कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई नम्बर प्रदेशसभाको बैठक जनकपुरको शिक्षक तालिम केन्द्रमा बसाउने तयारी 

श्यामसुन्दर शशि

जनकपुर — प्रदेशको राजधानी कहाँ राख्ने भन्ने सम्बन्धमा दावीहरु आइरहेकै बेला जिल्ला प्रशासन कार्यालय धनुषाले प्रदेश नम्बर २ प्रदेशसभाको पहिलो बैठक जनकपुरस्थित शिक्षक तालिम केन्द्रको सभाकक्षमा गराउने तयारी सुरु गरेको छ ।

दुई नम्बर प्रदेशसभाको बैठक जनकपुरको शिक्षक तालिम केन्द्रमा बसाउने तयारी 



जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा संघीय संसद सचिवालयद्वारा बुधवार यहाँ आयोजन गरेको ‘शान्ति प्रक्रृया र संविधान कार्यान्वयनमा प्रदेशसभा र प्रदेश संसद सचिवालयको भूमिका’ विषयक अन्तरक्रियालाई संवोधन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले प्रदेशसभाको पहिलो बैठक जनकपुर १२ कुवा–रामपुरस्थित शिक्षक तालिम केन्द्रमा गर्ने तयारी भई रहेको जानकारी दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय धनुषा गत एक वर्षदेखि राजधानीको गृहकार्यमा जुटेको जानकारी उनले दिए । जनकपुर चुरोट कारखाना, शिक्षक तालिम केन्द्र, चरण कार्यालय, मत्स्य विकास तालिम केन्द्र, मुजेलियास्थित प्रशिक्षण केन्द्र, नेपाल राष्ट्र बैंकको अतिथि भवन, जिल्ला भवन कार्यालयलगायतका सरकारी कार्यालयहरुलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिने जानकारी पनि उनले दिए ।


उनले भने,‘संक्रमणकालिन व्यवस्था अनुसार यी कार्यालयहरुमार्फत राजधानीको अभ्यास सुरु गर्न सकिन्छ । पछि स्थायी संरचना निर्माण हुँदै जान्छ ।’

अन्तर्क्रियामा सहभागी संघीय संसद सचिवालयका सहसचिव भरत गौतमले १ सय ७ सदस्यीय प्रदेशसभा बैठकको लागि दर्शक, सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारीआदि अटाउने सुविधा सम्पन्न सभाकक्षको आवश्यकता हुने बताएका थिए । जनकपुर १२ कुवा–रामपुरस्थित शिक्षक तालिम केन्द्र सभाकक्षमा २ सय ५० देखि ३ सयसम्म मानिस अटाउँने क्षमता छ ।

नेपाली काँग्रेस धनुषाका सभापति एवं नव निर्वाचित प्रदेशसभा सदस्य रामसरोज यादवले जनकपुरधाम प्राचिन मिथिलाको राजधानी भएकोले यहाँ राजधानी बनाउँदा हजारौं वर्ष पुरानो मिथिला सभ्यता पुर्नस्थापित हुने विश्वास व्यक्त गरे ।


उनले भने,‘प्रदेश सचिवालयको लागि जनकपुर चुरोट कारखाना उत्तम विकल्प हो । यहाँ प्रदेशसभासंगै मुख्यमन्त्री निवास, मन्त्रालय, सचिवालय तथा कर्मचारी आवासआदिको एकिकृत व्यवस्थापन गर्न सकिन्छ ।’ झण्डै २५ विघामा फैलिएको जचुकालिमा सुविधा सम्पन्न अतिथि भवन, निवास तथा कार्यालय भवनहरु छन् ।


प्रदेशसभा सदस्य यादवले दुई नम्बर प्रदेशको मध्यमा अवस्थित तथा भौतिक एवं सांस्कृतिक रुपमा सम्मुन्नत जनकपुरधामलाई राजधानी बनाउनुको विकल्प नरहेको दावी गरे । उनले भने– ‘सप्तरी र पर्साको बीचमा अवस्थित जनकपुर राजधानीको लागि उत्तम विकल्प हो ।’


जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साहले प्रदेशसभा, दुई नम्बर प्रदेशका प्रहरी मुख्यालय, मुख्यमन्त्री तथा मन्त्री निवास, सचिवालय आदि निर्माणका लागि जनकपुरमा सयौं विगहा गुठीको जग्गा रहेको जानकारी दिए । उनले यी जग्गाहरुलाई राजधानी प्रयोजनको लागी प्रयोग गर्न सकिने बताए ।

प्रकाशित : पुस १२, २०७४ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?