कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दै अशक्तका घर

विपन्न २ परिवारका सुरु अभियानले सार्थकता पायो

धरान — अशक्त पुण्यप्रसाद प्याकुरेल र ज्ञानबहादुर माझीको घर निर्माण गर्ने सपना केही महिनाभित्र पूरा हुँदैछ । मजदुरी गरेर जीविका चलाउने ३८ वर्षीय प्याकुरेल सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएपछि अशक्त छन् ।

बन्दै अशक्तका घर

माझी दुवै हात नचले पनि पत्रिका बेच्ने हकर भएर जीविका चलाउँदै आएका सुकुम्बासी हुन् । धरानका सञ्चारकर्मी र यातायात मजदुर संगठनको पहलमा उनीहरूको घर बन्दै गरेको हो । प्याकुरेलबारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले सञ्चार माध्यमबाट थाहा पाएपछि सामाजिक सञ्जालमा घर निर्माणका लागि आर्थिक सहयोग याचना गरेपछि रकम तथा जिन्सी जुट्न थालेको थियो ।

माझीका बारेमा सञ्चारकर्मी जनकऋषि राईले थाहा पाएपछि पाँच/सात लाख रुपैयाँ संकलन गर्न

सके सुकुम्बासी बस्तीमा सानो घर बनाइदिने भन्दै जुटेका छन् । प्याकुरेलको धरान १५ महादेवचोकनजिकै र माझीको धरान–११ को सुकुम्बासी बस्तीमा घर धमाधम बन्दै छ ।

प्याकुरेल घर निर्माण समिति संयोजकसमेत रहेका संगठनका केन्द्रीय अध्यक्ष भीमले भने, ‘सहयोगको अनुरोध गरेर केही महिनाअघि फेसबुकमा हालेको थिएँ । स्वदेश र विदेशमा बसेका साथीले विश्वास गरेर सघाएपछि गत सातामात्रै घर निर्माण काम सुरु भएको छ ।’

प्याकुरेलको घर निर्माणका लागि करिब ५ लाख रुपैयाँको इस्टिमेटमा हालसम्म नगद र जिन्सी गरी करिब चार लाख प्राप्त भएको उनले बताए । उनका अनुसार कतिपय सहयोग गर्ने घर निर्माणस्थलमै पुगेर सघाउन थालेका छन् । संखुवासभा बस्ने सन्तोष राईले ३५ हजार रुपैयाँको जस्तापाता, हिमाल राईले ६० हजारको इँटा, धरान १८ का वडाध्यक्ष प्रवीण राईले २० बोरा सिमेन्ट, मनकामना हार्डवेयर सञ्चालक नवीन राजभण्डारीले २० बोरा सिमेन्ट, केके इन्टरनेसनल स्कुलका अध्ययक्ष प्रवीण अग्रवालले २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी धरान १५ का अध्यक्ष नरेश इवारमले निर्माणस्थलमै पुगेर २५ हजार सहयोग गरे । महालक्षमी इलेक्ट्रोनिक्सका सञ्चालक भरत अग्रवालले ४० हजार बराबरको फ्रिज र टेलिभिजन, न्यु धरान आल्मुनियम एन्ड स्टील वर्कसपका प्रोपाइटर भुपाल राईले २४ हजार बराबरको झयाल निर्माण गरिदिने भएका छन् भने धरान ५ का अध्यक्ष सन्तोष लिम्बूले १४ हजार ५ सय ५ सहयोग गरेका छन् ।

पछिल्लो समयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख, मुटु र मृगौला रोग विशेषज्ञ डा. सञ्जीव शर्माले १० हजार रुपैयाँ प्रदान गरेका छन् । धरानका राजेश हार्डवेयरका सञ्चालक राजेश श्रेष्ठले १० हजार बराबरको पानी ट्यांकी प्रदान गरेका छन् । एमाले धरान कार्यवाहक अध्यक्ष नारायण सुवेदीले ५ हजार, धनपति दाहालले ५ हजार, युवासंघ नेपाल १ नम्बर प्रदेश सदस्य दिनेश बान्तावा राईले ६ हजार प्रदान गरे ।

हकर माझीका लागि करिब तीन लाखको बजेटमा घर निर्माण सुरु भएको छ । उनलाई वडा–१७ का वडाध्यक्ष मनोज भट्टराईले ४० हजार रुपैयाँ बराबरको जस्तापाता, व्यवसायी मनोज विष्टले १५ हजार बराबरको पानी ट्यांकी, धरान हङकङ मञ्चका पूर्वअध्यक्ष प्रदीप थापाले १० बोरा सिमेन्ट, धरान १८ का अध्यक्ष प्रवीण राईले नगद ५ हजार सहयोग गरेका छन् ।

माझीका लागि धरानका सञ्चारकर्मीले गत तिहारमा देउसी खेलेर संकलन गरेको सबै रकम सहयोग गरेको घर निर्माणका पहलकर्ता जनकऋषिले बताए । माझी र प्याकुरेलले आफू अशक्त भएपछि यतिकै जिन्दगी बित्ने भयो भनेर चिन्ता लिए पनि यातायात मजदुर संगठन र सञ्चारकर्मीको पहलमा घर बन्न लागेकामा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित : पुस ८, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?