कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस उम्मेदवार लक्षित गरेर बम विस्फोट

नवलपरासी — पहाडमा चुनाव प्रचारमा गएका कांग्रेस उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराइएको छ । त्यहाँ मानवीय क्षति भने भएको छैन ।

कांग्रेस उम्मेदवार लक्षित गरेर बम विस्फोट

महेन्द्रराजमार्गको चोरमाराबाट पहाडी बुँदीकाली गाउँपालिकामा शनिबार बिहान गएका पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार विष्णु कार्की र प्रदेशसभाका उम्मेदवार विष्णु लामिछाने चढेको जिपलाई लक्षित गरेर पहाडी मार्गको झिरुभञ्याङ भन्ने स्थलमा शनिबार बिहान साढे ९ बजे शक्तिशाली बम विस्फोट गराइएको हो । विस्फोट हुँदा जिप अगाडि कटिसकेकाले (छलिएको) कसैलाई पनि नलागेको र सुरक्षित रहेको उम्मेवारसँगै रहेका बोमलाल थापाले टेलिफोनमा बताए । विस्फोट भएको इलाका प्रहरी कार्यालय रुद्रपुरगढीबाट ३ किलोकिटर पश्चिम पर्दछ । विस्फोट भएको स्थल महेन्द्र राजमार्गबाट १६ किलोमिटर उत्तर कच्ची सडकमा पर्दछ ।

कांग्रेसका उम्मेदवारसहित ३ वटा जिपमा कार्यकर्ता पहाडी गाउँमा प्रचारमा गएका थिए । पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले उम्मेदवारलाई लक्षित गरेर बम फालिएको खबर आएको र घटनास्थलमा प्रहरी पुगेको जानकारी दिए । उनले पहाडमा लुकेर बसेकाहरुले घटना गराएर भागेको हुनसक्ने बताए ।

पहिलोपटक उम्मेदवारहरु पहाड पसेको मौका छोपेर मतदाता त्रसित बनाउन र उम्मेदवारलाई हत्या गर्ने योजनाअनुसार बम विस्फोट गराइएको कांग्रेस जिल्ला सभापति तथा प्रदेशका उम्मेदवार विष्णु लामिछानेले बताए । उनले पहाडमा प्रचार गरेर मात्र फर्किने योजना रहेको सुनाए । पहाडी बुलिंटार, बुंदीकाली र हुप्सेकोट गाउँपालिकामा प्रचारका लागि ३ वटा जिप र मोटरसाइकलमा २ उम्मेदवारसहित ५ दर्जन कार्यकर्ता पहाडतिर गएका छन् ।

नेकपाका कार्यकर्ता भूमिगत
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका कार्यकर्ता एकाएक भुमिगत भएको खबर छ । जिल्लामा परिचालित रुकुम, रोल्पा र प्युठानबाट आएका उक्त पार्टीका नेताहरुले आफ्नो फेसबुक एकाउन्ट बन्द गरेर टेलिफोन सम्पर्क नहुने बनाएका छन् । उनीहरु भूमिगत भएका कारण त्यसो गरेको हुनसक्ने अनुमान छ ।

शशांकलाई गाडीमा पहाड जान रोक
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार शशांक कोइरालाई लक्षित गरेर घटना घटाउन सक्ने त्रासका कारण सुरक्षा निकायले पहाडमा गाडीमा जान रोक लगाएको छ । कोइरालाको क्षेत्रमा एउटा गाउँपालिका पहाडमा पर्दछ ।

देशका विभिन्न स्थानमा उम्मेदवार लक्षित गरेर बम विस्फोटका घटना गराइएपछि सुरक्षा निकायले कोइरालालाई पहाडमा गाडी चढेर नजान आग्रह गरेको हो । तनहुँ र पाल्पासँग सिमाना जोडिएका नवलपरासीका ४ वटा गाउँपालिका पहाडमा पर्दछ ।

सुरक्षाकर्मीको आग्रहअनुसार कोइराला सोमबार पहाडी क्षेत्रको डेढगाउँ, कोटथर र बुलिंटारमा हुने चुनावीसभामा हेलिकप्टरबाट जाने कार्यक्रम तय भएको कांग्रेसले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर ९, २०७४ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?