कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशिनेहरूको देशप्रतिको माया

विदेशमा गएर कामको अवसर पाएकाहरू सुखी र भाग्यमानी हुन्छन् भन्ने आंँकलन त्यसरी जान खोजेर नपाएकाहरूमा हुन्छ होला ।

विदेशिनेहरूको देशप्रतिको माया

तर विदेशी भूमिमा उनीहरूले सँगालेको पीडालाई महसुस गर्ने हो भने विभिन्न कारणले वैदेशिक रोजगारका लागि प्रक्रिया चालेर पनि जो—जो असफल भए, ती युवाले चाहिँ आफूलाई भाग्यमानी ठान्नुपर्ने हुन्छ । विदेशिएका युवासंँग आफू पुगेको देश र अवस्थापिच्छे फरक—फरक अनुभूतिहरू भेटिन्छन् । अति नै जोखिमपूर्ण कामका कारण आफ्नो जिन्दगी जुनसुकै बेला सकिन सक्छ भन्ने त्रास संँगालेर काममा होमिन बाध्य युवाको मानसिकता कस्तो होला ? त्यो अवस्थाले जीवनप्रतिको उत्साह, लालसा र जोश—जाँगरलाई कति उँचो बनाउला ? सुन्ने जोकोहीलाई सोचमग्न स्थितिमा पुर्‍याउँछ । कतिपयको कामको प्रकृति ठिकठाक नै भए पनि पारिवारिक वियोगले ठूलो समस्या खडा गरिरहेको प्रस्टै थाहा पाउन सकिन्छ ।

लामो सयमदेखिको पारिवारिक विछोडका कारण देखापरेको नकारात्मक असर तिनीहरूको दिक्दारीबाट स्पष्ट झल्किरहेको हुन्छ । त्यस्तै वैदेशिक रोजगारीकै उपजको रूपमा व्यापक बन्दै गरेको पारिवारिक विचलनले कुनै दिन आफ्नो घरपरिवार पनि सखाप हुने हो कि भन्ने आशंकाले पनि धेरै युवा चिन्तित देखिन्छन् । त्यो स्थिति भोगेका कोही आफ्ना साथी तथा नातेदारप्रति चिन्ता जाहेर त स्वाभाविकै हो । तर त्यही अवस्थाबाट कुनै दिन आफू र आफ्नो परिवारसमेत पीडित हुनसक्ने आशंका मनमा पालेर भयग्रस्त बनेका नेपाली युवाहरू धेरै छन्, विदेशी भूमिमा ।

नेपालमा रहँदा बेवास्ता गरिएका कतिपय विषय विदेशमा पुगेपछि त्यसको अधिकतम अवलम्बनमा अधिकांश लागेको भेटिन्छन् । आ–आफ्नो धर्म, संस्कृतिलाई झन् प्रगाढ बनाउँदै लैजानु र संस्कारगत मान्यतालाई जीवन पद्धतिमा रूपान्तरित गर्न लागिपर्नु तथा राष्ट्रिय झण्डा र पोसाकप्रतिको उत्कट लगाव लगायतले त्यही चाहनालाई प्रतिविम्बित गरेको हुनुपर्छ । नेपाली चाडपर्वहरू देशभित्र भन्दा बढी भव्यतासाथ मनाउने चाहना, नेपाली समुदाय बीचको नियमित सम्पर्क, भेटघाट, सामिप्यता, देशका सानादेखि ठूला सबै विषयलाई आफ्नो जानकारीमा राख्ने तत्परता, त्यसउपर आवश्यक बहस, अन्तरक्रिया लगायत गतिविधि जुन हुने गरेको देखिन्छ, त्यो सबै देशप्रेमकै कारणले भैरहेको छ भन्दा अत्युक्ति नहोला ।

कुराकानीको क्रममा अधिकांशको चिन्ता यही हुन्छ कि देशले उँभोगतिलाई पछ्याउन सकेन । सशस्त्र द्वन्द्व सकिएको पनि दस वर्ष नाघिसक्यो । यतिबेलासम्म त विकासको रफ्तारले आधा गन्तव्य समाप्त गरिसक्नुपर्ने थियो । तर अहिलेसम्म खाकासमेत कोर्न नसकेपछि कहिले हुन्छ, हाम्रो देश समृद्ध ?

२०४६ सालको जनआन्दोलनको सफलतापश्चात राज्यले खुल्ला अर्थतन्त्रलाई अँगाले तापनि स्थिर सरकारको अभावमा देशले काँचुली फेर्न सकेन । राजनीतिक नेतृत्वको मानसिकता हरबखत सत्ताको छिनाझपटीतर्फ मात्र केन्द्रित भएका कारण न आम नागरिकको जीवनस्तर उकास्ने सवालमा काम हुनसक्यो, नत विकासको गतिले नै फड्को मार्न सक्यो । अझ २०५२ सालदेखि सुरु भएको दसवर्षे सशस्त्र द्वन्द्वले त समृद्ध नेपालको सपनालाई २० वर्ष पछि धकेलेकै हो । सबैका सामु खुलेर विगतका आ–आफ्ना कमजोरीलाई स्वीकार्ने तत्परता अहिलेसम्म न तत्कालीन विद्रोही दल र नेताहरूमा देखिन्छ, नत त्यस इतरका अन्य दल र नेताहरूमा नै । तर यतिबेला प्राय: सबै दलका नेताले देश विकासको आतुरतालाई हरेक दिन अभिव्यक्त गरिरहेको पाइन्छ । यो देख्दाचाहिँ लाग्छ, केही ढिलो पक्कै भएको हो, तर सम्भावना मरेको छैन । यसरी सम्भावनालाई बटुलेर सकारात्मक सोच कायम राख्न खोज्ने नागरिकको दायरा फराकिलो त हुँदै गइरहेको छ । तर राजनीतिक नेतृत्वको चर्को नारा अनि फितलो कार्यान्वयनको पुरातन अवस्थामा अझै सुधार नदेख्दा भने उनीहरूको आशा फेरि निराशामै परिणत नहोला भन्न सकिन्न ।

देश हाँक्ने शक्ति सक्षम र दूरदर्शी भयो भने जस्तोसुकै असहज परिस्थितिमा पनि त्यहाँको विकास र प्रगति रोकिएको हुँदैन । श्रीलंकाले हासिल गरेको उपलब्धि हेर्दैमा सबै कुरा स्पष्ट हुन्छ । तीन दशकसम्म त्यति डरलाग्दो सशस्त्र विद्रोह खेपेको मुलुक सबै किसिमले कसरी उन्नत अवस्था कायम गर्न सफल छ ? त्यस्तै हाम्रै युवाहरू समेतको मिहेनत र पसिनाले थोरै समयमा मलेसियाले कसरी आश्चर्यजनक प्रगति गरिरहेको छ । त्यसबाट पनि हाम्रो नेतृत्व वर्गलाई पर्याप्त ऊर्जा मिल्नुपर्ने हो । सिंगापुरको समृद्धिलाई हेरेर लोभिँदै त्यही बमोजिमको आश्वासन बाँड्ने नेताहरू पनि थुप्रै देखिए । तर ली क्वान यु बन्ने साहस, कला र क्षमता कसैमा देखिएन । त्यसैले लगभग तीन दशकसम्म पनि हाम्रा नेताले बाँडेको आश्वासन, आश्वासन मात्र बनिरह्यो, साकार हुन सकेन । 

क्रमिक र धिमा गतिको विकास त हरेक मुलुकमा भइरहेकै हुन्छ । यो रोक्न खोजेर पनि रोकिन्न । तर आफ्नो देशको लागि कस्तो विकासको आवश्यकता छ भन्ने निक्र्योलसँगै त्यसको निम्ति प्रभावकारी योजना र कार्यान्वयनको खुबी राजनीतिक नेतृत्वमा हुनुपर्छ । सुरुवाती कौशलको मात्रै खाँचो छ, त्यसपछि नेपालको विकासको लागि सहयोग गर्न तत्पर चोखो मन भएका अन्तर्राष्ट्रिय समुदायहरू, आफ्नै देशको माटोमा पसिना चुहाउने रहर संगालेका युवा, भरिभराउ प्राकृतिक स्रोतसाधन यी सबै तत्त्वले सोचेभन्दा धेरै छिटो समृद्ध नेपालले साकार रूप लिन सक्छ । 

अहिले वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि दिन—प्रतिदिन बढ्दो छ । पुरुषको तुलनामा महिला कामदारले खेप्नुपरेको सास्ती झन् अतुलनीय हुने गरेको सार्वजनिक भएका धेरै घटनाले बताइसकेका छन् । कामको प्रकृति तथा प्रतिकूल वातावरण लगायतले मात्र हैन, महिला भएकै कारणले भोग्न बाध्य हुने हिंसा, विभेद, शोषण, उत्पीडन आदि कारणले उनीहरूमा जाग्ने घोर निराशा अनि त्यसैको कारणले हुने गरेका हत्या/आत्महत्याका घटनाप्रति पनि हामी बेखबर छैनौं । त्यस्तै कामकै कारण युवा जमात विदेशिने व्यापकताले नेपालका गाउँहरू सुनसान भइरहेका खबर पनि सार्वजनिक भइरहेका छन् । युवाविहीन गाउँहरूमा वृद्धवृद्धा, महिलाहरूमाथि थुप्रिएको अभिभाराले निम्त्याएको कठिनाइ आफ्नो ठाउँमा छँदैछ, तर कमाउन विदेश गएका आफ्ना सन्तान/अभिभावक/प्रियजन बन्द डिब्बामा लास बनेर फर्केको स्थिति भोग्दा त्यो परिवारले कति मार्मिक वज्रपातको सामना गर्नु परिरहेको छ, त्यसलाई कतिन्जेल बेवास्ता गरिरहने सरकार ? राज्य सञ्चालनको दौरान विरोध, अवरोध र व्यवधान कहिल्यै सकिन्नन् ।

लोकतान्त्रिक चरित्र भएको मुलुकको सौन्दर्य यसैमा अडेको हुन्छ । त्यसैले शासन सञ्चालनका नियमित आकस्मिकता त आउँछन्, जान्छन् । तर विकासको मियोलाई अब यसरी दर्बिलो बनाउनुपर्‍यो, जसले देशलाई समृद्धिको उचाइतर्फ निरन्तर अग्रसर गराओस् । अनि श्रमका लागि विदेशिएका सबै युवालाई स्वदेश फर्काएर देशका लागि पसिना बगाउने स्वर्णिम अवसर दिलाओस् । 

 

प्रकाशित : पुस २८, २०७३ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?