कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो लगातार जित्दै आए

माधव घिमिरे

विराटनगर — बहुदलीय प्रजातन्त्र पुन:स्थापनापछिका सबैजसो चुनावमा जित्दै आएका कतिपय नेताहरूले यसपटक पनि जितेका छन् । निर्वाचित भएर मुलुकको कार्यकारी प्रमुख र व्यवस्थापिका प्रमुखसम्म भएका नेताहरूले पुरानै क्षेत्रबाट प्रतिस्पर्धा गर्ने अवसर पाइरहेका छन् ।

राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएकाले ती नेताको विकल्पमा अरू उम्मेदवार तयार भएका छैनन् । त्यही भएर सर्वसम्मत उम्मेदवारका रूपमा केही चर्चित नेताले आमचुनावमा सहभागिता जनाउँदै आएका छन् । लगातार चुनाव लडेका कतिपय नेताको यात्रा अपराजित देखिएको छ । केही भने जित्दै, बीचमा पराजित हुँदै पुन: जित हासिल गर्ने नेताका रूपमा चिनिएका छन् । कतिपय नेताको चुनाव क्षेत्र परिवर्तनसमेत भएको छ ।

इलाम क्षेत्र १ बाट पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको यसपालिको जित पाँचौं हो । यसअघि उनी ०४८, ०५१, ०६४ र ०७० मा यही क्षेत्रबाट विजयी भएका थिए । खनालले २०५६ मा मात्रै पराजय भोगे । त्यसबेला खनाल कांग्रेसका बेनुप प्रसाईंसँग ७० मत अन्तरले पराजित भएका थिए । एमाले नेता सुवास नेम्वाङले इलाम २ बाट चौथोपटक जितेका छन् । उनले जनआन्दोलनपछि पुन:स्थापित संसदको सभामुख र दुवै संविधानसभामा अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । एमाले अध्यक्ष केपी ओली झापा क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी २०६४ को पहिलो संविधानसभा चुनावबाहेक ०४८ यताका सबै चुनावमा निर्वाचित हुँदै आएका छन् ।

कांग्रेसका नारायण खड्का उदयपुरबाट यसपालि तेस्रोपटक विजयी भए । उनी ०६४ र ०७० को संविधानसभा चुनावमा पनि विजयी भएका थिए । यसैगरी, पाँचथरबाट एमालेका वसन्तकुमार नेम्वाङको यसपटकको जित तेस्रो हो । उनले कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेलाई पराजित गरे । यसअघि नेम्वाङ ०४८ र ०५६ को आमचुनावमा विजयी भएका थिए । २०५१ को मध्यावधि चुनावमा भने उनी कांग्रेसका दीपकप्रकाश बाँस्कोटासित पराजित भएका थिए ।

 

जितमा विराम

पटक–पटक जित्दै आएका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला यसपालि भने राप्रपाका उम्मेदवारसित पराजित भए । उपचुनावसमेत गरी सिटौलाले यसअघि ६ पटक विजय प्राप्त गरेका थिए । २०४८ मा भने झापा १ मा एमालेका द्रोणाचार्य क्षत्रीसँग ५ हजार मतले पराजित भएका थिए । कार्यकाल पूरा नभएकै अवस्थामा क्षत्रीको निधन भएकाले उपचुनाव भएको थियो । त्यसबेला सिटौलाले एमालेका लीला उदासीलाई पराजित गरेका थिए । कांग्रेस नेता बलबहादुर केसी हिमाली जिल्ला सोलुखुम्बुबाट छैटौंपटक चुनावी प्रतिस्पर्धा थिए तर उनी यसपटक पराजित भए । यसअघि दुईपटक निर्वाचित कांग्रेस नेताहरू शेखर कोइराला र महेश आचार्यले पनि पराजय भोगेका छन् । उनीहरू मोरङ ६ र ४ बाट वाम गठबन्धनका उम्मेदवारसित पराजित भए ।

 

नयाँसँग पुराना पराजित

कांग्रेसको विरासत मानिँदै आएको मोरङ २ मा कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजाल विजयी भएका छन् । उनले यसअघि यही क्षेत्रबाट निर्वाचित एमालेका ऋषिकेश पोखरेललाई पराजित गरे । समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्दै आएका रिजाल चुनावी प्रतिस्पर्धामा पहिलोपटक उत्रिएका थिए । यसअघि पोखरेलले संविधानसभाको दोस्रो चुनावमा कांग्रेसका आमोद उपाध्यायलाई पराजित गरेका थिए । मोरङ ३ मा विजयी एमालेका भानुभक्त ढकाल पनि यस क्षेत्रका लागि नयाँ हुन् । तेह्रथुमबाट समानुपातिकमा प्रतिनिधित्व गर्दै आएका उनी यसपालि चुनावी प्रतिस्पर्धामा उत्रन यो क्षेत्र आएका थिए । उनले कांग्रेसकै नयाँ अनुहार सुनील शर्मालाई पराजित गरे ।

मोरङ ४ बाट कांग्रेसका चर्चित नेता महेश आचार्यलाई माओवादीका अमनलाल मोदीले पराजित गरे । मोदी यसअघि समानुपातिकतर्फबाट चयन भएका थिए । यसपालि चुनावी प्रतिस्पर्धामा उत्रेका मोदीले पटक–पटक जित्दै आएका आचार्यलाई पराजित गरेका हुन् । पहिलोपटक गृहजिल्लाबाट चुनावी प्रतिस्पर्धामा उत्रेका एमाले सचिव योगेश भट्टराईले पनि जित हासिल गरेका छन् । काठमाडौंबाट दुईपटक पराजित भएका उनले तेस्रो प्रयासमा संसद् भवन पुग्ने अवसर पाएका हुन् । भट्टराईले कांग्रेसका केशवप्रसाद दाहाललाई पराजित गर्दै विजय हासिल गरे ।

 

‘नेतृत्वकै कारण पराजय’
प्रतिनिधि र प्रदेशसभा चुनावमा पार्टीले अनपेक्षित हार बेहोर्नुपरेको भन्दै कांग्रेसका जिल्ला सभापतिहरूले यसको गम्भीरतापूर्वक समीक्षा गरिनुपर्ने माग गरेका छन् । प्रतिस्पर्धी पार्टीहरू एक भएर चुनावमा सशक्त रूपले होमिएका बेला पार्टी यसअनुसारको तयारी गर्न चुकेको उनीहरूको बुझाइ छ । समयको मागअनुसार पार्टी नेतृत्व सशक्त हुन नसकेको भन्दै उनीहरूले यसैअनुसार अब विकल्प खोज्नुपर्ने बेला आएको धारणा राखेका छन् ।
केन्द्रीय नेतृत्व परम्परागत रूपमा चलेकाले चुनावमा पार्टीलाई ठूलो क्षति भएको भन्दै नेताहरूले अब नयाँ ढंगले अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । कमजोरी र अन्तर्घातका कारण कांग्रेसको आधारभूमि मानिएको मोरङलगायत प्रदेश १ मा बलियो मानिएका उम्मेदवारले पराजय भोग्नुपरेको उनीहरूको बुझाइ छ । 
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले चुनावी परिणामको समीक्षा गर्न तत्कालै केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बताएका छन् । त्यसमा विस्तृत समीक्षा गरेपछि महासमिति बैठक बोलाएर त्यसले गर्ने निर्णयअनुसार अघि बढ्नुपर्ने उनले बताए । ‘त्यसपछि आवश्यक पर्‍यो भने विशेष अधिवेशन पनि बोलाउनुपर्ने हुन सक्छ,’ कोइरालाले भने ।
चुनावका बेला वाम गठबन्धनले स्थिर सरकार दिन्छ भन्ने कुराले जनमानसमा बेग्लै छाप परेको उल्लेख गर्दै उनले तर कांग्रेस नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको कुनै औचित्य साबित हुन नसकेको देखिएको बताए । जिल्लापिच्छे पार्टीले पराजय भोग्नुपर्ने अवस्थाको पृष्ठभूमिमा बेग्लाबेग्लै ‘फ्याक्टर’ कारक रहेको भन्दै कोइरालाले यसका लागि पनि वडादेखि जिल्ला र क्षेत्रतहसम्म समीक्षा गरिनुपर्नेमा जोड दिए ।
इलाम कांग्रेस सभापति हिमालय कर्माचार्य यसपटकको चुनावको परिणामका कारण सम्पूर्ण पार्टीपंक्तिले गम्भीर भएर समीक्षा गर्दै आगामी रणनीति तयार पार्नुपर्ने बताउँछन् । ‘केन्द्रीय नेतृत्व सशक्त हुनुपर्छ भन्ने समयको माग हो,’ उनले भने, ‘विशेष अधिवेशन बोलाएर गहन छलफल गरी अब विकल्प खोज्नुपर्ने बेला आइसकेको छ ।’
नेतृत्व सक्षम र सबल हुन नसकेको कुरा लामो समयदेखि उठदै आएको भन्दै कर्माचार्यले अब झन् यो विषयलाई प्राथमिकतासाथ पार्टीमा बहस चलाउनुपर्ने अवस्था आएको बताए । पार्टीले अब सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै संगठनात्मक सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने उनको मत छ ।
वाम शक्तिहरू एक भएको सन्दर्भमा अहिले आएको परिणाम स्वाभाविक भएको झापा कांग्रेसका सभापति उद्धव थापाको बुझाइ छ । तर यस्तो परिणाम आउनेवाला छ भन्ने बुझेर पनि नेतृत्वले ‘नजरअन्दाज’ गरेको उनले बताए । ‘एकातिर वामपन्थीहरू एक भएर अघि बढे,’ थापाले भने, ‘हाम्रोमा भने पार्टीभित्रै अन्तर्घात गर्ने पुरानो रोग यसपालि पनि देखियो ।’
पार्टीको तल्लो तहभन्दा बढी केन्द्रीय नेतृत्वमा देखिएको लडाइँ र टकरावका कारण अन्तर्घात बढी देखिएको थापा बताउँछन् । ‘कमजोरी पत्ता लगाएर सुधार नगरी नहुने अवस्था आएको छ,’ उनले भने, ‘पुरानो तरिकाले होइन अब पार्टी संगठनलाई कसरी जीवन्त बनाउन सकिन्छ भनेर गहन छलफल गरी अघि बढ्नुको विकल्प छैन ।’ 

प्रकाशित : मंसिर २७, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?