कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल मेडिकल हब बन्न सक्छ : ओली

अतुल मिश्र

काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल चिकित्सा क्षेत्रका लागि मेडिकल हब बन्न सक्ने बताएका छन् । सडक विस्तार, मेलम्ची आयोजनाको पाइप बिछ्याउने आदिले काठमाडौंमा धूलो, धूवाँ भए पनि यसलाई नियन्त्रण गर्न समय नलाग्ने बताउँदै उनले भने, ‘यसपछि मुलुकको वातावरण अत्यन्त सुन्दर हुन्छ, यहाँ बिहान हिमाल हेर्दै उपचार गर्न पाउनु जोसुकैले रुचाउँछन् ।’

नेपाल मेडिकल हब बन्न सक्छ : ओली

नेपाल मेडिसिटी अस्पतालको अवलोकनपछि आइतबार अस्पताल परिसरमा ओलीले मेडिसिटीजस्ता अस्पतालले मुलुकलाई मेडिकल हब बनाउन सघाउने बताए । अस्पतालका अध्यक्ष उपेन्द्र महतोले उपचारका लागि विदेश जानु नपर्ने विश्वास दिलाउन मेडिसिटी सञ्चालनमा ल्याएको जानकारी दिए ।

३५० शय्याको सुपर स्पेसियालिटी अस्पतालमा अत्याधुनिक उपकरण, प्रविधिसँगै सबै विधाको विशेषज्ञता सेवा रहेको जनाउँदै महतोले भने, ‘मेडिसिटी अस्पताल होइन अभियान हो, अत्यन्त ठूलो भवन अत्याधुनिक उपकरण सेवा सुविधा भए पनि सेवा शुल्क सर्वसाधारणले तिर्न सक्नेछ ।’ अस्पतालका निर्देशक डा. सुनिलकुमार शर्माले अत्याधुनिक उपकरण र प्रविधिले चिकित्सा विज्ञानको सबैजसो विधामा अन्तर्राष्ट्रिय गुणस्तर सेवा मेडिसिटीले दिइरहेको दाबी गरे । उनले भविष्यमा अस्पताललाई ७ सय ५० शय्यामा विस्तार गरिने जानकारी दिए ।

अस्पताल आउने बिरामीको खल्तीमा नभई रोगको उपचारमा चिकित्सकले ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । ‘कतिपय अस्पतालमा इमर्जेन्सी पुग्ने बिरामीको धरौटी खोजिन्छ, नभए फिर्ता पठाइन्छ,’ एमाले अध्यक्ष ओलीले भने, ‘मैले पनि धरौटीबिना उपचारमा ढिलाइ भएको अनुभव गरेको छु भने सर्वसाधारणको स्थिति के होला ?’ आकस्मिक उपचारका लागि आउनेलाई अस्पतालले सबैभन्दा पहिला ज्यान जोगाउनेतर्फ लाग्न उनले आग्रह गरेका छन् ।

विदेश भ्रमणताका एक्कासि आफू न्युयोर्क अस्पताल भर्ना भएको प्रसंग उठाउँदै उनले भने, ‘५ दिनको उपचार क्रममा मलाई कहिले शुल्कबारे सोधिएन, निको भएर हिँड्ने बेलामा निजी अस्पतालमा शुल्क लाग्छ भनियो ।’

प्रकाशित : मंसिर २४, २०७४ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?