कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुम्टो प्रथाको भ्रम

रीता साह

के घुम्टो प्रथाले साँच्चै मधेसी महिलाहरूको सशक्तीकरण रोकेको छ त ? घुम्टो लिने वा टाउको छोप्ने र महिला सशक्तीकरण दुई अलग–अलग विषय हुन् ।

घुम्टो प्रथाको भ्रम

केही समययता सामाजिक सञ्जाल र अन्य मिडियामा घुम्टो प्रथाबारे निकै चर्चा हुनथालेका छन् । खासगरी प्रधानन्यायाधीश सुशीला कार्कीले सप्तरीको राजविराजमा दिनुभएको सार्वजनिक अभिव्यक्तिपछि यो क्रम बढेको छ । केही महिनाअघि प्रधानन्यायाधीश कार्कीले राजविराजमा बोल्नुभएको थियो, ‘बुहारीलाई घुम्टोभित्रै राख्ने अनि समानुपातिक समावेशीको माग गर्ने ?’ उहाँको सङ्केत मधेसी समाजमा कायम घुम्टो प्रथा र मधेस आन्दोलनले उठाएको समानुपातिक समावेशीकरणको मागतर्फ सोझिएको थियो । कतिपयले उहाँको त्यस अभिव्यक्तिलाई मधेसी महिलाको परम्परा र सांस्कृतिक चलनमाथिको प्रहारको रूपमा बुझे भने कतिपयले महिला सशक्तीकरणसँग जोडेर हेरे । जसले जेजसरी बुझे पनि यसबारे खुलेर बहस हुनुचाहिँ सकारात्मक कुरा हो । किनभने नेपालमा अनेकौं सामाजिक कुरीतिहरू विद्यमान छन् । तर सार्वजनिक वृत्तमा ती कुरीतिहरू उति साह्रो चर्चाको विषय बन्नसकेको छैन ।

घुम्टो प्रथाबारे त्यति धेरै चर्चा भए पनि यसको जड कारण र प्रभावबारे खासै अध्ययन, अनुसन्धान भएको पाइँदैन । के हो त घुम्टो प्रथा ? यसको इतिहास के हो ? यो प्रथा कुन समुदायमा चलनमा रहेको छ ? यसको कारण के थियो ? यसले कस्तो प्रभाव पारेको छ ? यी अनेक पक्षबारे खोजबिन हुनु जरुरी छ । विवाहित महिलाहरूले सारी, सउल वा दुपट्टाले मुख वा टाउको छोप्ने परम्परालाई घुम्टो भनिन्छ । यो प्रथा हिन्दु, जैन र शिख धर्म मान्नेहरूमा कायम छ । घुम्टो शब्द संस्कृतबाट आएको हो । यस्तो चलन भारतको उत्तरी क्षेत्र र नेपालको मधेस क्षेत्रमा रहेको पाइन्छ । मधेसमा पनि खासगरी मधेसी समुदायका महिलाहरूमा घुम्टो लिने चलन छ । यो प्रथा धेरै पुरानो रहेको मानिन्छ । त्रेतायुगको कथा रामायणमा सीताले घुम्टो लिने गरेको सन्दर्भ उल्लेख छ । यस प्रथाबारे अनेकौं किम्वदन्तीहरू पनि रहेको छ ।

चौधौं शताब्दीमा एउटा चर्चित ऐतिहासिक घटना घटेको थियो । चितौडगढका राजपुत राजा रतनसेनको महलमा एकपटक सुल्तान अलाउद्दिन आएका थिए । सुल्तान अलाउद्दिन बसेको महलकै छेउमा रानी पदमिणीको पनि महल थियो । सुल्तानले रानी पदमिणीलाई पटक–पटक हेरेका थिए । रानी पदमिणी टाउको छोपेकी थिइनन् । रानीलाई हेरेपछि सुल्तान मोहित भएका थिए रे † सुल्तान अलाउद्दिन आफ्नो राज्य फर्केपछि चितौडगढमाथि आक्रमणको योजना बनाउन थाले । केही दिनपछि चितौडगढमाथि आक्रमण गरेर रानी पदमिणीलाई अपहरण गरेर लगेका थिए । उक्त घटनापछि राजस्थानमा मुस्लिम सुल्तानबाट बच्न महिलाहरूले घुम्टो लिन थालेका थिए, जुन पछि गएर चलनकै रूपमा विकसित भएको मानिन्छ । त्यतिबेला मुस्लिम सम्राटहरूले हिन्दु महिलाहरूलाई अपहरण गरी रानी बनाउने प्रथाको कारण पनि महिला सुरक्षाको लगि घुम्टो प्रथाको सुरुआत भएको मानिन्छ । 

घुम्टो प्रथालाई महिला सशक्तीकरणसँग मात्रै जोडेर हेर्न मिल्छ कि मिल्दैन ? कि यसको अरु पनि सांस्कृतिक, परम्परागत तथा सुरक्षाको कोणबाट अध्ययन विश्लेषण गर्नु जरुरी छ ? घुम्टो लिने परम्परा मधेसी समुदायमा वैवाहिक परम्परासँग पनि जोडिएको छ । मधेसमा वैवाहिक परम्परामा कतिपय जातिमा घोघट दिने परम्परा छ । बेहुलीलाई घोघट दिने काम बेहुलाको जेठो दाइले वा मामाले गर्छन् । घोघट दिनुको उद्देश्य बिहेपछि दुलहीले दुलहाको दाजु, बुबा, मामा लगायतका व्यक्तिहरूलाई हेरेर मुख छोप्नुपर्छ र उहाँहरूको शरीरमा छुनु हुँदैन भन्ने हो । त्यस्तै बिहेपछि मुख देखाउने (मुह दिखाइ) चलन पनि छ, जसमा आफूभन्दा ठूला व्यक्तिहरूले मुख हेरेर गहना, पैसा, साडी लगायतका सामानहरू उपहारसहित आशीर्वाद दिने गर्छन् । यसले गर्दा पनि नवदुलहीहरूले बिहेको केही महिनासम्म घुम्टो लिने वा टाउको छोप्ने गर्छन् । यस्तो परम्परा आफूभन्दा ठूलो व्यक्तिहरूको आदर वा सम्मानको लागि गरिने मान्यता छ । यसलाई गाउँघरमा लज्जासँग पनि जोडेर हेर्ने गर्छन् । कुनै महिलाले आफूभन्दा ठूलो व्यक्तिलाई हेरेर टाउको छोप्दैन भने त्यसको बारेमा विभिन्न टिकाटिप्पणी हुने गर्छ र त्यस्तोलाई ठूलाबडाको सम्मान नगरेको आरोप लाग्छ । सायद वातावरणीय कारणले पनि घुम्टो प्रथा सुरु भएको हुनसक्छ । खासगरी पश्चिम, उत्तर भारतमा अत्यधिक गर्मी मौसमका कारण पनि यो चलन चलेको हो कि ? जुन पछि परम्पराको रूपमा कायम रहन गयो ।

यसबारे नेपालमा खासै अध्ययन, अनुसन्धान भएको छैन । तर भारतमा यसबारे केही अध्ययनहरू भएको पाइन्छ । सन् २००४ मा भएको इन्डिया मानव विकास सर्भेका अनुसार भारतमा ५५ प्रतिशत महिलाले घुम्टो लिने गरेको तथ्य उल्लेख छ । नेपालको मधेसमा घुम्टो लिने चलन अब खासै रहेको छैन । गाउँघरतिर नयाँ–नयाँ बिहे गरेर आएको नवदुलहीले बिहेको केही महिनासम्म घुम्टो लिने गर्छन् । अलि पुरानो भएपछि प्राय:जसो महिलाहरू टाउकोमात्र छोप्न थाल्छन् । घर—आँगन र आफ्नो परिवारसँग हुँदा टाउको मात्र छोप्ने गर्छ भने कोही बाहिरबाट पुरुषहरू आएको छ भने हल्का घुम्टो पनि लिने गर्छन् । तर सहर—बजारमा बसोबास गर्ने मधेसी समुदायका महिलाहरूले अब बिरलै घुम्टो लिन्छन् । त्यही महिलाहरू गाउँ जाँदा आफूभन्दा ठूलो व्यक्तिको अगाडि सम्मानस्वरूप टाउको छोप्ने परम्परा हटिसकेको छैन । 

यदि कसैले कसैलाई जबर्जस्तीपूर्वक घुम्टो लिन बाध्य पार्छ भने त्यो सामाजिक कुरीति हो । तर कसैले स्वेच्छाले घुम्टो लिन्छ भने त्यो सामाजिक कुरीतिभित्र नपर्नुपर्ने हो । जहाँसम्म महिला सशक्तीकरणको बाधकको रूपमा घुम्टो प्रथालाई उल्लेख गरिन्छ भने त्योचाहिँ गलत हो । किनभने घुम्टो बिहेपछि लिने सामाजिक परम्परा हो अर्थात विवाहित महिलामा मात्र यो प्रथा कायम छ । तर महिला सशक्तीकरणको लागि विवाहितै हुनु जरुरी छैन । 

महिला सशक्तीकरणका मुख्यत: चारवटा आयामहरू छन् । शिक्षामा पहुँच, स्वास्थ्यसेवामा पहुँच, राजनीतिमा प्रतिनिधित्व तथा आर्थिक रूपले सबल हुनु । यी कुराहरूको लागि सामाजिक प्रथाभन्दा पनि सरकारी नीति नियम तथा कार्यक्रमले प्रमुख भूमिका खेलेको हुन्छ । यदि मधेसी महिला वा अन्य कुनै समुदायका महिला पछाडि परेका छन् भने त्यसमा सरकारी पक्षको पनि विश्लेषण हुनु जरुरी रहन्छ । यदि आज मधेसी समुदायको महिलाको तुलनामा पहाडी समुदायको महिलाहरू अगाडि छन् भने कतै सरकारी नीति नियम, लगानी र प्रयासहरूको कारणले त होइन ? यो पनि हेर्नु जरुरी छ । कुनै सामाजिक प्रथा वा कुरीतिकै कारण मधेसी महिलाहरू पछाडि परेका छन् भने पहाडमा पनि त अनेकौं प्रकारका कुरीतिहरू ब्याप्त छन् । तर त्यहाँका सबै महिलाको अवस्था त मधेसी महिलाभन्दा राम्रो कसरी भयो ? मधेसी महिलाहरू जस्तै संस्कार, संस्कृति र परम्परा भएका उत्तर भारतको विहार, युपी वा राजस्थानकी महिलाहरू कसरी अगाडि बढेका छन् ? आखिर घुम्टो प्रथा त त्यतैबाट आएका न हुन् । 

प्रकाशित : माघ ७, २०७३ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?