कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दमकमा तीन खर्ब ३३ अर्बको लागतमा औद्योगिक पार्क बन्दै, चिनियाँ टोलीद्वारा स्थलगत अवलोकन 

अर्जुन राजवंशी

दमक — झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको एक उच्चस्तरीय टोलीले बिहीबार स्थलगत अवलोकन गरेको छ । टोलीले दमक नगरपालिका १० स्थित प्रस्तावित औद्योगिक क्षेत्रको चार वटा ब्लकमध्ये ‘ए’ ब्लकको स्थलगत अवलोकन गरेको हो ।

दमकमा तीन खर्ब ३३ अर्बको लागतमा औद्योगिक पार्क बन्दै, चिनियाँ टोलीद्वारा स्थलगत अवलोकन 


चीन सरकारले ‘वान रोड वान बेल्ड’ (ओबर) अन्तर्गत दमकमा औद्योगिक क्षेत्र बनाइदिने भएको हो । उक्त परियोजनाको बिस्तृत अध्ययनका लागि चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरु स्थलगत अवलोकनमा आएका हुन् । ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको टोलीले स्थलगत अवलोकन गरेको हो । उक्त टोलीलाई दमक नगरपालिकाले भब्य स्वागत गरेको छ ।


स्वागत कार्यक्रममा बोल्दै लिउ रुपेङले दमकमा स्थापना हुने औद्योगिक क्षेत्रले नेपालको आर्थिक क्रान्तिलाई सफल बनाउने बताए । उनले यो क्षेत्रले चीन र नेपालको सम्बन्धलाई लगानीको हिसाबले पनि बलियो बनाउन चाहेको बताए । उनले नेपालमा उद्योग र रोजगारी विकासको लागि औद्योगिक पार्कमा लगानी गर्न लागेको बताए ।

नेपालको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले चीनको उच्चस्तरीय टोलीको भ्रमणले औद्योगिक क्षेत्र निर्माणको कार्यले अझ तीव्रता पाउने विश्वास व्यक्त गरे । इन्डस्ट्रिज पार्कका अध्यक्ष गोविन्द थापाले दमकमा निर्माण हुने औद्योगिक क्षेत्रले नेपाल–चीन–भारत र बंगलादेशलाई व्यापारीक माध्यमबाट अझ प्रगाढ बनाउने बताए । उनले मुलुकको आर्थिक समृद्धिको एजेण्डालाई कार्यान्वयनका लागि पनि यो औद्योगिक क्षेत्रको निर्माण जरुरी रहेको बताए ।

ओबर अन्तर्गत चीन सरकारले तीन खर्ब ३३ अर्बको लागतमा औद्योगिक पार्क बनाइदिने सम्झौता यसअघि नै भइसकेको दमकका कार्यकारी अधिकृत युवराज दाहालले बताए । दाहालका अनुसार दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको २२ सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क बनाउने प्रक्रिया अघि बढेको हो । उनका अनुसार पार्क निर्माणका लागि अहिलेसम्म ५ सय ४२ बिघा जग्गा प्राप्त भईसकेको छ । बाँकी जग्गा प्राप्तिको लागि अधिग्रहणको काम भइरहेको उनले बताए ।


उनका अनुसार ‘चीन नेपाल यूई इन्डस्ट्रियल पार्क’ निर्माणका लागि समझदारीपत्र (एमओयू) समेत भइसकेको छ । उनले तीनदेखि ४ महिनाभित्रमा औद्योगिक पार्कको शिलान्यास गराउने तयारी तीव्र पारिएको छ । उनले पार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) फास्ट ट्रकमार्फत बनाएर नेपाल र चीनको शीर्ष तहबाट शिलान्यास गराउने गृहकार्य भइरहेको बताए ।


चिनियाँ टोलीले मंगलबार र बुधबार गरि दुई दिनमा राजधानीमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उद्योग मन्त्री सुनीलबहादुर थापा, सचिव यमकुमारी खतिवडा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीलगायतका उच्च अधिकारीहरुलाई भेटगरि छलफल गरेको थियो । बिहीबारको अवलोकनपछि यहाँ स्थापना गर्न सकिने उद्योगहरु, भौतिक पूर्वाधार विकासलगायत विषयमा थप छलफल हुनेछ ।


प्रकाशित : पुस १३, २०७४ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?