कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाम गठबन्धन प्रतिनिधिसभामा ६ र प्रदेशमा ११ स्थानमा विजयी

काठमाडौं — वामपन्थी गठबन्धनले प्रतिनिधिसभामा ६ वटा र प्रदेशसभामा हालसम्म ११ सिटमा विजय हासिल गरेको छ । प्रतिनिधिसभामा खाता खोल्न नसकेको कांग्रेसले प्रदेशसभामा भने तीन स्थानमा जितेको छ । दुवैतर्फको अग्रता भने वामपन्थी गठबन्धनको धेरै फराकिलो छ । प्रतिनिधिसभामा एमालेले मनाङ, मुस्ताङ, म्याग्दी, मुगु र बझाङमा जितेको छ । माओवादीले भने रुकुम पूर्वमा विजय हासिल गरेको छ ।

वाम गठबन्धन प्रतिनिधिसभामा ६ र प्रदेशमा ११ स्थानमा विजयी

मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङले कांग्रेसका टेकबहादुर गुरुङलाई २७९ मतले पराजित गरे । २०४८ सालयताका कुनै पनि निर्वाचनमा एमालेले मनाङमा जितेको थिएन । २०६४ को संविधानसभाको चुनावमा एकपटक माओवादीका देव गुरुङले जितेका थिए । त्यसबाहेकका सबै चुनाव कांग्रेसले जित्दै आएको इतिहास छ । मनाङको प्रदेशसभा (क) मा कांग्रेसका चिन्तबहादुर घले विजयी भए भने प्रदेशसभा (ख) मा एमाले समर्थित राजीव गुरुङ (दीपक मनाङे) ले कांग्रेसका कर्मा गुरुङलाई हराए ।

मुस्ताङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा विजय हासिल गरेको छ । एमालेका प्रेमप्रसाद तुलाचनले कांग्रेसका रोमी गौचन थकालीलाई हराए । अघिल्लो चुनावमा कांग्रेसबाटै बागी उम्मेदवार बनेका तुलाचन थोरै मतले गौचनसँग हारेका थिए । यसपटक तुलाचन एमाले प्रवेश गरेर टिकट लिए र गौचनलाई हराए । मुस्ताङको प्रदेशसभा (क) मा इन्द्रधारा विष्ट र (ख) मा महेन्द्रबहादुर थकाली विजयी भए । दुवैले कांग्रेस उम्मेदवारलाई हराएका हुन् । मुगुमा एमालेका गोपाबहादुर बमले कांग्रेसका हस्तबहादुर मल्ललाई हराए । प्रदेशसभाको भने त्यहाँ मतगणना जारी छ । बझाङमा एमालेका भैरवबहादुर सिंहले कांग्रेसका पृथ्वीबहादुर सिंहलाई हराए । प्रदेशसभा (क) मा एमालेका अर्जुनबहादुर थापा र (ख) मा माओवादीकी देवकी मल्ल थापा विजयी भए ।

म्याग्दीका सबै सिट वाम गठबन्धनले जित्यो । प्रतिनिधिसभा एमालेका भूपेन्द्रबहादुर थापाले कांग्रेसका खमवीर गर्बुजालाई हराए । प्रदेशसभा (क) मा माओवादीका विनोद केसी र (ख) मा एमालेकी नरदेवी पुन विजयी भए । रुकुममा पनि वाम गठबन्धनले विजय हासिल गरेको छ । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट मात्र उम्मेदवारी रहेको रुकुम पूर्वको प्रतिनिधिसभामा माओवादीकी कमला रोकाले जितिन् भने प्रदेशसभा (क) तेजबहादुर वली र (ख) मा पूर्णबहादुर घर्तीमगर विजयी भए ।

हुम्लाबाट भने प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लामाले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् ।

प्रकाशित : मंसिर २२, २०७४ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?