१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

'राजनीतिक 'इन्ट्रेस्ट'मा संविधान र कानुनको व्याख्या'

काठमाडौँ — मा‌‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्वार्थका आधारमा संविधान, ऐन कानुनको व्याख्या भइरहेको भन्दै असन्तोष व्यक्त गरेका छन् ।

'राजनीतिक 'इन्ट्रेस्ट'मा संविधान र कानुनको व्याख्या'

नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा बिहीबार दिउँसो गरेको कार्यक्रममा बोल्दै दाहालले राजनीतिक 'इन्ट्रेस्ट'को आधारमा संविधान र कानुनको व्याख्या भइरहे पनि यस्ता विवाद, बहस जनताले गरेको फैसलाअघि अर्थहीन हुने बताए । 'नेपालको स्वाधिनता र भौगोलिक अखण्ताबाहेक सबै विषय परिवर्तन गर्न सकिन्छ भन्ने संविधानमै उल्लेख छ, त्यसकारण अन्य ऐन, कानुनहरु जनताका फैसला अगाडि सामान्य हुन् । तर पनि बहस चलिनै रहन्छ' उनले भने, 'यी सामान्य बहसले स्थायित्व र विकासको लागि जनताले गरेको फेसलालाई उल्ट्याउन सक्दैन ।' प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि नयाँ जनमतअनुसार सरकार गठनमा देखिएको विवादप्रति लक्षित गर्दै दाहालले उक्त धारणा राखेका हुन् ।

नेपाली कांग्रेस राष्ट्रियसभा गठनपछि सरकार फेर्नुपर्ने बताइरहेको छ भने वाम गठबन्धनमा आवद्ध एमाले, माओवादी केन्द्रले राष्ट्रियसभाबिनै सरकार गठन गर्न सकिने बताउँदै आएका छन् । दलहरुबीचको असमझदारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश भने राष्ट्रपति कार्यालयमा अड्किएको छ ।

निर्वाचनपछि नेपाली समाज स्थायित्व र समृद्धिको नयाँ युगतिर जान थालेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले त्यसको नेतृत्व गर्ने अवसर आफूहरुलाई आएको बताए । मुलुकलाई राजतन्त्रबाट गणतन्त्रसम्म ल्याउने, शान्ति प्रक्रिया, स‌‌ंविधानसभाबाट स‌ंविधान जारी गर्ने, निर्वाचनमार्फत् संविधान कार्यान्वयन गराउन नेतृत्वको अवसर आफूलाई मिलेको भन्दै उनले अब समृद्ध, स्थायित्वसहितको नयाँ नेपाली समाज निर्माण गर्ने अभियानमा लागिपर्ने बताए । 'युद्ध र शान्ति दुवैको नेतृत्व गर्ने अवसर जनताले मलाई दिए । संविधान निर्माण र कार्यान्वयनमा पनि मैले नेतृत्वदायी भूमिका खेलें' उनले भने, 'अब नेपालको स्थिरता, विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ, त्यो जिम्मेवारी पनि पूरा गर्छु ।'

निर्वाचनमा बहुमतसहित वाम गठबन्धनको काँधमा सबभन्दा ठूलो जिम्मेवारी आएको भन्दै दाहालले जनताले दिएको जिम्मेवारीलाई गम्भीर रुपमा आत्मसात गरिने बताए । 'हामीले वामपन्थी गठबन्धन बनाएर निर्वाचन लड्यौं । जनताले वाम समीकरण र पार्टी एकतालाई अनुमोदन गरेका छन्' अध्यक्ष दाहालले भने, 'अब हामी इमान्दार भएर अगाडि बढ्नुपर्छ । जटिलता चिर्दै अघि बढ्नेछौं ।'

प्रकाशित : पुस ६, २०७४ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?