कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अव्यवस्थित बसोबास बढ्यो

शिल्पा कर्ण

काठमाडौं — तारकेश्वर नगरपालिकाको विभिन्न स्थानमा मनपर्दी प्लटिङ भएको छ । प्लटिङका कारण खेतीयोग्य जमिन नासिएर अव्यवस्थित बसोबास बढिरहेको तर्फ स्थानीय निकायले ध्यान पुर्‍याउन सकेको छैन ।

अव्यवस्थित बसोबास बढ्यो

तारकेश्वर नगरपालिकाको फुटुङमा केही दिनअघि नजिकको डाँडा सम्याएर प्लटिङ गरिरहेको देखिएपछि मौखिक चेतावनी दिएको १ नं वडाध्यक्ष विदुर सापकोटाले बताए । ‘त्यतिले समेत काम नरोकिएपछि उपत्यका विकास प्राधिकरणलाई पत्र लेखेको छु,’ सापकोटाले भने । 

यो स्थानमा मात्र होइन, नगरपालिकाका अन्य स्थानमा समेत अनधिकृत प्लटिङ गरिएको छ । वडा नं ७ मा पनि डाँडाको ठूलो भाग प्लटिङ गरी बिक्री गर्ने तयारी भइरहेको छ । काठमाडौंको काँठ र भित्री क्षेत्रमा हरियाली मासी अव्यवस्थित बस्ती बसाउने काम भइरहेको छ । आफूहरूले रोक्न पत्र लेख्दासमेत अटेर गर्ने नगरपालिकाका एक अधिकृतले बताए ।

‘गुन्डादेखि राजनीतिक पहुँच भएकाहरूले नै यस्ता काम गरेका हुन् । त्यसैले रोक्न चाहे पनि राज्य कमजोर भइरहेको छ,’ उनले भने । आँखैअगाडि प्लटिङ गरिएको जग्गा देख्दादेख्दै पनि कारबाही गर्न नसकिएको उनले बताए । स्थानीय बासिन्दा पछिल्लो एक दशकयता यो क्षेत्रमा अव्यवस्थित बस्ती निकै नै बढेको बताउँछन् । साङ्लाका ७३ वर्षीय रामकृष्ण खडकाले जनप्रतिनिधिले यस विषयमा चासो दिनुपर्ने बताए । 

‘हामी मरे त शंख फुक्ने ठाउँ पनि छैन, पशुपतिबाट शववाहन बोलाएर वाग्मती नै जानुपर्छ,’ खडकाले भने, ‘पहिले साङ्ले र सपनतीर्थको दोभान खोलामा शव जलाइन्थ्यो । अहिले बस्ती बसिसक्यो त्यहाँ जलाउन सकिन्न ।’ शवदाहका लागि दाउरा पाउन पनि मुस्किल छ । पहिला जंगल प्रशस्त हुँदा गाईवस्तु पाल्न र दाउरा–घाँसका लागि पनि कठिनाइ नहुने अवस्था थियो भने अहिले ती जंगल र खेत मासिइसके । 

तरकारीको पकेट क्षेत्रमध्ये एक मानिने तारकेश्वर नगरपालिकाका खेतमा अचेल ‘घर उम्रिने’ खडकाले टिप्पणी गरे । स्थानीय तहमा जनप्रतिनिधि आए पनि अव्यवस्थित बस्ती विस्तारलाई नियन्त्रण गर्न नसकेको स्थानीयको गुनासो छ । आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा विजयी हुनेले अव्यवस्थित सहरीकरण रोक्ने विषयमा सोच्नुपर्ने समय आएको बताउँछन् ५४ वर्षीय लालबहादुर पाण्डे । तारकेश्वर नगरपालिका वडा नं १ छापवासी पाण्डेको अनुभवमा कृषिलाई प्राथमिकता दिनुपर्नेमा झनै खेतीयोग्य जमिन मासिँदै गएका छन् । 

पाण्डेले भने, ‘कम्तीमा खेतीयोग्य ठाउँमा घर नबनाए हुने । तर मेरो जग्गा म जेसुकै गर्न पाउँछु भन्ने मनोवृत्ति हावी भएको देखिन्छ ।’ यस क्षेत्रमा खेतीको प्रशस्त सम्भावना रहेको उनले बताए । गोलभेँडा, प्याज, लसुन र अन्य तरकारी भरपूर उत्पादन हुने स्थानमा हरियाली माँसिदै गएकोतर्फ कसैले ध्यान नदिनु दु:खद रहेको उनको भनाइ छ । वडा नं १ का वडाध्यक्ष सापकोटा प्लटिङ गर्ने अधिकांशले स्थानीय तहलाई जानकारी नदिने र काम रोक्नु भन्ने पत्र पठाएपछि मात्र सम्पर्कमा आउने गरेको बताए । उनले भने, ‘हाम्रो वडामा भइरहेको प्लटिङका विषयमा हामीलाई नै जानकारी थिएन । पछि काम रोक्न भन्दा मात्र हाम्रो सम्पर्कमा आए ।’ धेरै यस्ता प्लटिङका जग्गा बिक्री भइसकेका छन्, कतिपयले घर पनि बनाइसके । यस्तोमा नगरपालिकामा भवन निर्माण अनुमति लिन आउँदा मापदण्ड नपुगेको बताउने गरिएको छ । जथाभाबी भवन निर्माण बढ्नाले प्राकृतिक विपत्ति निम्त्याउने गरेको उदाहरण पनि छन् । 

गत वर्ष भीरको हरियाली मासेर गरिएको प्लटिङले गर्दा माथिको पानीको भेलले फुटुङको सडक नै बगायो । ‘स्थानीय गुनासो गर्न आए, हामीले सहयोग पनि गर्‍यौं । तर यो प्राकृतिक सम्पदा नासेर अव्यवस्थित बसोबास बसाएको परिणाम हो,’ कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीले भने ।

नगरपालिकाको भवन निर्माण तथा सहरी योजना शाखा प्रमुख इन्जिनियर मिलन अर्यालले अव्यवस्थित बस्ती विस्तारलाई नियन्त्रण गर्नु चुनौती रहे पनि व्यवस्थित सहरीकरणका लागि कार्य थालिएको बताए । अहिलेसम्म नगरपालिकाले सिफारिस र उपत्यका विकास प्राधिकरणसँग अनुमति लिई एक जनाले मात्र प्लटिङ गरेको तथ्यांक छ । 

प्राधिकरणले तोकेको मापदण्डविपरीत धेरै स्थानमा प्रहरीको सहयोगले काम रोकिए पनि धेरै स्थानमा लुकीछिपी प्लटिङ भइरहेको स्विकार्दै अर्यालले भने, ‘जनप्रतिनिधि आएदेखि केही कडा भएको छ । यसलाई रोक्न हामी समिति बनाउने क्रममा छौं ।’ 

तारकेश्वरमा योजना सम्झौता
काठमाडौं– तारकेश्वर नगरपालिकाका वडामा योजना सम्झौता हुने क्रममा छन् । वडा नं ३ का वडाध्यक्ष मनोहरि तिवारीले आर्थिक वर्ष २०७४/७५ को बजेटबाट योजना तथा कार्यक्रममा योजना सम्झौता भइरहेको बताए । तिवारीले भने, ‘गत वर्षको बजेटले विभिन्न विकास निर्माणका कामहरू गर्‍यौं । यस वर्षको रकमले विद्यालयका लागि रकम निकासाजस्ता कार्य मात्र भएका छन्, कार्यको सुरुआत हुने क्रममा छ ।’ 

गत वर्षको बजेटबाट तीनपिप्लेदेखि चोगाउँसम्मको सडक निर्माण, अन्य ग्रामीण सडक स्तरोन्नति, तारकेश्वर खानेपानी ट्यांकी निर्माणजस्ता काम भएका छन् । वडा नं ९ का वडाध्यक्ष बलराम सिटौला पनि पुराना योजना तथा कार्यक्रमलाई निरन्तरता दिने कार्य भए पनि यस वर्षको बजेट खर्चेर कुनै काम नभएको बताउँछन् । ‘उपत्यका विकास प्राधिकरणबाट प्राप्त रकमले खोलामा मेसिनरी वाल लगाउने, बाटो ढलान गर्नेजस्ता काम भएको छ,’ सिटौलाले थपे, ‘यो आर्थिक वर्षका धेरै योजना सम्झौता भएको छैन ।’

११ नं वडाध्यक्ष बिन्दा बुढाथोकीले योजना सम्झौता गर्न आउने सूचना जारी गरेको र अब सम्झौता हुने बताइन् । यो वर्षको बजेटबाट वडामा महिलाका लागि कार्यक्रम गर्ने अन्तिम चरणमा रहेको जनाइन् । ‘पहिलेको बजेटबाट सोलार बत्ती हाल्ने, हीरापुरतिर सडक ढलान, नेपालटारदेखि शेषमतीसम्म पिच गरेका छौं,’ बुढाथोकीले भनिन् । महिलालक्षित कार्यक्रमलाई प्राथमिकता दिने ८ नं वडाध्यक्ष मनोजकुमार घिमिरेले बताए । सिलाई र ब्युटिसियनको तालिम दिने विषयमा छलफल भइरहेको उनले जनाए । गत वर्षको बजेटबाट शान्ति टोलको सडक, नागेश्वर मार्ग निर्माण सम्पन्न भइसकेको र वनदेवी मार्गको सम्झौता भइसकेको उनले बताए । ‘धेरैजसो सडक निर्माणका कामलाई नै प्राथमिकता दिएका छौं,’ घिमिरेले थपे, ‘यस वर्ष वडाका भित्री सडकको स्तरोन्नति र ढलान गर्नेछौं ।’

प्रकाशित : पुस ५, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?