कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुठीको भोटमा आँखा

प्रशान्त माली

ललितपुर — ललितपुर जिल्लाको क्षेत्र नम्बर ३ मा काठक्षेत्रमा नेवार बस्तीको बाहुल्य छ । ठेचो, सुनाकोठी, हरिसिद्धि, ठैव, बाँडेगाउलगायतका क्षेत्रमा उम्मेदवारले मत तान्न स्थानीय मुद्दा र आकर्षक नारा अघि सारेका छन् ।

नेवार बस्तीका मत तान्न उनीहरू उक्त क्षेत्रमा क्रियाशील गुठीका प्रभावशाली व्यक्तिलाई आफ्ना एजेन्डामा ‘सहमत’ गराउने प्रयासमा छन् । गुठियारमाझ अगुवाहरूको विचार प्रभावशाली मानिन्छ ।


ललितपुर ३ “क” 
ललितपुर ३ ‘क’ मा वाम गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार राजकाजी महर्जन र कांग्रेसबाट नवराज महत प्रतिस्पर्धामा छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार महर्जन मौन अवधि सुरु हुनुअघिको प्रचारप्रसारमा व्यस्त छन् । उनले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने नारा अघि सारेका छन् । उनले एकसरो घरदैलो अभियान सकाएर गुठी र गुठियार केन्द्रित प्रचार–प्रसार थालेका छन् । 

बुङमती, खोकना, हरिसिद्धि, सुनाकोठी, धापाखेल, ठेचो, ठैब, बाडेगाउँलगायतका गाउँलाई विश्व सम्पदामा सूचीकरण गर्ने योजना रहेको महर्जनले बताए । भूकम्पले ध्वस्त बनेका नेवारी घरहरूको वास्तुकला शैलीमा पुनर्निर्माण गर्ने उनको घोषणापत्रमा उल्लेख छ । २०६४ सालका निर्वाचित सभासद महर्जन भन्छन्, ‘काँठ क्षेत्रका प्राय: नेवारी बस्ती लालपुर्जाविहीन छन् ।’ उनले २०२१ को नापी नभएको खोकना, बुङमती र हरिसिद्धिका रैथानेलाई लालपुर्जा दिलाउने आकर्षक नारा अघि सारेका छन् ।  

महर्जनका प्रतिस्पर्धी महतले समावेशी विकासको नारालाई जोड दिएका छन् । महतले महिला सशक्तीकरण, युवा स्वरोजगारी, ज्येष्ठ नागरिकलाई दिवा सेवा केन्द्रलगायत दलित, अनाथ, अपांगता भएका व्यक्ति र जनजातिको उत्थानजस्ता सामाजिक मुद्दामा जोड दिएका छन् । कांग्रेस ललितपुरका पूर्वकार्यबाहक सभापतिसमेत रहेका महत भन्छन्, ‘यदि मतदाताले जिताएमा स्थानीय भाषा, साहित्य, संस्कृति, वेशभूषा र रहनसहनको प्रवद्र्धन गर्नेछु ।’ उनले धापाखेलको ऐतिहासिक नागदह र आँखीदह संरक्षण गुरुयोजना बनाई कार्यान्वयन गर्ने बताए । कृषिमा आधारित काँठ क्षेत्रमा पछिल्लो समय बढेको अव्यवस्थित सहरीकरणले समस्या ल्याएको भन्दै उनले व्यावसायिक कृषिको सम्भावनालाई ब्युँताउने बताए । उनले भने, ‘५ वर्षभित्रमा तरकारी खेतीमार्फत् कृषि आधारित व्यवसायको प्रवद्र्धन गर्नेछु ।’ 


ललितपुर ३ “ख”
ललितपुर ३ ‘ख’ मा एमालेबाट जीवन खडका र कांग्रेसबाट शिवराम बानियाँबीच प्रतिस्पर्धा छ । एमालेका खडकाले पनि ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने नारा अघि सारेका छन् । खडाले सहरी विकास तथा व्यवस्थित आवास तथा आयआर्जन वृद्धि गर्ने आफ्नो सपना रहेको बताए । 

‘पाँच वर्षभित्रमा सबै भित्री सडक कालोपत्रे, धूवाँ–धूलो नियन्त्रण र ढल व्यवस्थापन गर्नेछौं,’ उनले भने, ‘सहकारी संघ, सहुलियत कर्जा, महिला सहकारी प्रवद्र्धन, कर न्यूनीकरण तथा विपन्न सहायता कार्यक्रमलाई जोड दिनेछु ।’

कांग्रेस उम्मेदवार शिवराम बानियाँ तत्कालीन सैंबु गाविसका पूर्वअध्यक्ष हुन् । उनले पूर्वाधार विकासलाई नारा बनाएका छन् । शैक्षिक बेरोजगारी र यातायात समस्या हटाउने, महानगरपालिकालाई स्वच्छ हराभरा बनाउने, सडक विस्तार गर्ने योजना मतदातामाझ अघि सारेका छन् ।

उनले आफूलाई जिताएमा स्थानीय क्षेत्रलाई वातावरणमैत्री, फोहोरमुक्त स्वच्छ क्षेत्र बनाउने घोषणा गरे । ‘जिल्लामा फोहोर व्यवस्थापन गर्न ल्यान्डफिल्ड साइटको सम्भाव्यता अध्ययन गर्नेछु,’ उनले भने, ‘प्रत्येक वडा जोड्ने सडकको कालोपत्रे गर्नेछु ।’

 

प्रकाशित : मंसिर १८, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?