कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएकै हो : अध्यक्ष दाहाल

शिवपुरी

भरतपुर — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभा समानुपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तर्राष्ट्रिय रुपमा विद्यमान रहेको बताएका छन् । ‘अध्यादेशको बारेमा कुरा मिलेको छैन । संविधानले स्पष्ट रुपमा केही भनेको छैन,’ उनले भने, ‘विगतमा राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय विधिबाट हुने भनेर संविधानमै उल्लेख गरेको अवस्था थियो । यो पटक त्यस्तो छैन ।’

आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएकै हो : अध्यक्ष दाहाल

प्रेस सेन्टर चितवनले शुक्रबार भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले राष्ट्रियसभा अलि समावेशी र समानुपातिक गर्ने प्रचलन अन्तर्राष्ट्रियरुपमा पनि विद्यमान रहेको औंल्याएका हुन् । दाहालले भने,‘यस सन्दर्भमा खासगरी वाम गठबन्धनभित्र निकास कसरी निकाल्ने भन्ने विषयमा छलफल गरेका छौं ।’ उनले भैरहवाबाट फर्केर वाम गठबन्धनको बैठकबाट निकास निकाल्ने जानकारी दिए ।


दाहाल चितवनको कार्यक्रम सकेर शनिबार भैरहवा जान लागेका हुन् । प्रधानमन्त्री दुईजना पालैपालो हुने भन्ने समझदारी हो कि हैन भन्ने सञ्चारकर्मीको प्रश्नमा दाहालले भने,‘समझदारी धेरै भएका छन् । समझदारीका विषयमा त्यस्तो केही अप्ठेरो आएको पनि छैन । पार्टी एकता संयोजन समितिको बैठकले नै यसको अन्तिम टुंगो लगाउँछ । आलोपालोको तरिका अपनाउने भन्ने कुरा सिद्धान्तत: भएकै हो ।’


अहिले राष्ट्रियसभा निर्वाचनमा बहुमतीय विधि अंगाल्ने वा एकल संक्रमणीय विधिबाट भन्ने विवाद देखा परेको छ । सत्ता पक्षले एकल संक्रमणीय विधिबाट गर्ने अध्ययादेश पठाएको छ । तर राष्ट्रिपतिबाट स्वीकृत भएको छैन । पाँच दलको बैठकमा अध्ययादेश र अन्य राजनीतिक समजदारी बनाएर नयाँ जनादेश अनुसार सरकार गठन गर्ने विषयमा छलफल भए पनि निर्णय केही नभएको दाहालले बताए ।

‘यस्तो छलफल आवश्यक छ भनेर मैले नै बैठक बोलाउन प्रधानमन्त्री शेरबहादर देउवालाई भनेको हु,’ उनले भने,‘केही कुरामा समझदारी हुन सकेको छैन । चाँडै विवादित विषय टुंग्याउँछौं ।’ वाम गठबन्धनको पार्टी एकता संयोजक समितिको शुक्रबार बैठक बस्ने भन्ने समाचार सत्य नभएको उनले बताए । ‘बाहिर मिडियामा कति कुरा त्यत्तिकै बढी/बढी आइरहेका छन् । हिजो ओली जी र मेरो ६ घण्टा कुरा भयो भन्ने पनि आयो,’दाहालले भने,‘जब कि हिजो हैन आज केही बेर छलफल भएको हो ।’


दाहाल असन्तुष्ट

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले झर्को मानेका थिए । ‘पत्रकार साथीहरु म आज आए भोलि फेरी फर्कन्छु । पर्सि फेरि आउँछु । तपाई सधैं यसरी पत्रकार भेटघाट गर्नुभयो भने अप्ठेरो हुन्छ,’दाहालले भने,‘मलाई पनि हुन्छ । तपाईंहरुलाई पनि हुन्छ । महत्वपूर्ण बेलामा पत्रकार भेटघाट हुनु पर्‍यो ।’ एउटा खास/खास बेलामा वा सरकार गठनको बेला पत्रकार भेटघाट गर्न उनले सञ्चारकर्मीलाई आग्रह गरेका थिए ।

प्रकाशित : पुस ७, २०७४ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?