कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ को राजधानी कहाँ ?

दाबी गर्दै विभिन्न स्थानमा प्रदर्शन
कान्तिपुर टिम

विराटनगर — प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने यकिन नहुँदा अन्योल बढेको छ । विराटनगर, इटहरी वा अरू कुनै स्थान राजधानी बन्ला भन्ने अन्योल भएकै अवस्थामा विभिन्न जिल्लामा राजधानी बनाइनुपर्ने मागसहित प्रदर्शन भएका छन् ।

प्रदेश १ को राजधानी कहाँ ?

धनकुटालाई प्रादेशिक राजधानी बनाइनुपर्ने माग राख्दै दिनहुँजस्तो प्रदर्शन भइरहेको छ । राजनीतिक दल, पेसाकर्मीलगायतले पूर्वाधारयुक्त भएको भन्दै धनकुटालाई राजधानी बनाइनुपर्ने माग गरेका हुन् ।

अर्कोतिर सबैखाले पूर्वाधार भएको भन्दै प्रादेशिक राजधानी विराटनगरलाई नै बनाइनुपर्ने माग गरिएको छ । उद्योगी–व्यवसायी, राजनीतिक दल र अन्य संस्थाले औद्योगिक एवं आधुनिक राजनीतिको अगुवा भएकाले विराटनगर राजधानीका लागि उपयुक्त भएको बताएका छन् । यसैगरी धरानका बासिन्दाले पनि पूर्वाधार पहिल्यै तयार रहेकाले राजधानी बनाइनुपर्ने माग गरिरहेका छन् । उता, सुनसरीकै इटहरीमा राजधानी राख्नुपर्ने माग पनि उठिरहेको छ । राजधानी कहाँ रहने भन्ने तय हुन नसक्दा यही विषयलाई लिएर विभिन्न जिल्ला र स्थानका बासिन्दा आन्दोलनमार्फत दबाब दिइरहेका छन् ।

प्रादेशिक राजधानी कहाँ होला भन्ने अन्योलबीच १ नम्बर प्रदेशको राजधानीका लागि सरकारले विराटनगर, इटहरी, धरान र धनकुटामा आवश्यक भौतिक संरचनाको अवस्थाबारे लगत संकलन गरेको छ । मन्त्रालय र मन्त्रीका लागि निवास, मुख्य सचिवको कार्यालय, सचिवालयका लागि आवश्यक भवन सहरी विकास मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरूको समन्वयमा सरकारी कार्यालयका भवनको अवस्थाबारे अध्ययन भइसकेको छ ।

‘भौतिक पूर्वाधारको अवस्थाबारे अध्ययन भइसकेको छ,’ मोरङका प्रजिअ रामप्रसाद आचार्यले भने, ‘माथिबाट केही निर्देशन नआए पनि हामी तयारी अवस्थामा छौं ।’ मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयका भवनको समेत प्राविधिक टोलीले अध्ययन गरेको थियो । मन्त्रालय, आवास, मुख्य सचिवसहित प्रदेशसभाका लागि आवश्यक भवनसमेत एकै स्थानमा रहेकाले त्यसलाई पनि सम्भावित स्थानका रूपमा हेरिएको थियो । तर विश्वविद्यालयले आउँदो वर्षदेखि चिकित्साशास्त्र अध्यापन सुरु गर्ने तयारी गरेकाले राजधानी बस्ने सम्भावना नदेखिएको एक सरकारी अधिकारीले बताए ।

विराटनगरका ११ सरकारी कार्यालयको विवरण पठाइएको छ । केन्द्रबाट माग भएपछि विराटनगरमा रहेका कार्यालयको विवरण पठाइएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले पठाएको हो । मुख्यमन्त्रीको कार्यालय र निवासका लागि क्षेत्रीय खाद्य प्रविधि तथा अनुसन्धान प्रयोगशाला, प्रदेश प्रमुखको सचिवालय र निवासका लागि क्षेत्रीय कृषि विकास कार्यालय, मुख्य सचिवको कार्यालय र निवासका लागि क्षेत्रीय सिँचाइ निर्देशनलयका भवन पर्याप्त रहेको विवरण पठाएको छ । यसैगरी इटहरी आसपासको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका भवन, क्षेत्रीय माटो अनुसन्धान केन्द्र झुम्का, जुट विकास केन्द्रलगायत भवनको विवरण संकलन गरिएको थियो ।

राजधानी माग्दै आन्दोलन
धनकुटा– प्रदेश १ को राजधानी धनकुटा कायम गरिनुपर्ने माग राख्दै आन्दोलनरत पक्षले सोमबार आहान गरेको आमहडतालले जनजीवन दिनभर प्रभावित बन्यो । बिहान सबेरैदेखि सडकमा उत्रिएका बन्दकर्ताले विशेषगरी यातायात, बजार, पसल, शिक्षण संस्था, कलकारखाना बन्द गराएका थिए । कोसी राजमार्गको धरान–धनकुटा खण्डमा कयौं सवारी साधन दिनभर रोकिएका थिए ।
मोटरसाइकलसमेत चल्न नदिँदा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको थियो । धनकुटा नगरपालिका ७ स्थित जिरो प्वाइन्ट, ढाट, फोकलेन्ड टापुलगायत स्थानमा बन्दकर्ताले दिनभर प्रदर्शन गरे । उनीहरूले मोटरसाइकलसमेत चल्न दिएनन् । धनकुटा भएर भोजपुर, संखुवासभा, तेह्रथुम सञ्चालन हुने सवारी पनि बन्दकर्ताले चल्न दिएनन् । प्रेस, एम्बुलेन्सलगायत अत्यावश्यक सवारी सञ्चालनमा भने अवरोध नगरेको संघर्ष समितिका संयोजक उमेश घिमिरेले जनाए ।

राजधानीको माग गर्दै आएका स्थानीयले धनकुटामा चार दिनदेखि प्रदर्शन गर्दै आएका छन् । पर्याप्त पूर्वाधार रहेको तथा राणाकालदेखि नै पूर्वको मुख्य प्रशासनिक थलोका रूपमा स्थापित जिल्लालाई प्रदेश राजधानी कायम गरिनुपर्ने मुख्य माग रहेको धनकुटा नगरपालिका ३ का वडाध्यक्ष विकाश घिमिरेले बताए ।

‘पर्याप्त पूर्वाधार’
धरानमा पनि राजधानीको माग बढेको छ । यसअघि यहाँ सारिएका क्षेत्रीय स्तरका दर्जन सरकारी कार्यालयको क्षतिपूर्ति भर्पाइस्वरूप धरानलाई राजधानी बनाउनुपर्ने माग गरिएको छ । केन्द्रीय तहमा पकड नभएको अवस्थामा धरानबाट धेरै सरकारी कार्यालय अन्यत्र सारेको उल्लेख गर्दै भौतिक पूर्वाधार, हावापानी र भौगोलिकताका आधारमा प्रदेश १ को राजधानी धरान उपयुक्त भएको दाबी गरिएको छ । स्थानीय सरोकारवाला र दलीय प्रतिनिधिले निर्णय गरेपछि धरान उपमहानगरमा सोमबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले क्षतिपूर्तिस्वरूप प्रदेश नम्बर १ राजधानी धरान नै उपयुक्त भएको दाबी गरिन् ।

‘कुनै समय कोसी अञ्चलको सदरमुकाम धरान थियो, त्यस बेलादेखि हालसम्ममा धरानमा रहेका क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा सारियो । राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय कार्यालय विराटनगर पुर्‍याइयो,’ उनले भनिन्, ‘प्रमाणपत्र तहसम्म अध्ययन हुने मेडिकल कलेज काठमाडौंमा सारियो ।’ नापतौल तथा गुण नियन्त्रण विभागको क्षेत्रीय कार्यालय विराटनगर, क्षेत्रीय अस्पताल विराटनगर, अञ्चल अदालत ०४६ सालपछि पुनरावेदन अदालत भएपछि विराटनगर सारिएको भन्दै उनले अब यसको क्षतिपूर्तिबापत राजधानी कायम गरिनुपर्ने बताइन् ।

प्रकाशित : पुस ४, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?