कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रियताको बहिरङ्ग बयान

भवानी बराल

बीपी कोइरालाले भनेका थिए, ‘राष्ट्र भनेको कुनै भूभागको ढुङ्गो, माटो, खोलानाला र साँधसीमा मात्र होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव हो ।’

राष्ट्रियताको बहिरङ्ग बयान

यतिखेर राष्ट्र, राष्ट्रियताको खुब चर्चा हुने गर्छ, तर बीपीले भनेका यी भनाइको सार खिचेको पाइन्न । बीपीले भारत निर्वासनबाट नेपाल फर्किंदा लिएको ‘राष्ट्रिय मेलमिलाप नीति’ पनि दिवसको रूपमा वर्षौंदेखि मान्ने चलन छँदै छ । यो दिवसको प्रसंगमा पनि राष्ट्रियताको चुरो खुट्टिएको होइन ।

पञ्चायत कालको सुरुवातदेखि पुस २७ गतेलाई ‘श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को रूपमा मनाउने अनिवार्य चलन थियो । पञ्चायत व्यवस्थाले लगाएको यो ‘ह्विप’ २०४७ सालपछिको बहुदलीय कालखण्डमा पनि कायमै रह्यो । दोस्रो जनआन्दोलनपछि यो दिवसको सान्दर्भिकताको अन्त्य औपचारिक रूपमै गरिएको छ । यद्यपि यो दिनको सान्दर्भिकताबारे अझै केहीको अनुराग छँदै छ । तिनले बर्सेनि सिंहदरबार अगाडिको पटाङ्गिनीमा यो दिवस मनाउने गरेका छन् ।

यहाँ पुस २७ गतेसँगको आग्रह–पूर्वाग्रहमा कुनै लेनदेन छैन । राष्ट्र र राष्ट्रियताको पूर्ण परिभाषा नहुन्जेल यस्ता दिनमा ‘श्राद्धमा बिरालो बाँध्ने परम्परा’कै निरन्तरता हुनु अस्वाभाविक लाग्दैन । केहीले यो दिनलाई पृथ्वीनारायण शाहको जन्मदिनसँग सम्बन्धित भएकोले ‘कालो’ र अर्काथरीले राजा र राजतन्त्रसँग जोडिएको अर्थमा उज्ज्वल दिन मानेका हुन् । वास्तवमा पुस २७ गतेको पछिल्तिर लागेर राष्ट्रिय एकताको सर्वस्व ठान्नु र त्यसकै विरोधमा स्वर उछालिरहनुपछिको कुनै तुक छैन । किनकि सत्य—तथ्य अझै यकिन भइसकेको छैन । यसले नेपाली राष्ट्रियताको साँचो बहस माग गरेको छ, भिन्न रूपमा ।

नेपालको यो स्वरूप कसरी बन्यो होला ? नेपालको यो भौगोलिक स्वरूप बन्दाको दन्त्यकथा हालेर मात्र नेपालको राष्ट्रिय एकताको जग बस्दैन । तत्कालीन बेलायती साम्राज्यद्वारा स्थापित इस्ट इन्डिया कम्पनी र अर्को भोट–चिनी साम्राज्यको ‘टेलिपेथिक’ सन्तुलनद्वारा यो भौगोलिक स्वरूपको निर्माण भएको हो । इस्ट इन्डिया कम्पनी र भोट–चीनसँग युद्ध गरेर, जितेर यो भूगोलको रक्षा गरेको भए ‘सुगौली’ वा ‘थापाथली’ सन्धि गर्ने नौबत नै आउने थिएन । आधुनिक हतियारले लेस इस्ट इन्डिया कम्पनीसँग घुएँत्रो हानेर भीरमौरीलाई टोकाएर राष्ट्र र राष्ट्रियता जोगाएको अर्थ कति अर्थपूर्ण होला ? यो पनि बहसको विषय हो । 

नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको राजनीति विज्ञानसम्मत परिभाषा नहुन्जेल यस्ता अमूक तारिखहरू जबर्जस्त ‘राष्ट्रिय एकता दिवस’ भइरहन्छन् । इतिहासमा पुस २७ मा कुन ऐतिहासिक काम भएको थियो ? सुगौली सन्धि भएको थियो कि ? नेपालको साँधसिमाना छिमेकी मुलुक बेलायत–भारत र भोट–चीनले लालमोहर लगाइदिएको थियो कि ? तत्कालीन बाईसी–चौबीसी, उपत्यका र उपत्यकापूर्वका चौदण्डीसहित ५२ गणराज्यले ‘फिलाडेल्फिया’ सम्मेलन गरेर नेपाल नामको देश निर्माण गरेका थिए कि ? यसको सटिक उत्तर नआइन्जेल नेपाली राष्ट्रियताको चुरो भेटिँदैन र यस्ता दिवसको पनि अर्थ छैन । के भएको थियो र पुस २७ गते ? राष्ट्रिय एकता दिवस भनेर मात्र हुन्छ र ? 

राष्ट्र बन्न दार्शनिकहरूले अनेक परिभाषा गरेका छन् । तर ती सबै परिभाषामा मतैक्य पाइन्छ । सिंगो राष्ट्र बन्न चाहिने सर्त पूरा नहुन्जेल ती राष्ट्र र त्यस अन्तर्गतको राष्ट्रियता अन्तरिम हुन्छ । यो परिभाषा अन्तर्गत नेपाल राष्ट्रउन्मुख अन्तरिम राष्ट्र र विविध राष्ट्रियताको साझा मोर्चामात्र हो ।

माक्र्स–एंगेल्सले ‘कामदारहरूको कुनै देश हुँदैन, हामी तिनीहरूबाट त्यो कुरा लिन सक्दैनांै, जुन कुरा उनीहरूले प्राप्त गरेकै छैनन्’ भनेका छन् । उनीहरूले सर्वहारा वर्गलाई राष्ट्रको रूपमा उभ्याउन अपिल गरेका छन् । यो वाक्यमा एउटा गहिरो अर्थ लुकेको छ । समुदायको मनोभावनामा पनि यो कुरा हुन्छ । माथि बीपीले भनेझैं समुदायको संस्कृति, सभ्यता र मनोभावना नै राष्ट्र भनेझैं हरेकमा त्यो कुरा प्रतिबिम्बित हुनुपर्छ । लेनिनले राष्ट्र र राष्ट्रियता माक्र्सवादको प्रकाशपुञ्जमै व्याख्या गरे । उनले राष्ट्र र राष्ट्रियता अवधारणाको विकास उदाउँदो पुँजीवादी युगसँगै हुने ठहर गरेका छन् । यसरी अहिले सामन्ती युगको सामन्तवादी राष्ट्र र राष्ट्रियताको जबर्जस्त व्याख्या गरेर त्यसैमा अलमल्याउने कि उदाउँदो पुँजीवादी युग सुहाउँदो राष्ट्र र राष्ट्रियताको व्याख्या गर्ने भन्ने विवाद हो ।

यसरी नेपाल राष्ट्र बन्ने अभियानमा छ । पृथ्वीनारायण शाहले ‘असिल हिन्दुस्थान’ बनाउने एकल हिन्दु धर्मतन्त्रात्मक राष्ट्र निर्माण गर्ने आधारमा यो भूगोलको ‘एकीकरण’ गरेका हुन् । यो क्रमको निरन्तरता राणा–पञ्चायत हुँदै पछिल्लो बहुदलीय कालखण्डसम्म निरन्तर रह्यो । २०१९ सालको संविधानले हिन्दु अधिराज्य संवैधानिक रूपमा कायम गरेको वैधानिक बुँदालाई २०४७ सालको प्रजातान्त्रिक संविधानले पनि मान्यता दियो । एक जाति (नेपाली), एक भाषा, एक भेष, एक धर्म, एक देशको अवधारणाको जबर्जस्त राष्ट्र र त्यसै अन्तर्गतको राष्ट्रियता निर्माण गर्ने कोसिस गरियो । चलनचल्तीको भाषामा जसलाई ‘मण्डले’ वा ‘महेन्द्रीय राष्ट्रवाद’ भन्ने गरिन्छ ।

एक धार्मिक, एक जातीय, एक भाषिक राष्ट्र बनाउने राजनीतिक तथा प्रशासनिक अभ्यास विगतमा भइसकेको हो । तर यो अभ्यासले पूर्णता पाएन । यदि पूर्णता पाएको भए पुस २७ वा यस्तै कुनै दिन नेपाल राष्ट्र निर्माण ऐतिहासिक दिन ‘राष्ट्रिय एकता दिवस’ हुने थियो । यसमा अन्यथा मान्नुपर्ने थिएन । संसारमा यस्ता परिघटना भएका थुप्रै उदाहरण छन् । नेपालमा भने अढाई सय वर्षको अभ्यासले पनि एउटा सबल राष्ट्रको रूपरेखा आउन सकेन । कसैले माने पनि, नमाने पनि यो तितो यथार्थ हो ।

राष्ट्रहरू कहिले माथिबाट निर्माण हुन्छन्, कहिले तलबाट । अमेरिका— बेलायती उपनिवेशबाट मुक्त भएपछि तलबाट निर्माण भएको राष्ट्र हो । फिलाडेल्फिया सम्मेलनमार्फत तलबाट अमेरिकी राष्ट्रको जन्म भयो । जर्मनी राष्ट्र विस्मार्कको नेतृत्वमा युद्धद्वारा माथिबाट बनेको हो । नेपाल पनि पृथ्वीनारायण शाहले युद्धद्वारा माथिबाट बनाएको राष्ट्र हो । तर उनले माथिबाट बनाएको माथि उल्लेखित विशेषताको राज्यमा आदिवासी, जनजाति, मधेसी, अल्पसंख्यक, सीमान्तकृत र श्रमजीवी वर्गले यतिका वर्षपछि पनि अपनत्व पाएको महसुस गरेनन् । उनीहरूले आजसम्म पनि परम्परागत राष्ट्र र राष्ट्रियताको परिभाषाभित्र आफूलाई नपाएकोमा गुनासो गरेका छन् । जर्मनको एकीकरणलाई जर्मनहरूले अपनत्व ग्रहण गरे । त्यसरी नेपालको यो स्वरूप बनेकोमा एकमत रहेन । यद्यपि विकसित परिस्थितिमा यतिका वर्षपछि पृथ्वीनारायण शाहले गरेको ‘बलात् भौगोलिक एकीकरण’लाई मानेर जानु बाध्यात्मक परिस्थितिको सहज निकास हुनेमा दुईमत राख्नुहुन्न । 

यसर्थ नेपाल राष्ट्र निर्माणको अभ्यास तलबाट पनि थाल्नुपर्छ । माथिबाट बनाउन गरिएको प्रयासस्वरूप प्राप्त भूगोललाई तलमाथि गर्ने सम्भावना टरेको छ । सिक्काको दुई पाटो भनेझैं तलबाट राष्ट्र निर्माणको प्रक्रिया थालेर पूर्णता दिनु सर्वश्रेष्ठ उपाय हुनेछ । अहिलेसम्म भएका आन्दोलन र दोस्रो जनआन्दोलनले बढी प्रस्ट गरेको सान्दर्भिक जनादेश यही हो । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौतादेखि अन्तरिम संविधान र संविधान २०७२ सम्मका लिखतमा यही विषय परेको छ । राज्यको पुन:संरचनाको अपरिहार्य आवश्यकता र राज्य पुन:संरचना गर्दा ठगिएका समुदायलाई क्षतिपूर्ति दिएर राष्ट्रमा उनीहरूको मनोभावना, संस्कृति र सभ्यतालाई सम्मान गर्ने निधो गरिएको थियो । तर राज्य पुन:संरचना गर्दा त्यसो हुन सकेन । वास्तवमा नेपालको संविधान २०७२ मा राष्ट्रको परिभाषा जसरी गरिएको थियो, त्यसरी नै राज्यको निर्माण हुनुपथ्र्यो । यस्तो भइदिएको हुन्थ्यो भने साँचो अर्थमा नेपाल राष्ट्रको निर्माण हुन्थ्यो । परम्परागत ढंगबाट परिभाषित हुँदै आएको राष्ट्र र राष्ट्रियताको परिभाषाविपरीत प्रगतिशील ढंगबाट हुने थियो । राष्ट्रिय एकता दिवस कसैले मान्ने, कसैले दुत्कार्ने नै हुने थिएन ।

संविधानत: परिभाषित राष्ट्रको परिभाषा अनुसार राज्य निर्माण गर्दामात्र आन्तरिक औपनिवेशीकरणको अन्त्य हुन्छ । राष्ट्रमा पछाडि परेकाहरूले पहिचानमार्फत बीपीले भनेझैं राष्ट्रको सार सभ्यता, संस्कृति र मनोभावको माग गरेका हुन् । यति नै बन्दोबस्त गर्दा राष्ट्र बन्ने र राष्ट्रियता सुदृढ हुने कुरामा हलो अड्काउनु मुनासिफ लाग्दैन । नेपाली बीचको आधारभूत अन्तरविरोधको अन्त्य नै राष्ट्र निर्माणको जग हो । यो जग नेपाली राष्ट्रियता सुदृढीकरणको कोशेढुंगा साबित हुनेछ । 

प्रकाशित : पुस २७, २०७३ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?