एक किमिको ११ रुपैयाँ भाडा

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थलीबाट ६५ किमि दूरीको बाम्ती पुग्न सवारीसाधनले ७ सय रुपैयाँ भाडा असुल्ने गरेका छन् । १५ किमि पक्की र बाँकी कच्ची पर्ने सडकमा यो भाडादर प्रतिकिमि झन्डै ११ रुपैयाँ हो । यातायात सञ्चालकहरू त्यति भाडामा पनि सन्तुष्ट छैनन् ।

‘यो भाडाले पुगेको छैन,’ हिमगंगा यातायात सेवा समितिका अध्यक्ष शारदाजंग कार्की भन्छन्, ‘टायर महिना दिन टिक्दैन, मर्मतमा धेरै पैसा जान्छ ।’ मन्थलीदेखि रामेछापको दूरी १३ किलोमिटर छ । अधिकांश कालोपत्रे उक्त सडकमा यात्रा गर्दा सार्वजनिक बसमा १ सय भाडा तिर्नुपर्छ । बलेरो र टाटा सुमोमा त्यसको डेढ गुना बढी भाडा लाग्छ ।

प्रजिअको अध्यक्षतामा बस्ने जिल्ला यातायात समिति बैठकमा उक्त सडकमा लिइने भाडाबारे पटकपटक छलफल हुन्छ । समितिले कच्ची सडकमा प्रतिकिलोमिटर ४ रुपैयाँसम्म लिन पाउने गरी भाडा तोकिदिएको छ । तर, उक्त खण्डमा यो निर्णय कहिल्यै कार्यान्वयन हुँदैन । हिमाल–तराई यातायात सेवा समितिले मन्थलीदेखि रामेछापसम्मको सडकमा बस सञ्चालन गर्छ । टाटा सुमो सञ्चालन गर्ने अन्य समितिले समेत रामेछाप–मन्थलीमा यात्रु बोक्छन् । जिल्लाका अधिकांश सडकमा राज्यले तोके भाडादर लागू हुँदैन । सदरमुकामबाट काठमाडौं आउजाउ गर्ने सवारीले नै अटेरी गरेका छन् । १ सय २७ किमि दूरीको काठमाडौं पुग्न ५ सय भाडा तिर्नुपर्छ । पक्की सडकमा यात्रा गर्दा सरकारले तोकेको दरबमोजिम प्रतिकिमि २ रुपैयाँ पनि पर्दैन ।

राज्य जिम्मेवार नहुँदा आफूहरू ठगिनुपरेको अपाङ्ग सचेतना केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउँछन् । ‘हामीले भनेको यातायात व्यवसायीले सुन्दैनन्,’ उनले भने, ‘जिल्लाका धेरै सडकमा अपाङ्ग, विद्यार्थी र जेष्ठ नागरिकले सहुलियतसमेत पाएका छैनन् ।’ सुमोले छुट नदिएको नयाँघरेको गुनासो छ । जिल्लाका २० भन्दा बढी सडकमा बस र सुमो सञ्चालन हुन्छन् । तर, राज्यले तोकेको भाडामा यात्रा गर्न पाइँदैन । पश्चिमी र उत्तरी भेगका सडकमा चर्को भाडा असुलिन्छ । सडक असजिलो भएको बहानामा यातायात सेवा समितिले यात्रु ठगिरहेको बाम्तीका पेम्बा शेर्पाले गुनासो गरे ।

सार्वजनिक सवारीसाधनमा लाग्ने भाडादरबारे छलफल हुन छाडेकै महिनौं भएको छ । प्रजिअ दिलीपप्रसाद लामिछानेले निर्वाचनका कारण उक्त विषयमा छलफल गर्न नभ्याएको बताए । ‘हामी चाँडै यस विषयमा छलफल चलाएर निचोडमा पुग्छौं,’ उनले भने । जिल्लामा रामेछापमा अरनिको, हिमाल–तराई, त्रिवेणी, सिटीभिलेज, नौलो सिटी, हिमगंगा, निसान भगवती, खाँडादेवी, हिमगंगा यातायात प्रालिलगायतले गाडी चलाउँदै आएका छन् ।

प्रकाशित : मंसिर १८, २०७४ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्

यसरी भयो चपलीहाइट बिष्फोट (फोटोसहित)

सुमन बस्नेत

काठमाडौं — बुढानिलकण्ठ नगरपालिका २ स्थित तल्लो भंगालमा कार्यकर्ता साढे १० बजे जम्मा भएर घरदैलो गर्ने कार्यक्रम थियो । सोहीअनुसार तपस्थली बृद्धाश्रममा जम्मा भएर कांग्रेस कार्यकर्ताले घरदैलो सुरु गरे ।

केही दिन अघि गगन थापा गोरखा गएकाले त्यहाँ केही घरमा भोट माग्न पुग्न बाँकी थियो । त्यसकारण ५०/६० घरमा घरदैलो कार्यक्रम सिध्याउने योजना थियो । 

३ बजे सिफल चौरमा अन्तिम चुनावी सभा गर्ने कार्यक्रम थियो । त्यसैले हामी बृद्धाश्रमबाट हिंडेर भंगालसम्म गयौं, त्यहाँ अलिकतिमाथि पुगिसकेर प्रदेशसभाका उम्मेदवार साधुराम खड्कासँग केही कार्यकर्ताहरु सेल्फी खिच्न थाले । गगन दाई भने अघि बढे । उनको घरदैलोको फोटो खिच्ने मेरो जिम्मेवारी भएका कारण म अधिकांश समय उनकै वरपर हुन्थे ।

बम पड्किएको स्थान । 

अलि पर पुगेपछि अचानक ठूलो आवाज आयो । घरका सिसाहरु ग्ल्र्याम्म खसे । पछाडि हेर्दा धुँवा देखियो । सबै चिच्याएको आवाजमात्र सुनियो । एक अर्कालाई कसैले देखेन । जताततै रुवाबासी मात्र सुनियो ।

गगन थापाको ढाडमा ढुंगा लागकाले उनी केहीबर चल्न सकेनन् । कार्यकर्ता भागाभाग गरेको केहीबेरपछि देखियो । एकछिन हेर्दा त राजकाजी श्रेष्ठ भूइँमा लडेको देखे । उनी रगताम्मे अवस्थामा लडेका थिए । एकजना साथीले निधार  र खुट्टा समातेका थिए । 

यि सबै दृश्य देखेर गगन थापा अगाडि उभिएर रोइराख्नु भएको थियो । श्याम श्रेष्ठको पाखुरामा ढुंगा छिरेको थियो । उनलाई तत्कालै अस्पताल लगियो । 

रेणु बरुवाल बहिनी टाउको र खुट्टामा चोट लागेर ढलेकी थिइन । उनी स्कुटरमा आएकी थिइन् । बमले स्कुटर र उनलाई उछिट्याएको रहेछ । बासीक नयाँ टोल सुधार समितिका अध्यक्ष पूर्ण श्रेष्ठको हातमा चोट लागेका थियो  । 

अन्य घाइतेहरुलाई पनि तत्कालै शिक्षण अस्पताल दौडाइयो । त्यो बेलासम्म म गगन दाईसँगै थिए । त्यसपछि गगन दाईलाई पनि उनकै गाडीमा अस्ताल लगियो । उनको ढाड र बायाँ कानमा चोट लागेको छ । 

 

गगन थापा घटनास्थल नियाल्दै । 

घाइते राजकाजी श्रेष्ठ र उनलाई सहयोग गर्दै अन्य । 

घाइते रेणु बरुवाल 

तस्बिर सौजन्य : सुमन बस्नेत 

(प्रत्यक्षदर्शी सुमन बस्नेतले  कान्तिपुरका दीपेन्द्र विष्टसँग गरेकाे कुराकानीमा आधारित )

प्रकाशित : मंसिर १८, २०७४ १६:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्