कर्मचारी र शिक्षकलाई योगेशको सुझाव– ‘भ्रष्ट कर्मचारी र नपढाउने शिक्षक कृपया नबस्नुहोला’

आनन्द गौतम

ताप्लेजुङ — प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव योगेश भट्टराईले भ्रष्टाचार गर्ने मन भएका कर्मचारीलाई ताप्लेजुङमा नबस्न अनुरोध गरेका छन् । उनले भने, ‘देशभर कहीँ पनि भ्रष्टाचार नगर्नु होस्, आफूलाई सुधार्न सक्नुहुन्न भने कृपया ताप्लेजुङचाही बस्दै नबस्नु होला ।’

प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव योगेश भट्टराईले भ्रष्टाचार गर्ने मन भएका कर्मचारीलाई ताप्लेजुङमा नबस्न अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशभर कहीँ पनि भ्रष्टाचार नगर्नु होस्, आफूलाई सुधार्न सक्नुहुन्न भने कृपया ताप्लेजुङचाही बस्दै नबस्नु होला ।’ उनले प्रमुख जिल्ला अधिकारीलाई जिल्लाभरीका कर्मचारीको भेला बोलाउन भनेको र आफूले यही कुरा सुनाउन चाहेको बताए । ‘पैसा कमाउन भए अन्तै जानुहोस् यहाँ पाइँदै पाइँदैन,’ उनले भने, ‘यहाँ आउने र बस्नेले सरकारले दिएको सेवा सुविधामा रहेर जनताको काम गर्नुपर्छ ।’ जनताले दिएको विश्वास ग्रहणका लागि सुशासन र पारदर्शिता आवश्यक रहेको बताएका उनले त्यो आफ्नै जिल्लावाट सुरु गर्ने दावी गरे ।

भट्टराईले बिद्यालय नजाने, नपढाउने शिक्षकलाई क्षम्य नहुने बताए । जिल्लाका कुनैपनि सार्वजनिक विद्यालयका बिद्यार्थी फेल हुन नहुनेमा उनको जोड छ । नपढाउने, विद्यालय नजाने शिक्षकप्रति कटाक्ष गर्दै भट्टराईले भने, ‘शिक्षकले बिद्यालयमा ध्यान दिनुपर्छ किनकि भविष्य त्यहाँ छ । नपढाउने शिक्षक आफ्नो संगठनका लागि पनि आवश्यक नरहेको उनले बताए । भट्टराईले भने, ‘पढाउँदै नपढाउने मास्टरको संगठनलाई किन भोट दिने भन्छन् जनताले, त्यसैले संगठन बढाउने भए पढाउनुपर्छ ।’

आफ्नो कार्यकालमा हरेक बिद्यालयमा छात्राका लागि शौचालय निर्माण गर्ने योजना भट्टराईको छ । ‘मैले तथ्यांक हेरेको छु, सबैभन्दा बढी छात्राहरुले बिद्यालय छोडेका छन् । त्यसको कारण भनेको महिलामैत्री शौचालय हो, त्यसलाई सुधार गर्नुपर्छ ।’ आफूले चुनावी अभियानमा बिद्यार्थीलाइ सुँगुर, बाख्राको खोरमा थुनेर राखेजस्तो एकै ठाउँ कोचेर राखेको देखेको सुनाउँदै त्यसमा सुधार गर्ने बताए ।

भट्टराईका अनुसार एनजिओ आईएनजिओले जिल्लामा अब तालिम गोष्ठी गरेर पैसा खर्च गर्न पाउने छैनन् । पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने छ । तालिम गोष्ठीका नाममा खाममा पैसा हालेर दिने अनि प्रगति प्रतिवेदन तयार गर्ने कुरा मान्य नहुने बताउँदै उनले थपे, ‘अबको काम देखिने हुनुपर्छ’ ।

प्रकाशित : मंसिर २५, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी दूतावासअगाडि प्रदर्शन

रोयटर्स, बीबीसी

बेरुत — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको विरोधमा लेबनानस्थित अमेरिकी दूतावासमा भएका प्रदर्शनमा हिंसात्मक झडपहरू भएका छन् ।


राजधानी बेरुतको उत्तरमा अमेरिकी दूतावासनजिकै सयौंको संख्यामा प्रदर्शनकारीले ट्रम्पको निर्णयको विरोध गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीलाई भगाउन सुरक्षाकर्मीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेका छन् ।
स्थानीय सञ्चार माध्यमका अनुसार कपितय प्रदर्शनकारीले पर्खाल चढ्ने तथा दूतावासको हाताभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । कालो कपडा र सेतो स्काफ लगाएका प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति ट्रम्पका विरुद्ध नाराबाजी गरेका थिए ।
लेबनानका कम्युनिस्ट पार्टी नेता हन्ना घरिबले प्रदर्शनकारीलाई सम्बोधन गर्दै ‘अमेरिकीहरू प्यालेस्टिनीको शत्रु’ भएको बताए । प्रदर्शनकारीको एक समूहले ट्रम्पको पुत्ला जलाएका थिए ।
जेरुसेलमलाई गत बिहीबार राजधानीको मान्यता दिएलगत्तै ट्रम्पले इजरायलको तेलअभिभस्थित अमेरिकी दूतावास जेरुसेलम सार्ने निर्णय गरेका थिए । उक्त निर्णयको व्यापक भत्र्सना भएको छ । लेबनानमा ४५ हजार प्यालेस्टिनी शरणार्थीहरू छन् ।
अरब लिगले ट्रम्पको निर्णयको कडा शब्दमा निन्दा गर्दै अमेरिकाले ‘मध्यपूर्वमा आगोको ज्वाला थपेको’ आरोप लगाएको छ । उसले अमेरिकी कदमले ‘मध्यपूर्वमा जारी शान्ति पक्रिया धरापमा परेको’ जनाएको छ ।
त्यसैगरी, वेस्ट ब्यांक, गाजा स्ट्रिप र रमल्लाहमा चौथो दिन पनि झडपहरू भएका छन् । जेरुसेलममा इजरायली फौजले प्रदर्शनकारीको सामना गर्न हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । झडपका क्रममा सयौं प्यालेस्टिनी प्रदर्शनकारी घाइते भएको अधिकारीले जनाएका छन् ।
जेरुसेलमप्रति लामो समय मौन रहेको अमेरिकाले बिहीबार जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएपछि केही समय शान्त रहेको मध्यपूर्वमा हिंसा भड्किएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पको निर्णयको विरोधमा इन्डोनेसियाको राजधानी जाकार्तास्थित अमेरिकी दूतावासअगाडि पनि प्रदर्शन गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुले फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग भेटवार्ताका लागि पेरिस जाँदै छन् । उनले युरोपेली संघका मन्त्रीहरूलाई सोमबार भेट्दै छन् । त्यसैगरी जोर्डन, इजिप्ट, इराक, टर्की, ट्युनिसिया र इरान लगायतका देशमा पनि विरोध प्रदर्शन जारी रहेको रोयटर्सले जनाएको छ ।
इजरायलले जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टिनीहरूले सन् १९६७ युद्धपछि इजरायलले नियन्त्रणमा लिएको पूर्वी जेरुसेलमलाई भावी राजधानी बताउने गर्छन् ।
सुरुङ ध्वस्त पारेको दाबी
इजरायली रक्षा बल (आईडीएफ) ले हमास समूहले गाजाको मध्य क्षेत्रबाट इजरायल पुग्न सकिने गरी निर्माण गरेको सुरुङमार्ग आइतबार ध्वस्त गरेको जनाएको छ ।
आईडीएफका प्रवक्ता कर्नेल जोनाथन कनरिकसले सुरुङ पत्ता लगाई ध्वस्त पार्न आईडीएफले विकसित गरेको अत्याधुनिक पद्धतिको प्रयोग गरिएको जनाए । उक्त घटनामा हमास जिम्मेवार रहेको बताए पनि थप जानकारी दिएको छैन ।
दक्षिण इजरायलको सीमानजिक पर्ने गाजा क्षेत्र हमास समूहको नियन्त्रणमा छ । हमासले इजरायलको अस्तित्वलाई स्वीकार गर्दैन । हमास र इजरायलले पटकपटक युद्ध लडेका थिए । उनीहरूबीच पछिल्लो पटक २०१४ मा युद्ध भएको थियो । त्यसताका हमासले सुरुङ निर्माण गरेको थाहा पाएपछि अत्याधुनिक प्रविधिको विकास गरेको इजरायलको दाबी गरेको छ ।

प्रकाशित : मंसिर २५, २०७४ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्