१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

बजार रित्तै, गाउँ भरिभराउ

पोखरा — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मताधिकार उपयोग गर्न मतदाता आआफ्ना गाउँ फर्किएका छन्। निर्वाचनका दिन बिहीबार सार्वजनिक यातायात नचल्ने भएकाले उनीहरू बुधबारै घर पुगेका हुन्। पोखरामा विभिन्न पेसा व्यवसायमा रहेका पर्वत, स्याङ्जा, तनहुँ, लमजुङलगायत छिमेकी जिल्ला र ग्रामीण क्षेत्रका मतदाता घर फर्किसकेका छन्।

दोस्रो चरणमा ४ नम्बर प्रदेशका ५ जिल्लामा निर्वाचन हुँदै छ। जिल्ला प्रशासन कार्यालयले कास्कीका ३ सय ३७ वटा सबै मतदान केन्द्रका मतपेटिका सुरक्षित पोखरा ल्याउन बुधबार सवारी तैनाथ गरेको छ। प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ सिटका लागि निर्वाचन भइरहेको कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ मतदाता छन्। यहाँ स्थानीय निर्वाचनपछि ३० हजार ६ सय ४१ मतदाता थपिएका छन्। बिहान ७ बजे सुरु हुने मतदानका लागि सबै केन्द्रमा तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

सदरमुकाम सुनसान
स्याङ्जा– बाहिरी जिल्ला र जिल्लाका बजार क्षेत्रमा काम विशेषले बस्दै आएकाहरू मतदानका लागि घर फर्किसकेका छन्। जिल्ला सदरमुकामलगायत बजार क्षेत्र भने सुनसान भएका छन्। ओरस्टे घर भई पुतलीबजार–१ बस्ने अनिता थापामगर भोट हाल्नकै लागि बुधबार गाउँ गइन्। ‘भोट हालेर भोलिपल्ट फर्कन्छु,’ उनले भनिन्, ‘आफ्नो अधिकार प्रयोग गरेर असल नागरिकको परिचय त दिनुपर्‍यो नि।’ घुम्तीबजार बस्ने नानीमाया थापामगर पनि मतदानकै लागि गाउँ गएकी छन्। ‘चुनाव दसैं आएजस्तै भएको छ,’ उनले भनिन्, ‘नानीबाबुको पढाइले गर्दा गाउँ बारम्बार जान पनि पाइँदैन।’ सपरिवार हिंडेकी उनी मतदानका लागि उत्साही छिन्। वैदेशिक रोजगारीमा गएका उनका पति पनि यसपालि मतदानकै बेला पारेर ५ वर्षपछि घर आएका छन।

‘मतदान आफ्नो अधिकार’
पर्वत– राजधानीको शंकरदेव क्याम्पसका स्नातक विद्यार्थी फलेबास–३ का मनोज पौडेलसँगै १४ जनाको टोली मंगलबार बेलुका गाउँ फर्कियो। कास्कीको एक संस्थामा कार्यरत फलेबास–४ का याम गौंडेल र नवीन गौंडेल बुधबार दिउँसो घर पुगे। सदरमुकामबाट पनि विभिन्न पेसाव्यवसाय गर्नेहरू मतदान गर्न गाउँ फर्किएका छन्। ठूलापर्व दसैंतिहारमा जस्तै सदरमुकाम सुनसान भएको छ। अधिकांश पसल, संघसंस्था र विद्यालयलगायतमा संलग्नहरू बुधबार बिहानै आफ्ना व्यवसाय बन्द गरेर गाउँ फर्किएका छन्। ‘चुनावका बेला व्यापार पनि खासै हुन्न,’ मुडिकुवाका जगत सापकोटाले भने, ‘मताधिकार आफ्नो अधिकार, भाग्यले पाएको अवसर हो, कसरी छुटाउनु?’ भाँडा व्यवसायी सापकोटा बुधबार बिहानै पसल बन्द गरेर पाँच जनाको परिवारसहित गाउँ फर्किएका हुन्।

‘एक भोटका कारण मुलुकले निकास पाउँछ भने किन छुटाउने?,’ कास्कीबाट मतदान गर्न गाउँ फर्किएका यामप्रसाद गौंडेलले भने, ‘बसाइ फरक भए पनि आफ्नो जिल्लाको प्रतिनिधि छान्ने अवसर छुटाउनु त भएन नि।’ पछिल्लो एक सातामा करिब २० हजार मतदाता बाहिरी जिल्लाबाट भित्रिएका छन्। राजनीतिक दलहरूमा बस भाडासमेत तिरेर जिल्लाबाहिर रहेका मतदाता झिकाउने होड नै चलेको छ। जिल्लाबाहिर रहेका मतदातालाई पायक पर्ने स्थानमा आवश्यकताअनुसार बस रिजर्भ गरेरै बोलाएको काठमाडौंबाट फर्किएका राजेश लाम्गादेले बताए। ‘हाम्रो गाउँका मात्रै १४ जना सँगै काठमाडौंबाट फर्कियौं,’ उनले भने, ‘काठमाडौंबाट अरू गाउँका धेरै साथी गाउँ फर्किएका छन्।’ पहिलो चरणमा निर्वाचन भएका जिल्लामा कार्यरत कर्मचारीसमेत मतदान गर्न गाउँ फर्किएका छन्।

निर्वाचनको सबै तयारी पूरा
दमौली– तनहुँका २ सय ६५ वटा मतदान केन्द्रमा निर्वाचनका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदाता परिचयपत्र वितरण र मतदान केन्द्र निर्माण सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले बताए।

‘मतदान केन्द्रमा छेकबार गरेका छौं,’ उनले भने। मतदान व्यवस्थित गर्न महिला, पुरुष, अपांगता भएकाहरूका लागि छुट्टाछुट्टै लाइन रहेको उनले बताए। निर्वाचनका लागि २ हजार १ सय २० जना कर्मचारी खटिएका छन्। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्लाका सीमावर्ती नाकामा प्रहरी जाँच कडा पारिएको छ। जिल्ला समन्वय र जिल्ला कृषि विकास कार्यालयको भवनमा काँडेतारले घेरा लगाई मतगणनास्थल तयार पारिएको छ। मतगणनास्थलमा क्लोजसर्किट क्यामेरा पनि जडान गरिएको छ।

प्रकाशित : मंसिर २१, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?