कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवारले मतदाता रोक्न सकेनन्, भारत जानेक्रम बढ्दो

मेनुका ढुंंगाना

अछाम — प्रतिनिधि र प्रदेशसभाको निवार्चनको रौनक छाइरहेको बेला रोजगारीका लागि भारत जाने महिला र पुरुषको संख्या भने बढेको छ । सुदूरपश्चिम यातायात मंगलसेनबाट बुधबार मात्रै १ सय ३ जना र कर्णाली रिभर यातायातबाट ५१ जना धनगढीसम्म जाने र ३३ जना भारत रोजगारीका लागि जाने भनेर टिकट लिएको कर्णाली रिभर यातायात मंगलसेनका इन्चार्ज डम्बर विष्टले बताए ।

उम्मेदवारले मतदाता रोक्न सकेनन्, भारत जानेक्रम बढ्दो

मंगलसेन, जनालीबण्डाली, बस्ती, जुपुबाट यो समयमा धेरै भारत रोजगारीका लागि गएका छन् । बुधबार मंगलसेनबाट ४, वस्तीबाट १६, जनालीबण्डालीबाट १३ जना भारत गएका छन् । 

सुदुरपश्चिम बस व्यावसायीका मंगलसेन इन्चार्ज भरत भण्डारीका अनुसार दैनिक भारत जानका लागि ७/८ जना औसतमा आउने गर्दछन् । ‘दसैं तिहारको बेला सबैभन्दा बढी यात्रुको घुइँचो हुन्छ,’ उनले भने,‘बम्बै जानु पर्ने हो सिट राखी दिनुहोला भनेर तीनदिन अघि नै फोन आउँछ ।’

सुदुरपश्चिम बस व्यावसायी समिति र कर्णाली रिभर यातायात व्यावसायी मंगलसेनबाट मात्र एक महिनामा करिब दुइ सय जना भारत जानको लागि टिकट बुकिङ गर्दछन् ।

गाउँमा घरदैलो, भेटघाट लगायतका चुनावी कार्यक्रममा गएका उम्मेदवारले रोजगारीको लागि भारत जाने मतदातालाई चित्तबुझ्दो जवाफ र रोजगारी दिन्छु भनेर ग्यारेन्ट दिन नसक्दा भारन जान थालेको मंगलसेन नगरपालिका ७ का पदम भण्डारीले बताए । ‘रोजगारी केही छैन । प्लस टु पास गरेको छु,’ उनले भने,‘ उम्मेदवारको उधारो प्रचारप्रसार गरेर गुजारा चल्दैन ।’

मंगलसेन नगरपालिका-१३ बस्तीका नवराज भण्डारी ४२ वर्षका भए । उनले आफ्नो उमेरको आधा जीवनमा भारतमा काम गरेर बिताएका छन् । ‘३ छोरी र एक छोराको लालनपालन, पढाइ खर्च सबै भारतबाट पठाउनु पर्छ,’ उनले भने, ‘चुनावपछि जानुस् भनेर केही नेता रोक्न खोज्दै थिए । आश्वासनले पेट भरिँदैन भनेर आइहाँले ।’ प्राय जसो अछामका अधिकांश भेगबाट खेतीपाती लगाइसकेपछि यहि सिजनमा भारत जाने गर्दछन् । मंसिरमा नै प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चन भएको थाहा हुादाहुदै पनि रोजीरोटीको निम्ति बस्न नसकेको गुनासो छ ।

पुरुषमात्र रोजगारीको लागि जाने भारतामा अछामबाट पछिल्लो समयमा महिलाहरु जाने क्रम पनि बढेको छ । छोराछोरी हुर्केका महिलाहरु श्रीमानसँग जाने, उतै सानोतिनो भए पनि काम गर्ने गर्दछन् । उत्पादन घटेको र जंगलबाट दाउरा काटेर बेच्न बन्द भएदेखि विकल्पको रुपमा भारत रोजेको महिलाहरु बताउँछन् । ‘पहिले श्रीमान बम्बैमा मैले घरमा दाउरा बेचेर गुजारा चलेको थियो,’ मंगलसेन-५ की धौली विकले भनिन्,‘अहिले दाउरा बेच्न पनि बन्द भयो । उतै सानोतिनो काम गर्छु ।’

‘अछामको युवाशक्ति सबै भन्दा बढी भारतमा छ  । युवालाई आफ्नो ठाउामा रोजगारी दिने र आर्थिक सम्वृद्धि आफ्नो मुख्य एजेण्डा हो,’ प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट अछाम क्षेत्र नम्बर २ का उम्मेदवार पुष्प शाहले भने, ‘बेरोजगार युवाहरुको जीवनस्तर उकास्न आय आर्जनमूलक कार्यक्रम र तालिम ल्याइनेछ ।’

त्यस्तै सोही क्षेत्रका नेकपा एमालेको तर्फबाट वाम गठबन्धनका साझा उम्मेदार यज्ञ बोगटीले स्थानीय तहलाई श्रोत साधन सम्पनन बनाउने, युवा स्वरोजगार कमलबजार विमानस्थल सञ्चालन गर्ने, सडक सञ्जालहरुलाई स्तरबृद्धि गर्ने, कृषिलाई आधुनिकिकरण तथा व्यवसायिक बुनाउने विद्युतीकरणको माध्यमबाट हरेक घर उज्यालो पार्ने,  माथिल्लोकर्णाली सञ्चालनको पहल, पर्यटन प्रवर्द्धन लगायतका सवाल आफ्ना चुनावी एजेण्डा भएको बताए ।

प्रकाशित : मंसिर ८, २०७४ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?