दाहाल भन्छन्, 'विकासको अन्तिम धक्का दिने चाहना छ'

चितवन — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताएका छन् ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले बिहीबार यहाँ पत्रकारसँग कुराकानी गर्दै जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने बताए । तपाईलाई जनताले विश्वास गर्ने आधार के छ भन्ने प्रश्नमा उनले भने, 'मलाई विश्वास गर्नुस्, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा मेरो पहुँच छ, जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने छु ।' समाजवादले जनतालाई के दिन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो, 'हामी समाजवादको लक्ष्यमा पुग्न चाहेका छौँ, त्यसका लागि देशमा विकासनिर्माण र आर्थिक वृद्धि हुन जरुरी छ ।' पूर्वप्रधानमन्त्री दाहालले अब बन्ने वाम गठबन्धनको सरकारले विकास निर्माण र आर्थिक वृद्धि गर्ने जिकिर गरे ।

वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने बताउँदै उनले भने, 'हामीले लोकतन्त्र मास्न लागेका छैनौं बरु थप सुदृढ गर्न खोजेका छौँ ।' पूर्वराजाका सम्बन्धमा कुनै टिप्पणी गर्न नचाहेको बताउँदै उनले निर्वाचनपछि प्रमुख कार्यकारीको विषय उठान हुने जानकारी दिए । घरदैलो अभियानका क्रममा जनताले तपाईसँग के मागे भन्ने प्रश्नमा दाहालले भने, 'जनताले विकास र संमृद्धि मात्रै चाहेका छन्, त्यसमा पनि सडक, बिजुली र खानेपानी रहेछ ।' क्षेत्र नं ३ का जनताले नदी तटबन्धन र वन्यजन्तुबाट सुरक्षाको माग गरेको पनि उनले बताए ।

अर्को एक प्रश्नमा उनले बदलिँदो परिवेश र जनताको तीव्र आकांक्षामा आफूहरुले चाहेजस्तो काम गर्न नसकेकाले पनि आफूले जनताको खास अपेक्षा के हो भनेर बुझ्नका लागि घरघरमा पुगेको बताए । छोरा प्रकाशको निधनले आफूमा रिक्तता महसुस नबनाउन र पीडालाई भुल्नका लागि बिहानमा पैदलयात्रा गर्दै घरदैलो गरेर जनतासँग भेटघाट गर्दै गरेका दाहालले भने, 'मलाई पीडा र रिक्तता महसुस भएको छ, आम चितवनवासीको साथबाट यसलाई भुल्नेछु ।'
- रासस

प्रकाशित : मंसिर १४, २०७४ १५:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

[अपडेट] ८० जना न्यायाधीशविरुद्धको सुनुवाई हेर्दाहेर्दैमा

कृष्ण ज्ञवाली

काठमाडौं — एक वर्ष अगाडि नियुक्त उच्च अदालतका ८० जना न्यायाधीशविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा भएको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।

.............................

एक वर्ष अगाडि नियुक्त उच्च अदालत ८० जना न्यायाधीश विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । सरकारी वकिलहरु सहित केही अधिवक्ताले दायर गरेको रिटहरु तीनजना न्यायाधीशको इजलासमा सुनुवाई भइरहेको हो । फरक ५ मुद्दा सुनुवाईको क्रममा छन् । न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा सुनुवाई भइरहेको छ ।

सरकारी निकायहरुलाई विपक्षी बनाई दायर गरिएका मुद्दाहरुको कानूनी प्रतिरक्षा गर्ने सरकारी वकिलहरु नै रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए । न्याय सेवा अन्तर्गतका सरकारी वकिल समूहका तीन विशिष्ट श्रेणीका अधिकारीहरु र एक सहसचिवले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

उनीहरुले प्रधानन्यायाधीश, न्यायपरिषदका सदस्यहरु र विभिन्न उच्च अदालतमा नियुक्त भएका ८० जना न्यायाधीशहरुलाई विपक्षी बनाएका छन् । नायव महान्यायाधिवक्ताहरु दुर्गाबन्धु पोखरेल, बद्रीप्रसाद गौतम, बेपत्ता आयोगका सचिव राजनप्रसाद भट्टराई र सह–न्यायाधिवक्ता गणेशबन्धु अर्यालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

प्रकाशित : मंसिर १४, २०७४ १४:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT