कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समयमा किन छुट्दैनन् बस ?

ललितपुर — लगनखेल–चापागाउँ रूटमा चल्ने बस प्रत्येक ७/७ मिनेट अन्तरमा छुट्ने तालिका छ । यो ललितपुर मिनिबस व्यवसायी संघको औपचारिक तालिका हो । तर, यथार्थमा यी गाडी १५ मिनेटमा पनि छुटदैनन् । साँझपख चल्ने गाडी त झन् आधा घण्टासम्म रोकिन्छन् । पीडित यात्रीका अनुसार कसैले ढिलो भयो भनेर गुनासो गरे चालकले उल्टै झर्पाछन् र भन्छन्, ‘हतार भए झर्नुस् न त ।’

समयमा किन छुट्दैनन् बस ?

‘कार्यालय समयमा बस थप्ने गरेका छौं भन्छन्, तैपनि प्राय: प्याक भएर आउँछन्,’ गोदावरी नगरपालिका १२ की सुनिता महर्जनले भनिन्, ‘माइक्रोमा त टेक्ने ठाउँसमेत हुँदैन ।’ उनले स्थानीय तहका जनप्रतिनिधिले यातायातमा सुधार गर्ने आश्वासन बाँडेपनि कुरैमा सीमित रहेको दु:खेसो पोखिन् ।

बस समयमा नछुट्नेमात्र होइन, गन्तव्यमै नपुग्दा झनै समस्या हुने गरेको गुनासो गोदामचौरका राजु आचार्य गर्छन् । ‘साँझ लगनखेलबाट गोदामचौर र विशंखुनारायणका लागि छुट्ने बस ठैवचोकबाट फर्किन्छन्,’ उनले भने, ‘यात्रु हिँडेर घर पुग्न बाध्य छन् ।’ झरूवारासीकी कञ्चन केसीको कार्यालय साँझ ५ बजे छुट्छ । ‘काठमाडौंस्थित अफिसबाट लगनखेल पुग्दा झन्डै साढे ६ बजिसक्छ,’ उनले भनिन्, ‘त्यतिखेर लगनखेलबाट माइक्रो छुटिसक्छ ।’ गाडी भेटिए पनि थोत्रामा कोच्चिएर जान बाध्य हुने गरेको सुनाइन् ।

बस व्यवसायी संघका अनुसार कार्यालय समयमा लगनखेल–धापाखेल रुटमा ७ मिनेट, लगनखेल–दक्षिणकालीमा ४० मिनेट, लगनखेल–कीर्तिपुर र लगनखेल–लुभु मानेदोभानमा १०/१० मिनेट, नखिपोट–रत्नपार्कमा ७ मिनेट, ढोलाहिटी–रत्नपार्क २० मिनेट, हात्तिवन खरिबोट–रत्नपार्क ५ मिनेट र गोदावरी–लगनखेल १० मिनेटको अन्तरमा बस छुट्नुपर्ने कार्यतालिका छ । संघले तोकेको समयमा बस सञ्चालन गर्न लगनखेल, लेले, चापागाउँ, लुभु, बुंगमतीलगायतका बसपार्कमा ३४ कर्मचारी खटाइएका छन् । तर पनि बस चालकको मनोमानी रहेको पीडितको गुनासो छ । ललितपुर मिनिबस व्यवसायी संघका अध्यक्ष निररत्न नेवा भने बसहरू समयमै छुटिरहेको दाबी गर्छन् । ‘यसबारे समितिमा लिखित उजुरी परे बस चालकलाई जरिवाना गराउँछु,’ उनले भने ।

सीमित बस

संघले आफ्नो प्रत्येक साधारणसभामा जिल्लामा बस थप गर्ने घोषणा गर्दै आएको छ । तर कहिल्यै थप्दैनन् । बस अपुग हुँदा काँठ र सहरी क्षेत्रका यात्री झुन्डिएर कष्टकर यात्रा गर्न बाध्य छन् । दक्षिण दुर्गम पहाडी गाउँवासी दूध, तरकारी ढुवानी गर्ने गाडीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । लगनखेल–चापागाउँ–गिम्दी–चन्दनपुर–ठूलादुर्लुङ रूटमा ७८ बस सञ्चालनमा रहेको संघको दाबी छ । लगनखेल–धापाखेलमा ३२, लगनखेल–दक्षिणकालीमा ४, लगनखेल–कीर्तिपुरमा ७, लगनखेल–लुभुमा ७२, नखिपोट–रत्नपार्कमा २०, ढोलाहिटी–रत्नपार्क १०, हात्तिवन खरिबोट–रत्नपार्क २०, गोदावरी–लगनखेल ८०, लगनखेल–रत्नपार्क ६८ र लगनखेल–बुङमती–छम्पी–फर्सिडोल–टीकाभैरव रुटमा ६५ बस सञ्चालनमा रहेको संघले बताएको छ ।

प्रकाशित : पुस ९, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?