कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानी अनुभव, नेपाली व्यथा

साधना प्रतीक्षा

सरकार तथा सम्बन्धित निकाय जनताप्रति उत्तरदायी भएको भए आज राजधानीका आमजनता अत्यधिक धूलोको दैनिकीबाट आफ्नो स्वस्थ आयु छोट्याउन बाध्य हुनुपर्ने थिएन ।

जापानी अनुभव, नेपाली व्यथा

काम विशेषले एकजना आफन्तकहाँ पुग्दा उनी हस्याङ—फस्याङ गर्दै कतैबाट आउँदै थिए । मलाई आफूभन्दा पहिला नै उपस्थित भएको देख्दा अलि लज्जाबोध भएर होला स्पष्टीकरण दिन थाले, ‘हेर न बाटो कस्तो जाम’ एक घन्टा अघि नै आइपुग्छु भनेर समय दिएको ढिला भैहाल्यो । र जुत्तामा लागेको धूलो देखाउँदै फेरि भन्न थाले, ‘अघि बिहान मात्र पालिस गरेर लगाएको जुत्ता, हेर न रंग चिन्नै गाह्रो’ र उनले फुकाल्दै गरेको जुत्ता हेरेर म झसंग भएँ, किनकि म पनि त राजधानीको सडक छेउबाट हिँडेर आएकी हुनाले अनुहार, कपाल र लुगाको रंग नै बेग्लै भैसकेको थियो । उनले जुत्ताको धूलो देखे, मैले अनुहार र कपालको धूलो छामे । श्वास—प्रश्वाससँगै फोक्सोमा भित्रिएको धूलो अनि त्यसको दीर्घकालीन असर । उनले प्रसंग जोडिहाले जुत्तासँगै जापान यात्राको, ‘उता जापानमा हुँदा कहाँ देख्नु धूलो ? यही जुत्ता हो, हप्तादिन लगाउँदा पनि जस्ताको त्यस्तै, पालिस लगाउनै नपर्ने, न कहीँ धूलो न कहीँ फोहोर, ट्राफिक जाम भनेको त हुँदै नहुने । आहा, त्यस्तो पो सहर त....’ र उनी जापानी सम्झनामा रमाउदै थिए, म भने आफ्नो काठमाडौं—पोखरा यात्राको सम्झनामा तर्संदै थिएँ । 

नौबिसेदेखि कलंकीसम्मको धुलाम्मे बाटोमा दुई घन्टासम्म जाममा पर्दाको उकुस—मुकुस उफ् मेरो मात्र कहाँ हो र ? राजधानीदेखि बाहिरिने र भित्रिने हरेक यात्रीले भोग्ने गरेको पीडा हो यो । वैकल्पिक बाटोको अभावमा सवारी साधनको अत्यधिक चापका कारण जीर्ण भएका अनि वर्षाभरि पहिरो जाने तथा हिउँदभरि मर्मत गरिने राजमार्गहरूको यात्राले पुर्‍याउने सास्तीको अनुभव सम्बन्धित निकायका उच्च अधिकारीहरूलाई पनि हुँदो हो त पक्कै पनि वर्षैपिच्छे उही बाटो मर्मत गर्नुसट्टा वैकल्पिक बाटो निर्माणको योजना बन्दो हो । 

मेरो ध्यान फेरि भंग भयो । उनको जापानी अनुभव कथाले ‘साँच्चै जापान त प्रकृतिले बनाएको देश रहेछ । हरेक महिनाजस्तो आकाशे पानी परेकै हुने अनि खेतीबाली त कति राम्रो सप्रने, खेती गर्ने तरिका पनि गजबको, एउटा मेसिनले माटो खन्छ, अर्कोले त्यसलाई पिठोझैं मसिनो पार्छ, फेरि अर्को मेसिनले बिरुवा रोप्छ । समय—समयमा पानी आकाशले दिन्छ...।’ र मैले बीचैमा प्रश्न गरे, त्यहाँ हरियाली कत्तिको छ नि ? ए, त्यसको त के कुरा गर्नु ? जता हेर्‍यो, उतै हरियाली...। उनको भनाइले मलाई फेरि सम्झना आउँछ, आफूले यात्राका क्रममा देखेका नांगा डाँडाहरूको । हरेक वर्ष त्यहाका रुख आकस्मिक तथा नियोजित डढेलो तथा फँडानीले रित्तिएका ती डाडा अनि वनक्षेत्रले हामीकहाँ कसरी गराओस्, समयमा वर्षा ? त्यसैले होला, पानी नै नपरी आधा हिउँद सकिन लागेको छ । त्यसमा पनि राजधानीको सडक विस्तार कार्यले सडकछेउ धूलो आतंक नै सिर्जना गरेको छ ।

उनी भन्दै थिए, ‘त्यहाँ त हरेक बिहान ट्याङकरले सडकमा पानीको फोहोरा छर्दै जादोरहेछ, अनि केको धूलो—मैलो’ । म पनि एउटा मिठो कल्पनामा डुब्न पुग्छु, आहा, यहा पनि त्यसरी नै बाटो छेउमा पानी छम्कन पाए, फेरि झसंग हुन्छु । यहा मानिसलाई पिउनका लागि त पानी छैन । साच्चै हाम्रो देशका हरेक निकाय जनताप्रति किन यति अनुत्तरदायी ? महानगरपालिकाले हरेक दिन नभए पनि सातामा एक दुईचोटी पानी छर्कन सक्दैन ? बाटोमा पोख्नलाई मेलम्चीकै पानी चाहिन्छ र ? खोला वा बोरिङको जस्तोसुकै पानी भए पनि हुँदैन र ?

जापानको त के कुरा गर्नु ? कस्तो नियम, कस्तो अनुशासन । बाटोमा पैसाको थैली नै फाले पनि नहराउने । फेरि त्यहाँको शिक्षा प्रणाली पनि गजबको, साना केटाकेटीहरूलाई पहिला व्यावहारिक कुरा सिकाईदो रहेछ । आफ्नो दैनिकी, वातावरण संरक्षण, आत्मनिर्भरता आदि विषयमा पढाइ तथा खेलका माध्यमबाट सिकाउने...। मलाई फेरि सम्झना हुन्छ, खाएको थाल पर नसारी विद्यालय जाने अनि फर्केपछि आँगनबाटै जुत्तामोजा छिरल्दै भित्र पसेर ओछ्यानमै खाजा मगाएर खाने हाम्रा विद्यार्थीहरूको व्यावहारिक शिक्षा । वातावरणको कुरा गर्दा त्रिविको वातावरण केन्द्रीय विभाग पछाडिबाट तल केन्द्रीय कार्यालयसम्म आउने बाटो केही वर्ष अघिसम्म डरलाग्दो थियो । एक प्रकारले घना जंगल । वर्षाको त कुरै छोडौं, हिउँदमा पनि एक्लै हिँड्न डर लाग्थ्यो । तर अहिले एक—दुई सल्ला तथा मसलाका बूढा रुख र तितेपातीका झाडीबाहेक केही छैन । यस्तै अवस्था रहिरहने हो भने अबका केही वर्षपछि त्यहाँ चराको विष्टा पनि देख्न पाइँदैन होला । त्रिविको वनस्पति विभाग तथा वातावरण विभागले खै के सोचिरहेहको छ । तर आफ्नो दैनिक यात्राका क्रममा मैले भने यसलाई भावी प्राकृतिक प्रकोपको एउटा कुसंकेतका रूपमा देख्ने गर्छु । यो त एउटा सानो उदाहरण मात्र हो, मेरो सीमित नजरमा अटाएको । यथार्थमा आज हाम्रो पर्यावरण यसरी प्रतिकूल बनिरहेको छ कि समयमा नै यसतर्फ सचेत नहुने हो भने भविष्यमा हामीसँग पश्चाताप बाहेक केही रहने छैन ।

एकातिर जलवायु परिवर्तनको असर अर्कातिर हामीले आआफ्नो स्वार्थपूर्तिका लागि गर्ने प्राकृतिक विनाश । यस्तो दोहोरो सिकार भविष्यमा हामी स्वयम् वा हाम्रै भावी सन्तति हुनेछन् भन्ने सचेतता हामीमा कहिले आउला ? यसपालि पोखराबाट देखिने माछापुच्छ्र्रे पहिलाझैं चाँदीजस्तो नदेखिएर फलामजस्तो कालो देखिएको थियो, हिउबिनाको कालो ढुंगा । पूर्व—पश्चिम राजमार्गको यात्रामा दायाँ—बायाँको वनक्षेत्र हेर्छु, उस्तै बेहाल । दुई—चार बूढा रुख तथा स्याउलाका पोथ्राबाहेक केही छैन । ठाउँ—ठाउँमा जथाभावी ढुंगा र बालुवा झिक्ने कार्य भइरहेको देखिन्छ । हाम्रा वन तथा वातावरण मन्त्रालयहरू मेरा उनै आफन्तजस्तै कुन देशको हरियाली र सौन्दर्यको सम्झनामा विलिन भैरहेछन् खै ? हुन त यहाँ पनि बेला—बेलामा भव्य समारोहबीच वृक्षरोपण कार्यक्रम तथा वागमती सफाइ अभियान नभएका कहाँ हुन् र ? तर जबसम्म बिरुवा सार्दा प्लास्टिकको थैलो नै नझिकी खाल्टोमा हाल्ने तथा वागमतीमा घर—घरको ढल तह लगाउने उपक्रम रोकिँदैन, तबसम्म हरियाली र उपत्यकामा जमेका नदीहरू बग्ने आशा गर्न सकिँदैन । साँच्चै, हाम्रा योजनाविद्हरू कति दूरदर्शी । बीस वर्षपछि सोचेर सहरी विकास योजना बनाउनुपर्नेमा बीस वर्ष पहिलेको ढाँचामा योजना बनाउने अनि पटक—पटक भत्काउने, खनाउने र बनाउने । यसैको उदाहरण बनेको छ, आज हाम्रो राजधानी ।

ओहो, जापानमा त मान्छेहरू बिनाकाम एकछिन पनि नबस्ने, अझ यसरी गफ गरेर बसेको त कतै देखिँदैन । त्यहाँ त वृद्धवृद्धाका लागि सरकारले कति राम्रो व्यवस्था गरिदिएको... र उनी आफ्ना जापानी अनुभव खन्याउन आतुर थिए । म भने उनीसगको आफ्नो काम सकेर फर्कन आतुर । त्यसैले उनका कुरा काटिदिएँ, हाम्रो सरकारले पनि सामाजिक सुरक्षाको कार्यक्रम ल्याएकै छ नि वृद्धभत्ता वितरण गरेर भन्दै तर आफ्नै वाक्यले आँखासामु कर्णालीको विपन्न वर्गकी बूढीमाउ र राजधानीको सम्पन्न परिवारकी मुमाहजुरका तस्विर एकसाथ उभ्याइदियो । आहा, कस्तो समतामुखी सामाजिक सुरक्षा ।

हामीकहाँ सत्तामा पुग्ने सरकार प्रमुख, मन्त्री, सांसद लगायत उच्चपदस्थ व्यक्तिहरूमा विदेश भ्रमणको अवसर नलिने प्राय: कमै होलान् । तर उनीहरूले त्यहाँको सामाजिक, आर्थिक विकास तथा राजनीतिक स्थिरताको कारणको खोजी किन गर्दैनन् ? कि उनीहरू पनि ती देशहरूलाई प्रकृतिले बनाएको देश भनेर फर्कन्छन् ? हामी विदेशबाट फर्केपछि त्यहाँको सुखसुविधा र उन्नतिको बखान गरेर थाक्दैनौं । तर त्यहाँको नीति निर्माण, कार्ययोजना र जनतामा भएको उत्तरदायित्व, श्रमको सम्मान, समयको महत्त्व, व्यवहारिक शिक्षा आदिबारे मनन गर्ने र अरुलाई गराउने प्रयास गर्दैनौं । के प्रकृतिले नेपालीलाई मात्र सौताने व्यवहार गरेको हो ? हामी आम जनता, सरकार तथा जिम्मेवार निकाय सबैमा रहेको परनिर्भरता र अनुत्तरदायी संस्कृतिका कारण प्रकृतिको वरदानलाई आफैले अभिसाप बनाइरहेछौं । यस्तै सोच्दै म हतारिदै उही धुलाम्मे छडक छेउबाट हिँड्न थालें, किनकि उनको दुई घण्टासम्मको जापानी बखानले मेरो अड्कलेको समय खाइदियो । के उनले देखेको जापानमा समय यसरी नै बिताइन्छ ?

प्रकाशित : माघ १४, २०७३ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?