कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षा कसिलो

गोरखा — केन्द्रीय र जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीका मतदान केन्द्रमा मौन अवधिबाटै सुरक्षा व्यवस्था कडा पारेका छन् । जिल्लाको दुई नम्बर क्षेत्रमा नेपाली सेनाको विशेष फोर्स तैनाथ गरिएको छ । प्रत्येक गाउँपालिकामा प्रहरी नायब उपरीक्षकको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा कसिलो

‘स्थानीय निर्वाचनभन्दा चार गुणा बढी सुरक्षाकर्मी फिल्डमा खटिएका छन्,’ प्रजिअ जितेन्द्र बस्नेतले भने । म्यादी, नेपाल प्रहरी, सशस्त्र र सेना गरी ५ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको उनले जानकारी दिए । प्रत्येक मतदान केन्द्रमा १० देखि १५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘प्रत्येक मतदान केन्द्रमा १५ देखि ३० मिनेटभित्र थप फोर्स पठाउन सकिने गरी टोली खटाइएको छ,’ उनले भने, ‘सेना, प्रहरीको मोबाइल टोली तयारी हालतमा छ ।’ जिल्लामा २ सय १३ मतदान स्थल छन् । 

केन्द्रीय तहका हेभिवेट उम्मेदवारको प्रतिस्पर्धा रहेको २ नम्बर क्षेत्रप्रति राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमै बढी चासो रहेकाले सुरक्षा प्रबन्ध झनै चुस्त पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । अति संवेदनशीलमा पारिएका ६८ केन्द्रमध्ये अधिकांश यही क्षेत्रमा छन् । 

अनुगमनमा उच्च टोली
बागलुङ– प्रधानसेनापति, अन्य सुरक्षा निकायका अधिकारी र सचिवस्तरीय टोलीले शुक्रबार बागलुङका मतदान केन्द्र अनुगमन गरेको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बुर्तिवाङ र बोहोरागाउँलगायत स्थानका मतदान केन्द्र निरीक्षण गरे । मतदातालाई ढुक्कले मतदान गर्ने वातावरण र सुरक्षाको प्रत्याभूति दिलाउन क्षत्रीको निरीक्षणमा आएको प्रजिअ विष्णुबहादुर थापाले बताए । 

निर्वाचन स्वच्छ र भयरहित बनाउन सरकारले महालेखा नियन्त्रक कार्यालयका सचिव सीताराम गौतमको नेतृत्वमा छुट्टै अनुगमन टोली पनि खटाएको छ । टोलीले बागलुङसँगै म्याग्दी र मुस्ताङको पनि अनुगमन गरिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायब महानिरीक्षक पनि अनुगमनमा आएका छन् । शुक्रबार सबै मतदान केन्द्रमा सर्वदलीय बैठक बसेर निर्वाचन सहज रूपमा सम्पन्न गर्ने निर्णय भएको प्रजिअ थापाले जानकारी दिए । ‘भौगोलिक कठिनाइका कारण हुन सक्ने जोखिम र निर्वाचनविरोधी समूहको गतिविधि निस्तेज बनाउन सुरक्षा सतर्कता र अनुगमन बढाइएको हो,’ उनले भने, ‘सबैले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनेको छ । आचारसंहिता उल्लंघनको दर पनि शून्य छ ।’ जिल्ला तहमा पनि झन्डै सय जनाको संख्यामा पर्यवेक्षक टोली खटाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए । 

परिचयपत्रसँगै मतदाता शिक्षा
लमजुङ– आइतबार हुने निर्वाचनका लागि मतदातालाई परिचयपत्रसँगै मतदाता शिक्षा पनि दिइएको छ । प्रत्येक केन्द्रमा खटिएका निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतलगायत कर्मचारीले परिचयपत्र वितरणसाथै भोट हाल्ने तरिका सिकाइरहेका छन् । स्थानीय चुनावपछि संकलन गरिएका ९ हजार ४ सय ५७ मतदातालाई परिचयपत्र वितरण थालिएको हो । यससँगै मतदाता शिक्षा पनि दिइएको दूधपोखरी गाउँपालिका २, भुम्लीचोकस्थित हिमालय मावि मतदान केन्द्रका अधिकृत शिव रेग्मीले बताए । जिल्लाका १२३ मतदानस्थलमा रहेका १६५ मतदान केन्द्रबाट परिचयपत्र वितरण भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले बताए । 

रोल्पा–रुकु्ममा विशेष फोर्स
आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि रोल्पाका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिइसकेका छन् । उच्च सुरक्षासाथ सबै केन्द्रमा निर्वाचन टोली र सामग्री पुर्‍याइएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । 

कार्यालयले पूर्वी र पश्चिमी दुई भागमा विभाजन गरी टोली पठाएको हो । ‘सबै टोलीलाई सुरक्षाकर्मीसहित मतदान केन्द्र पठाइसकेका छौं,’ मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले भने, ‘अहिलेसम्म कहींकतै समस्या आएको छैन । टोलीले काम सुरु गरिसकेको छ ।’ 

जिल्लामा ८० मतदान स्थल र १ सय ६० मतदान केन्द्र तय गरिएका छन् । ६० भन्दा बढी मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । हरेक मतदान स्थलको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटाइएको छ भने बाहिरी घेरामा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । नेपाली सेनाले भने मतदानस्थल आसपास गस्ती गर्नेछ । जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी करिब ४ हजार सुरक्षाकर्मी खटाइएको स्रोतले जनायो । 

नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि रोल्पा र रुकुम पूर्वमा ‘स्पेसल टास्क फोर्स’ खटाएको छ । स्रोतका अनुसार निर्वाचनविरोधी गतिविधि वृद्धि भएपछि सेनाले सुरक्षाको प्रमुख जिम्मेवारी लिएर टोली खटाएको हो । दुवै जिल्लाका लागि रोल्पास्थित खडदल गणले प्रमुख कमान्डिङ गरिरहेको छ । रुकुम पूर्वमा उक्त गणबाटै सेनानीको नेतृत्वमा करिब १ सय जनाको टोली स्थायी रूपमा खटाइएको छ । 

मतदान केन्द्र सञ्चारविहीन 
रुकुम पूर्वमा ३१ मतदान स्थल र ४२ केन्द्र छन् । तीमध्ये २६ मतदान केन्द्र सदरमुकामसित सम्पर्कविहीन छन् । पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिका गरी ३ स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो चुनौती भनेकै सञ्चार अभाव हो । ‘जिल्लाको मुख्य चुनौती नै सञ्चार हो,’ प्रजिअ भूूपेन्द्र सापकोटाले भने, ‘यसको व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।’ उनका अनुसार पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश मतदान केन्द्रमा फोन सम्पर्क छैन । सिस्ने र भूमे गाउँपालिकाका केही केन्द्रमा पनि टेलिफोन पहुँच छैन । पुथाउत्तरगंगा १४ को सेपेधुरी र १२ को विर्गुम खानीमा रहेको नेपाल टेलिकमको टावरमा खराबी भएपछि उक्त गाउँपालिकाका अधिकांश केन्द्र फोन सम्पर्कविहीन भएका हुन् । यस गाउँपालिकाका १२ मतदान केन्द्रमा सञ्चार सुविधा छैन । भूमे गाउँपालिकाका ९ केन्द्रमा पनि सजिलै फोन सम्पर्क भइरहेको छैन । 

सिस्ने गाउँपालिकाका ५ केन्द्रको अवस्था पनि उस्तै छ । निर्वाचन कर्मचारीले केन्द्रका गतिविधिबारे जिल्लमा खबर पुर्‍याउन प्रहरीको सञ्चारसेटबाट काम चलाइरहेका छन् । ती सेटले पनि मतदान केन्द्रमा नेटवर्क टिप्दैनन् । ‘प्रहरी सेटले पनि मतदान केन्द्रभन्दा माथिको डाँडामा गए मात्र काम गर्छ,’ प्रजिअ सापकोटाले भने, ‘मुस्किल र ढिलो गरी सूचना आइरहेको छ, कतै केही भइहाले तत्काल एक्सन लिन गाह्रो छ ।’ सदरमुकाममै नियमित फोन सम्पर्क नहुँदा समस्या रहेको उनले बताए । जिल्लाको ७० प्रतिशत भू–भाग सम्पर्कविहीन जस्तै रहेको उनले बताए । 

 

प्रकाशित : मंसिर ९, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?