलाई रानीपौवा स्वास्थ्य चौकीमा उपचारपछि काठमाडौंस्थित ग्रान्डी अस्पतालमा लगिएको छ । घाइते सविन लामा गाडी चलाक हुन् । कांग्रेस कार्यकर्ता चढेको बा १६ च ६६५ नम्बर चढेको गाडी विस्फोटबाट क्षतिग्रस्त भएको जिल्ला प्रहरीका कार्यालय प्रमुख एसपी बीरेन्द्रकुमार बस्यालले बताए । घटेपछि स्थानीयवासी त्रसित बनेका छन् । विस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

विस्फोटको घटनापछि ककनीको रानीपौवा बजारमा प्रतातान्त्रिक र वाम गठबन्धन समर्थकबीच सामान्य झडप भएको थियो । केहीबेर ढुंगा हानाहान भएको जिल्ला प्रहरी प्रमुख एसपी बस्याल बताए ।

गठबन्धनलाई आरोप लगाउनु निराधार : तामाङ

कांग्रेस उम्मेदवारले विस्फोट वाम गठबन्धनबाट भएको आशंका गरेपछि गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले आरोप कपोकल्पित र निराधार भएको प्रतिक्रिया जनाएका छन् । 'यो घटनाप्रति हामीलाई आरोप लगाउनु कपोकल्पित र निराधार हो', उनले भने,‘प्रशासनको सहयोग माग्ने, घटनाको छानबिन गराउनुतिर लाग्नुभन्दा पनि पेशेवार 'गुण्डा' झिकाएर वाम गठबन्धविरुद्ध नारा लगाउने काम गरे ।’

महत हार्ने सुनिश्चित भइसकेपछि आफूमाथि आंशका र लाञ्छना लगाउनु सरासर गलत रहेको नेता तामाङले बताए । उनले भने, ‘प्रशासन लगाएर दमन गर्ने अनि मुलुकलाई निर्वाचन नै नगर्ने षड्यन्त्र गरेका हुन् कि भन्ने आशंका बढेको छ, ।'

उनले निर्वाचनका लागि वाम गठबन्धनले प्रयोग गर्ने गरेका मोटरसाइकल, ककनीस्थित रानीपौवाबजारमा रहेको गठबन्धनको कार्यालयमा कांग्रेस कार्यकर्ताले तोडफोड गरेको भन्दै आपत्ति जनाए । सम्पर्क कार्यालयमा चुल्ठेमुन्द्रेहरु हतियारसहित आएर आतंकित बनाएको उनले बताए ।

तामाङ र केसीलाई पीएसओ उपलब्ध गराइने

जिल्ल्लामा स्थानीय प्रशासनले ककनीको घटनापछि सुरक्षा व्यवस्था कडाई गरेको छ । 'थप घटना हुन नदिन सुरक्षा व्यवस्था कडाई गरेका छौं,' प्रमुख जिल्ला अधिकारी जगदशराज बरालले कान्तिपुरसित भने । उम्मेदवारको सुरक्षा चुनौती थपिएको विश्लेषण गरी स्थानीय प्रशासनले निर्वाचन क्षेत्र नं. १ का वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङ, निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ‘क’का कांग्रेस उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पिएसओ उपलव्ध गराउने जनाएको छ ।

कांग्रेस केन्द्रीय पार्टी कार्यालयले विज्ञप्ति निकालेर महतमाथिको घटनाको भर्त्सना गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा भनिएको छ,‘शान्तिपूर्ण रुपमा निर्वाचन कार्यक्रममा गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो हस्तक्षेत गरेको र घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गर्दछु ।'

प्रकाशित : मंसिर १, २०७४ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?