कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

घूस लिने अधिकारी नै भन्ने गर्थे–‘सन्तोषम् परम सुखम्’

कम्पनीको कारोबार र खाता फुकुवा गर्न म्यानपावर व्यवसायी घूस बुझाउन राजी भएपछि वैदेशिक रोजगार विभागका अधिकृतले आफूहरुले व्यवसायीको अप्ठेरो र पीरमर्का बुझ्ने भन्दै आफ्नो अप्ठेरो र पीरमर्कासमेत व्यवसायीहरुले ‘बुझाउनुपर्ने’ अर्ती दिए । 

काठमाडौँ — डेढ वर्षअघि अबुधावीमा पठाएका कामदार ६ महिनामै अस्वाभाविक रूपमा फर्केपछि वैदेशिक रोजगार विभागले एसआरएस म्यानपावरको कारोबार र खाता रोक्का गर्‍यो । केही समय रेडकर्नर नोटिससमेत जारी भयो । व्यवसाय नै रोकिएपछि मुलुकबाहिर रहेकी एसआरएसकी सञ्चालक शुभद्रादेवी बराल नेपाल आइन् ।

घूस लिने अधिकारी नै भन्ने गर्थे–‘सन्तोषम् परम सुखम्’

अबुधावीस्थित हमाया कम्पनीबाट बीचैमा फर्केका ५० जना पीडित कामदारसँग क्षतिपूर्तिको सम्झौता गरिन् । त्यसपछि आफ्नो कम्पनीको कारोबार र खाता फुक्का गर्न विभागमा निवेदन दिइन् । पटक पटक आग्रह गर्दा पनि विभागका अधिकारीले उनका कुरै सुनेनन् ।

***

प्रशासनिक प्रक्रियाबाट आफ्नो माग सम्बोधन हुने नदेखेपछि बरालले २०७३ चैत २० गते विभागका अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिन् । सर्वोच्चले २०७४ जेठ २ मा रोक्का राखिएको एसआरएस मेनपावर कम्पनीको कारोबार र खाता फुक्का गरिदिनू भनी अन्तरिम आदेश दियो । सर्वोच्चबाट जारी अन्तरिम आदेशको पत्र बोकेर बराल विभाग पुगिन् तर पनि महानिर्देशकसहित विभागका अधिकारीले उनको गुनासो सुनुवाइ गरेनन् । यतिसम्म कि, उनले दिएको निवेदनसमेत दर्ता भएन ।

पटक पटकको आग्रह कसैले नसुनेपछि बरालले विभागका अधिकृत कृतिबल्लभ पौडेललाई भेटिन् । उनले सोझै १५/१६ लाख रुपैयाँ माग गरे । त्यसपछि बरालले महानिर्देशक विश्वराज पाण्डेलाई भेट्न खोजिन् । पाण्डेले भेट्न नमानेपछि वैदेशिक रोजगारकै क्षेत्रमा कार्यरत सुष्मा खत्रीले पाण्डेलाई भेटाइदिन पहल गरिन् । उनीहरूको कुराकानीअनुसार कात्तिक २७ गते बिहान ८ बजे महानिर्देशक पाण्डेलाई घरमै गएर भेट्ने तय भयो ।

***

सुष्मा र शुभद्रा समयमै महानिर्देशक पाण्डेको निवासमा पुग्नुपर्नेमा केही ढिला गरे । आफूले बाहिर नभेट्ने भन्दै पाण्डेले भोलिपल्ट समयमै आउन आग्रह गरे । भोलिपल्ट सुष्मा एक्लै पाण्डेलाई भेट्न चावहिलस्थित अम्बे अपार्टमेन्ट पुगिन् ।

गेटमा पुगेपछि सुरक्षागार्डले खानतलासी गरे । हाकिमसा’पको आदेश भन्दै सुरक्षागार्डले सबै मोबाइल र अरू सामान आफूले राखिदिने भन्दै रित्तै जान आग्रह गरे । त्यसपछि सुष्मा खत्रीले महानिर्देशक पाण्डेलाई भेटिन् । त्यसपछि कुराकानी सुरु भयो ।

***

सुष्मा : निकै दु:ख पाइयो सर । मिलाइदिनुपर्‍यो । कृति सर (अधिकृत कृतिबल्लभ पौडेल) ले धेरै नै भन्नुभयो । टुवेल्भ (बाह्र लाख) घटी नहुने रे ।

महानिर्देशक पाण्डे : त्यो कृति के भाको होला है ? हुन त तपाईं (म्यानपावर) को २ पटक अनुगमन फेल हो । यो तेस्रोपटक हो । त्यही भएर होला । टेन (१० लाख) गर्नू ।

सुष्मा : सर एट (आठ लाख) गरिदिनू न ।

महानिर्देशक पाण्डे : टेनमा फाइनल भयो । कृतिलाई भेट्नू । टेन (दस लाख) है त ।

***

कुराकानी सकिएपछि सुष्मा महानिर्देशकको निवासबाट बिदावारी भइन् । दुईपटक अनुगमनमा असफल भएको र तेस्रोपटक असफल भए लाइसेन्स नै खारेज हुने भन्दै महानिर्देशक पाण्डेले त्यसैले अनुगमन अधिकृत पौडेललाई गाह्रो भएको गुनासो गर्दै थिए । सुष्माको मेनपावर एसआरएसको फाइल अनुसन्धान गर्न अधिकृत पौडेललाई नै जिम्मेवारी दिइएको थियो । कुराकानी सकिएपछि महानिर्देशक पाण्डे वैदेशिक रोजगार विभाग पुगे । त्यहाँ उनको भेट कृतिबल्लभ पौडेललगायतसँग भयो । पूर्वयोजनाअनुसार सुष्मा र शुभद्राले विभागका अधिकृत पौडेललाई फोन गरे । पौडेलले सुष्मा र शुभद्रासित हालखबर सोधे ।

***

कृतिबल्लभ : के छ दिदी, सन्चै हुनुहुन्छ ?

शुभद्रा : ठिकै छ, तपार्इंहरूले गर्दा नपाउनु दु:ख पाइयो । डीजी सरसँग कुरा भएको छ, भनेको हुन्छ । अब मिलाउनुपर्‍यो ।

कृतिबल्लभ : दिदीले सहयोग गर्नुभएको भए पहिल्यै काम हुने थियो । हामी त सन्तोष नै गरेर बसेका छौं । तपाईंलाई अप्ठेरो पर्दा हामीले हेर्ने हो । हामीलाई अप्ठेरो पर्दा तपार्इंहरूले हेर्ने हो । सन्तोषम् परम सुखम् भनेकै छ । काम हुन्छ चिन्ता नलिनू ।’

शुभद्रा : म आउन्नँ, कसैलाई पठाइदिन्छु, त्यतै मिलाउनू है ।

***

यातायात व्यवस्था विभागका नायब सुब्बा खड्गबहादुर केसी कृतिबल्लभ पौडेलमातहत काम गर्छन् । दुवैजना कीर्तिपुरमा बस्ने भएकाले केसी नै दिनहुँ कृतिबल्लभलाई मोटरसाइकलमा बोकेर अफिस पुग्ने/फर्कने गर्थे । कुनै काम परेमा दुवैजना सँगै हिंड्थे ।

धर्मकर्ममा रुचि राख्ने सुब्बा खड्गबहादुरले त्यस दिन मंगलबारको व्रत भएकाले केही खाएका थिएनन् । कृतिबल्लभ पनि भोकै थिए । दुवै जना सुरक्षित ठाउँ खोज्दै बानेश्वर इन्द्रेणी रेस्टुरेन्टको सुनाखरी हलमा पुगे । झुक्किएर कृतिबल्लभलाई भेज सुप पर्‍यो भने उनलाई मगाएको चिकेन खाजा व्रत बसेका खडगबहादुरका भागमा पर्‍यो । अनिष्ट हुन खोजेको भन्दै खड्गबहादुरले केही खाएनन् । त्यसबीचमा उनीहरूले शुभद्रा र सुष्मालाई फोन गरेर ‘आफूहरूलाई हिंड्न ढिला भएकाले काम बनाउनुपर्ने भए छिटो आउनू’ भन्दै आफूहरूको लोकेसन दिए । भर्खरै आएका दुई जनाले कफी मगाए । केहीबेर कुराकानी भयो ।

खड्गबहादुरले आफूले बोकेको कालो झोला निकाले, जहाँ एसआरएस मेनपावरको अनुसन्धानको सक्कल फाइल नै थियो । दुवै जनाले १० वटा लाखको बिटो दिएपछि रकम समाउँदै खड्गबहादुरले कृतिबल्लभलाई झोलामा राख्न लगाए । सुनाखरीको गोप्य भेटघाटमा भने सुब्बा खड्गबहादुर अलि कडिकडाउ रूपमा प्रस्तुत भएका थिए । ‘तपाईंले हाकिमसापलाई सोझै भेटेको कि फोनमा मात्रै कुरा गरेको ?’ उनले केरकार गरिरहे । त्यसबीचमा अख्तियारको टोली पुगेर उनीहरूलाई रंगेहात पक्राउ गर्‍यो भने भोलिपल्ट महानिर्देशक पाण्डेसमेत पक्राउ परे ।

***

अवकाश पाउन एक साता बाँकी रहेका विभागका महानिर्देशक विश्वराज पाण्डे कपनको सबै सम्पत्ति बेचेर चावहिलको अम्बे अपार्टमेन्टमा बसोबास गरेका थिए । दुई छोरी अस्ट्रेलियामा रहेकाले अवकाश पाउनासाथ उनी पनि अस्ट्रेलिया जाने योजनामा थिए । वैदेशिक रोजगार व्यवसायीसँग सोझै डिल गर्न उनी आफ्नो अपार्टमेन्ट प्रयोग गर्थे । ‘भेट्न आउनेलाई गेटमै खानतलासी गरेर मोबाइल, झोलालगायत सबै उपकरण सुरक्षाकर्मीले तलै राखिदिएको हुन्थ्यो,’ अख्तियार स्रोतले भन्यो ।

कुराकानीका क्रममा अपार्टमेन्टमा गोप्य रूपमा राखिएको उपकरणमा रेकर्ड भएको दृश्य हेर्दा उनले बारम्बार दुई अर्थ लाग्ने र पूर्ण अर्थ नखुल्ने वाक्यको प्रयोग गरेका थिए । उनले मोलमोलाइमा पनि अंग्रेजीमा अंक उल्लेख गरेर मात्रै बोल्ने गरेको स्रोतले बतायो । पाण्डेले विभागमा आएलगत्तै वैदेशिक रोजगार कम्पनीहरूको अनुगमनसमेत ‘तीव्र’ पारेका थिए । पाण्डे २०७३ कात्तिकमा श्रम विभागबाट वैदेशिक रोजगार विभागमा सरुवा भएका थिए । उनलाई हटाउन यसअघिका दुई मन्त्रीले प्रयास गरे पनि राजनीतिक दबाबका कारण सम्भव भएको थिएन ।

दुई कर्मचारी पक्राउ परेपछि घरमा रहेका महानिर्देशक पाण्डे निकै बेचैन भएर सहकर्मीलाई बारम्बार फोन गरेको स्रोतले बतायो । त्यसपछि उनी आफैंले मन्त्रालयका सचिवलाई फोन गरेर ‘बिरामी परेकाले बिदा बस्ने’ भनी खबर गरेर मोबाइल स्विच अफ गरेका थिए । आफू बस्ने अपार्टमेन्टमा समेत उनले गार्डलाई कोही खोज्न आए छैन भन्दिनू भनेर कुरा मिलाउन खोजेका थिए । गत मंसिर ५ गते उमेर हदका कारण अवकाश पाउन लागेका सहसचिव पाण्डेसहित दुई कर्मचारीलाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

रंगेहात पक्राउ परेका अधिकृत कृतिबल्लभ पौडेल अख्तियारमै बसिसकेका चतुर कर्मचारी रहेको जानाकार बताउँछन् । घूस लिएपछि अख्तियार टोलीको घेरामा पर्नासाथ उनले आफ्नो औंठाछाप प्रयोग भएको हुन सक्ने आशंकामा बारम्बार हात पाइन्टमा दलेका थिए । घुमाउरो उत्तर दिने र सोझै जवाफ नदिएका कारण बयानका क्रममा उनलाई १ सय ७९ वटा प्रश्न सोधिएको छ । उनले १ सय १५ पेज लामो बयान दिएका छन् । अख्तियारपछि उनले यातायात व्यवस्था कार्यालय, वैदेशिक रोजगार विभागलगायत आकर्षक कार्यालयमा मात्रै सरुवा मिलाएको स्रोतले बतायो । अनुसन्धानकै क्रममा व्यवसायी शुभद्रा बरालले आफूले ६ लाख, १५ लाख, ५ लाखका दरले पटक पटक गरी विभागका कर्मचारीलाई रकम दिएको बताइन् ।


धरौटीमा रिहा

विशेष अदालतको आदेशमा १०/१० लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएपछि महानिर्देशक पाण्डेसहित अधिकृत पौडेल र सुब्बा केसी बिहीबार धरौटीमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले तीनै जनालाई १०/१० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।


प्रकाशित : पुस ७, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?