कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकतालाई सार्थक निष्कर्ष दिन अध्यक्ष दाहाललाई आग्रह

काठमाडौं — युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

एकतालाई सार्थक निष्कर्ष दिन अध्यक्ष दाहाललाई आग्रह


अध्यक्ष दाहालको निवास लाजिम्पाटमा मंगलबार बधाई तथा धन्यवाद ज्ञापनका लागि पुगेका दुवै युवा संगठनको संयुक्त टोलीले राष्ट्रिय आवश्यकता र जनचाहनाका आधारमा निर्माण भएको वाम गठबन्धनले करिब करिब दुई तिहाइ स्थानमा विजय हासिल गरेकाले त्यसलाई सार्थक निष्कर्षमा पुर्‍याउनसमेत पार्टी एकतालाई टुंगो लगाउनुपर्नेमा जोड दिएको हो । एकतामा नै बल हुन्छ भन्ने मान्यताका आधारमा नेकपा (एमाले) र माओवादी केन्द्रको संयुक्त गठबन्धनले निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको भन्दै युवा संगठनले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नेतृत्व लिनसमेत अध्यक्ष दाहाललाई आग्रह गरेका हुन् ।
नेपाली जनताले जनमतबाट वाम गठबन्धनलाई अनुमोदन गरेको भन्दै उनीहरुले एकताका लागि सार्थक संवाद गर्न र त्यसलाई निष्कर्षमा पुर्‍याउन अनुरोध गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
युवा संगठनको बधाई ग्रहण गर्दै अध्यक्ष दाहालले वाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले त्यसलाई संस्थागत गर्ने र त्यसको प्रयास भइरहेको धारणा राखे । जनताले दिएको अभिमत ऐतिहासिकरुपमा जनताको सम्पत्ति बनिसकेको चर्चा गर्दै उहाँले एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सबैको साथ र सहयोग जरुरी रहेको बताए ।
जनताले शान्ति, राजनीतिक स्थिरता, आर्थिक समृद्धिका लागि वाम गठबन्धनलाई मत दिएकाले जनताको अपेक्षालाई पूरा गरेर जान आफूहरुले कुनै पनि कसर बाँकी नराख्ने उनको भनाइ थियो । देशलाई समृद्ध र सबल बनाएर युवा नेतृत्वलाई देशको जिम्मा दिने मनसायमा आफूहरु रहेको भन्दै अध्यक्ष दाहालले एकाध वर्षमा नेपालको मुहार फेरिने विश्वास व्यक्त गरे ।
युवा संघ नेपालका अध्यक्ष राजीव पहाडीले जनताको माग र भावनालाई सम्बोधन गर्दै सार्थक एकताको पहल गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन युवा संगठनले खेलेको भूमिकालाई राष्ट्र निर्माणमा प्रयोग गर्न आफूहरु सधैँ इच्छुक रहेको वाइसिएलका अध्यक्ष सापकोटाको भनाइ थियो ।

प्रकाशित : पुस ४, २०७४ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?