कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवलपरासीको २ वटा मतदान केन्द्रमा बम विस्फोट, ६ जना घाइते

नवलपरासी — मतदान चलिरहँदा नवलपरासीका २ छुट्छुटै मतदान केन्द्रमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । घाइते सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



बर्दघाट नगरपालिका र देबचुली नगरपालिकाका २ वटा विद्यालयका मतदान केन्द्रमा बम विस्फोट भएको हो । बर्दघाट नगरपालिकाको राजामहात्मा माध्यमिक विद्यालयको हातामा बम विस्फोट हुदा ५ जना घाइते भएका छन् ।

मतदान केन्द्र नजिकमा रहेको बालुवाको थुप्रोमा रेडबुलको डब्बाभित्र राखिएको बम पडकिँदा स्थानीय मनमाया सुवेदी, ममता सुवेदी, भगवति अधिकारी, अनिश छन्त्याल र विवेक छन्त्याल सामान्य घाइते भएको प्रत्यक्षदर्शी रवीन चापागाईंले बताएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार गरिएको छ । घटनापछि भागेका मतदाताहरु सुरक्षा बलियो पारिएको जानकारीपछि पुन: मतदान स्थलमा फर्किएका छन् । घाइते मतदाताहरुलाई स्थानीयले पुन: मतदान गराएर घर घरमा पुर्‍याएका छन् । घटनापछि त्यहा ठुलोसंख्यामा सुरक्षाकर्मी थपिएको छ । त्यहा १९४१ मतदाता रहेका छन् ।

मतदातालाई मतदान स्थलमा फर्किन आव्हान गर्दै निर्वाचन कार्यालयले स्थानीय एफएममा सूचना प्रसारण गरेको दाउन्ने रेडियोले जानकारी दिएको छ ।

त्यसै गरि नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १२ गैडीमा रहेको दिव्यज्योति आधारभुत विद्यालयमा बम विस्फोट हुँदा एक मतदाता घाइते भएका छन् ।

बिहान साढे १० बजे मतदान भइरहँदा भएको विस्फोटमा परेर स्थानीय इन्द्र बहादुर नेपाली घाइते भएका छन् । उनको अवस्था खतरामुक्त छ । मत खसाल्ने स्थलमा रहेको धुपीको बोटमा बम
विस्फोट भएको हो । विस्फोटपछि एकघण्टा मतदान प्रकृया रोकिएर फेरी मतदान सुरु भएको छ ।

१९७७ मतदाता भएको उक्त विद्यालय हातामा केहीदिन अघि नै बम राखेको आसंका रहेको छ । यो मतदान केन्द्र माओवादी विप्लब समूहको प्रभाव क्षेत्र हो ।

बम विस्फोट भएको एक घण्टा भित्र प्रमुख जिल्ला अधिकारी शम्भु मराशिनी सहित सुरक्षा निकायका प्रमुख मतदान केन्द्रमा पुगेका थिए । प्रजिअले घाइतेको अवस्था समान्य रहेको र तत्काल सुरक्षा व्यवस्था गरेर पुन: मतदान सुरु गराएको जानकारी दिए ।

घटनापछि भागदौड गरेका मतदाता फेरि मतदान केन्द्रमा फर्किएका छन् । स्थानीयले मतदान स्थलमा सुरक्षा व्यवस्था राम्रो रहेको भन्दै भोट हाल्न आउन माइकिङ गरेका छन् ।
दुई स्थानमा बम विस्फोट भएपछि जिल्लाभरी सुरक्षा सर्तकता अपनाइएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?