कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कता जाला जनमत ?

पहिलो चरण

मुगु — जिल्लामा कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार हस्तबहादुर मल्ल सिंगो कर्णालीमा प्रत्यक्षतर्फ सांसद दोहोर्‍याउने एक्ला नेता हुन् । उनी यसपटक आफ्नो जितलाई ‘हयाट्रिक’ बनाउन चाहन्छन् । त्यसका लागि उनले वाम गठबन्धनका बलिया उम्मेदवार एमालेका गोपाल बमलाई हराउनुपर्नेछ ।

कता जाला जनमत ?

मल्ललाई पछाडि पार्नसके एमालेका बमका लागि संसदीय राजनीतिको ढोका खुल्नेछ । तीन गाउँपालिका र एक नगरपालिका रहेको मुगुमा कांग्रेस र एमाले आमनेसामने छन् । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले एमालेविरुद्ध गठबन्धन बनाएका थिए । एक्लै लडदासमेत कांग्रेसलाई टक्कर दिएको एमालेका लागि माओवादी केन्द्रको साथले चुनाव जित्न सहज हुने बम बताउँछन् । ‘मुगुमा एमाले एक्लै प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा छ । त्यसमा माओवादी केन्द्रसँगको गठबन्धनले हाम्रो जित सुनिश्चित बनाएको छ,’ उनले भने ।

६६ वर्षीय मल्ल भने मतदाताले एकपटक आफूलाई जिताउनेमा आशावादी छन् । अघिल्ला चुनाव र गठबन्धनको भोट जोडेर दंग परेर बसेका प्रतिद्वन्द्वीलाई आफूले लोकप्रिय मतले जवाफ दिने उल्लेख गर्दै उनले भने, ‘मेरा लागि यो अन्तिम चुनाव हो । जनताले मलाई छान्नेछन् ।’ उनी ०४८ यताका चार निर्वाचनमा उम्मेदवार बने । तीमध्ये दुईपटक जिते । दुईपटक हारे । उनी ०४८ र २०५२ सालका चुनावमा विजयी भएका हुन् ।

नयाँ कि अनुभवी उम्मेदवार छान्नेमा मतदाता विभाजित छन् । एउटा पंक्ति नेताहरू दोहोर्‍याउन हुन्न भन्ने मान्यता राख्छ भने अर्को पंक्ति अनुभवी नेता छान्नुपर्ने ठान्छ । त्यसैले मुगुको अस्थिर जनमत मल्ल र बममध्ये जता पनि ढल्किने सम्भावना छ । सेतै कपाल फुलेका मल्ल उत्साहसाथ आमसभा र घरदैलोमा सहभागी छन् । ०४८ सालमा विजयी भएपछि उनी शिक्षा सहायक राज्यमन्त्री भए । त्यसबेला गाउँगाउँमा विद्यालय खोलेको भन्दै उनी मतदाता फकाइरहेछन् । एमाले उम्मेदवार बम भने प्रतिद्वन्द्वी मल्लले संसद्मा नयाँ अनुहारका लागि बाटो खोलिदिने बताउँछन् । ‘उहाँप्रति मेरो सम्मान नै छ तर अब नयाँ पुस्ताको पालो आइसक्यो । वाम गठबन्धनले जित्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भने । वाम गठबन्धनको बहुमतले देशमा दिगो सरकार र आर्थिक क्रान्तिको बाटो खोल्ने भएकाले त्यसका लागि आफूले जित्नुपर्ने बम बताउँछन् । राजनीतिसँगै पर्यटन व्यवसायमा संलग्न बमको पर्यटकीय गन्तव्य रारा ताल किनारमा रिसोर्ट छ ।

अघिल्ला दुई संविधानसभा निर्वाचनमा जिल्लाबाट क्रमश: मोहन बानियाँ निर्वाचित भए । ती दुवै निर्वाचनमा कांग्रेस मुख्य प्रतिस्पर्धी थियो । स्थानीय निर्वाचनमा छायानाथ रारा नगरपालिकासहित दुई गाउँपालिका प्रमुख कांग्रेसले जितेको छ भने एमालेले एउटा गाउँपालिकामा जित हासिल गरेको छ । पछिल्लो निर्वाचनमा प्राप्त मतअनुसार एमाले र कांग्रेसको भोट आठ हजार हाराहारी छ ।

माओवादी केन्द्रको झन्डै ४ हजार भोट छ । कांग्रेस माओवादीको मत आकर्षित गर्ने रणनीतिमा छ भने एमाले वाम गठबन्धनलाई एक ढिक्का बनाएर सहज जित निकाल्ने योजनामा छ । उम्मेदवारी दर्तादेखि नै मुगुमा माओवादी केन्द्र असन्तुष्ट थियो । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यमा एमालेलाई मात्र टिकट दिएपछि असन्तुष्टि जनाउँदै माओवादीका स्थानीय नेताहरूले स्वतन्त्र उम्मेदवारीसमेत दिएका थिए । पार्टी केन्द्रको दबाबपछि उम्मेदवारी फिर्ता लिए पनि भित्री असन्तुष्टिलाई आफ्ना पक्षमा ल्याउने कांग्रेस रणनीति छ । तर, स्थानीय निर्वाचनमा गठबन्धन भए पनि कांग्रेस उम्मेदवारले जितेको र माओवादीले हारेकाले यसपालि वाम गठबन्धनलाई सफल पार्ने माओवादी नेताहरूले बताए ।

अन्तर्घात हुन नदिन वाम गठबन्धनले व्यापक कार्यकर्ता परिचालन गरिरहेको छ । एमाले र माओवादीका संयुक्त सभा, भेला र बैठक भइरहेका छन् । कांग्रेसले भने घरदैलोमा जोड दिएको छ । मुगुका सचेत मतदाताको भोटबैंक खत्याड क्षेत्र मानिन्छ । एउटै गाउँपालिकामा झन्डै ९ हजार ४ सय ११ मतदाता छन् । त्यहाँ एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो छन् । सदरमुकाम गमगढीसहित छायानाथ नगरपालिकामा १० हजार ८ सय ६५ मतदाता छन् । यहाँ कांग्रेस, एमाले र माओवादी केन्द्र क्रमश: पहिलो, दोस्रो र तेस्रो छन् ।

उस्तै–उस्तै नारा
वाम गठबन्धन र कांग्रेस दुवैका उम्मेदवार उस्तै–उस्तै चुनावी नारा लिएर मतदाताकहाँ पुगेका छन् । उनीहरूले तिब्बत सडक, रारा तालमा पर्यटन प्रवद्र्धन, युवा स्वरोजगार र मुगु कर्णाली नदीबाट जलविद्युत्लाई मुख्य चुनावी मुद्दा बनाएका छन् । त्यस्तै, महिला उद्यमी, छाउपडी प्रथा अन्त्य, व्यवसायमूलक शिक्षा, गाउँमा भरपर्दो स्वास्थ्य सेवा, बौद्ध गुम्बा व्यवस्थापनजस्ता काम गर्ने कांग्रेसका मल्लले प्रतिबद्धता जनाएका छन् ।

एमालेका बमले बेरोजगार भत्ता, वृद्धभत्ता वृद्धि, राराको पर्यटकीय विकास गुरुयोजना तथा भौतिक पूर्वाधार निर्माणलाई जोड दिएका छन् । ग्रामीण सडक विस्तार, एक घर एक स्याउ बगैंचा, पशु बिमा, गमगढी–नाग्म सडक सुधार, गाउँगाउँमा कृषि सहकारी, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा सुधार गर्ने प्रतिबद्धतासहित उनी मतदाताकहाँ पुगिरहेका छन् ।

प्रकाशित : मंसिर ६, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?