कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टी एकता रोकिँदैन : दाहाल

‘चुनावी परिणामपछि कांग्रेसले एकल संक्रमणीय कुरा उठायो’
विमल खतिवडा

चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकता नरोकिने बताएका छन् । बाँदरझुलामा सोमबार आयोजित कार्यक्रममा उनले एकतालाई निष्कर्षमा पुर्‍याउने अन्तिम तयारी भइरहेको दाबी गरे । चितवन ३ बाट विजयी उनले मतदातालाई धन्यवाद दिने क्रममा वाम एकता कसैले बिगारेर नबिग्रिने बताए ।

पार्टी एकता रोकिँदैन : दाहाल

‘पार्टी एकताका लागि हामी धेरै अघि बढिसकेका छौं, पछाडि फर्कने कुनै गुन्जायस छैन,’ उनले भने, ‘अगाडि बढेर नै सरकार बन्छ, शक्तिशाली एउटा कम्युनिस्ट केन्द्र बनेरै छाड्छ ।’ प्रतिपक्षलाई विश्वासमा लिई उनीहरूको सहयोगका साथ अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको उनले बताए । ‘मिडियामा हिजोआज कतिपय कुरा साह्रै झुटा आउन थालेका छन् । मिडियाकर्मी साथीहरू पनि सतर्क भइदिनुपर्‍यो,’ उनले भने, ‘सबै मिडियालाई त्यस्तो भन्न खोजेको होइन, जनताका अघि जे प्रतिबद्धता गरेका छौं, त्यो पूरा गरेरै छाड्छौं ।’

राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन बनाउने कुराले अहिले सरकार गठनमा केही ढिलाइ भइरहेको उनले बताए । ‘संसद् भंग हुनुअघि नै त्यो ऐन बन्नुपथ्र्यो, विधेयक पारित हुनुपथ्र्यो, तर त्यतिबेला समयको पनि चाप पर्‍यो, छलफल त हुँदै थियो । सहमतिनजिक हामी पुगेका पनि थियौं, राष्ट्रिय सभाको निर्वाचन कसरी गर्ने भन्ने विषयमा कांग्रेस, एमाले र माओवादी सबैको एउटै मत थियो,’ उनले भने, ‘बहुमतीय प्रणालीद्वारा राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने सहमति भएर निर्वाचन आयोगले त्यो विधेयक मस्यौदा गर्‍यो अनि मन्त्रिपरिषद्मा आयो ।’

त्यसबेला र अहिले पनि मन्त्रिपरिषद्मा माओवादी रहेको उनले बताए । ‘त्यहाँ (मन्त्रिपरिषद्) पनि ३ दलको सहमति थियो, त्यसकै आधारमा निर्वाचन आयोगले दिएको विधेयकलाई सदनमा पठायौं, सदनमा सामान्य छलफल भएर राज्यव्यवस्था समितिमा गयो, त्यहाँ पनि सर्वसम्मत बहुमतीयबाटै गर्ने भन्ने निर्णय भयो,’ उनले भने । ‘फुल हाउस’ मा पेस गर्ने बेलामा स्थानीय तहको निर्वाचन परिणाम आएपछि कांग्रेसले ‘बहुमतीय’ हुँदैन भन्न थालेको उनले जिकिर गरे ।

‘चुनावको परिणामपछि एकल संक्रमणीय प्रणालीबाट गर्नुपर्छ भन्दै कांग्रेसका साथीहरूले संशोधन हाल्न थाल्नुभएको हो । साँचो कुरा यही हो,’ उनले भने, ‘अहिलेको यो निर्वाचन पहिलाको राष्ट्रिय सभाको जस्तो छैन । पहिला संविधानमा नै एकल संक्रमणीय पद्धतिबाट निर्वाचित हुने भनेर लेखिएको थियो, अहिलेको संविधानमा त्यो छैन ।’

राष्ट्रिय सभा निर्वाचन अहिलेको संविधानअन्तर्गत बहुमतीय प्रणालीबाट गर्नुपर्छ भनेर निर्वाचन आयोगले भनेको पनि उनले बताए । ‘त्यो बहुमतीयमा हामी सबै सहमत नै भएका हौं, अहिले चुनावमा कमजोर परिणाम आयो भनेर कुरा फेर्नुचाहिँ राजनीतिक र नैतिक दृष्टिले ठीक छैन भन्ने हाम्रो भनाइ हो,’ उनले भने । ऐन पहिला पास नभएको स्थितिमा सरकारले अध्यादेश ल्याउने अधिकार हुन्छ र राष्ट्रपतिले रोक्न मिल्दैन भन्ने तर्क कांग्रेसको रहेको उनले बताए । खेलको नियम बनाएर खेलभित्र पसिसकेपछि अर्को नियम चाहियो भन्नु इमानदारी नभएको उनको भनाइ थियो ।

‘यसपटक संविधानमा मतभार सबैको एउटै हुँदैन, प्रदेशसभा, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार फरक हुने हुनाले एकल संक्रमणीय गर्न चाहेर पनि नसकिने विज्ञको भनाइ छ,’ उनले भने । यो विषय छलफल गरेर टुंग्याउने उनले बताए । अध्यक्ष दाहालले काठमाडौं गएपछि पहिले राष्ट्रिय सभा निर्वाचनबारे समाधान खोज्न वाम गठबन्धनभित्र छलफल गर्ने र कांग्रेससँग पनि कुरा गरेर समझदारीका साथ टुंग्याउने पक्षमा आफू रहेको बताए ।

प्रकाशित : पुस ११, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?