कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरमा विवाह पञ्चमीको रौनक

श्यामसुन्दर शशि

जनकपुर — राम जानकी विवाह महोत्सवको मुख्य आयोजन आज अबेर राति सम्पन्न हुने भए पनि, आज बिहानैदेखि जनकपुरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । जानकी मन्दिर परिसरमात्र होइन यहाँको राममन्दिर, जनकमन्दिर, लक्ष्मण मन्दिरसंगै बारहवीघा रंगभूमि मैदानमा श्रद्धालुहरुको लर्को लागेको छ ।

जनकपुरमा विवाह पञ्चमीको रौनक

अपरान्ह अढाई बजे पछि जानकी मन्दिरबाट बाजा–गाजा, लावा–लस्करसहित निस्किने जानकीको डोला तथा राम मन्दिरबाट निस्किने रामको डोलाबीच ऐतिहासिक रंगभूमि बारहवीघा मैदानमा संगम हुने छ । त्रेतायुगमा राम जानकीबीच यसै मैदानमा स्वयंवर भएको विश्वास छ । 

विवाह महोत्सवमा नेपाल र भारतका विभिन्न स्थानबाट दुई लाख अधिक श्रद्धालु सहभागी भएको दाबी जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासको छ । यस वर्ष जाडो त्यति नभएको तथा धानको उत्पादन पनि राम्रो भएको कारण श्रद्धालुहरुको संख्यामा वृद्धि भएको छोटे महन्थ दासले बताए ।
 
मेला भर्न आएका श्रद्धालुहरुको आवास तथा भोजनको व्यवस्था विभिन्न समाजसेवी संघ संस्थाहरुले गरेका छन् । स्टेशन एरिया युवा क्लबका सदस्यहरुले श्रद्धालुहरुको लागी आवास तथा भोजनको व्यवस्था समेत गरेका छन् । 

बारहवीघा रंगभूमि मैदानमा संगम भएको राम सीताको डोलाको नेतृत्वमा निस्किने शोभा यात्रा नगर परिक्रमा गरी पुन: जानकी मन्दिरमा प्रवेश गर्नेछ अनि अवेर राति राम सीताबीच मिथिला विधि अनुसार बिहे हुनेछ ।

साता व्यापी राम जानकी विवाह महोत्सव मार्फत मिथिलाको वैवाहिक विधि विधानलाई पनि उद्घाटित गरिन्छ । विवाहको क्रममा हुने तिलक, मटकोर, जन्ती र मरजादको भोज (राम कलेवा)को आयोजनले यस धार्मिक महोत्सवलाई सांस्कृतिक स्वरुप प्रदान गरेको मैथिली संस्कृतिका जानकार रामचन्द्र झाको भनाइ छ । झाका अनुसार— यस महोत्सवले लोपोन्मुख विवाह गीतहरुलाई समेत संरक्षण गरेको छ ।  

प्रकाशित : मंसिर ७, २०७४ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?