कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारु सटही समस्या : कूटनीतिक कमजोरी कि भारतको अनिच्छा ?

किन समाधान निस्केन पुराना भारु नोटको ?
कमलदेव भट्टराई

काठमाडौं — ५ सय र १ हजारको भारु नोट साटिने हो कि होइन भन्ने अन्योलका बीच भारतले बैंकिङ तथा सरकारी प्रणाली बाहिर सामान्य नेपाली जनतासँग रहेको नोटको अनुमानित विवरण मागेको छ ।

भारु सटही समस्या : कूटनीतिक कमजोरी कि भारतको अनिच्छा ?

नेपालमा रहेका पुराना ५ सय र १ हजारका भारु नोट साटिने हो कि होइन भन्ने अन्योलका बीच भारतले बैंकिङ तथा सरकारी प्रणाली बाहिर सामान्य नेपाली जनतासँग रहेको नोटको अनुमानित विवरण मागेको छ । गत साता राइसना डाइलगमा भाग लिन भारत भ्रमणमा आएका परराष्ट्रमन्त्री प्रकाशशरण महतसँगको भेटमा भारतीय पक्षले सर्वसाधारणसँग रहेका नोटको अनुमानित विवरण मागेको हो ।

नेपालले भने आफूले जनतासँग रहेका ५ सय र १ हजारका नोटको अनुमानित विवरण उपलब्ध गराउन नसक्ने जानकारी गराएको छ । दुई साता अगाडि यसै विषयमा वार्ता गर्न आएको नेपाल राष्ट्र बैंकको टोलीसँग पनि भारतीय पक्षले विवरण उपलब्ध गराउन आग्रह गरेको थियो । यसले गर्दा नेपालमा रहेका पुराना भारतीय नोट नसाटिने हो कि भन्ने अन्योल बढेको छ । जति पछि भयो, त्यति अन्योल बढ्दै छ । किन त ? कि नेपालले कूटनीतिक रूपमा प्रभावकारी पहल गर्न सकेन कि त भारतीय पक्ष नोट साट्ने पक्षमा नै छैन ।

बंैकिङ प्रणालीमा रहेका भारतीय रुपैयाँ साट्न कुनै कठिनाइ नभए पनि सर्वसाधारणसँग रहेको रकम के हुने यकिन छैन । यसो हुँदै जाँदा नोट साट्ने सम्बन्धमा कुनै व्यवस्था नै नहुने अवस्था आउने सम्भावनालाई पनि सरकारी अधिकारीहरू नकार्दैनन् । पछिल्लो वार्तामा नेपाली पक्षले नोट साट्ने सम्बन्धमा तयार पारेको मोडालिटी भारतीय पक्षलाई बुझाएको थियो । तर, त्यसमा भारतले केही संशोधन चाहेको स्रोतले उल्लेख गरेको थियो ।

मोडालिटीलाई अन्तिम रूप दिन नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच कुराकानी भइरहे पनि खासै प्रगति भएको छैन । गत साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपाल र भारतका बीचमा भएको वार्ता उपलब्धिमूलक भएको बताएका थिए । वार्तामा सहभागी नेपाली अधिकारीहरूले भने के हुन्छ भन्ने स्पष्ट जवाफ मिडिया र जनतालाई दिन सकेका छैनन् । बरु मिडियामा आएका विभिन्न खबरले वातावरण बिग्रने बताइरहेका छन् ।

भारतले विशेष गरी नेपालमा नोट साट्ने व्यवस्था गरे भारतबाट कालो धन त्यता जाने र त्यो साटिन सक्ने चिन्ता व्यक्त गर्ने गरेको छ । नक्कली नोट साटिने भय पनि भारतीय पक्षले देखाइरहेको छ । नेपाली पक्षले त्यो कुनै हालतमा हुन नदिने र वास्तविक रूपमा समस्यामा परेका नेपालीको नोट मात्र साटिने भनेर आश्वस्त पारिरहेको छ । त्यसैले पनि भारतमा नोटबन्दी गरिएको ३ महिनासम्म पनि नेपालमा रहेका पुराना नोटको भविष्य निर्धारण भएको छैन ।

नोट साट्ने सम्बन्धमा भएको ढिलाइले धेरै नेपालीले आफूसँग भएका नोट सीमामा एकदमै कम मूल्यमा साट्न थालेका खबरसमेत आइरहेका छन् । भारतमा नोटबन्दी भएपछि नेपालीलाई परेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आफंैले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गरेका थिए । पछि अर्थमन्त्री कृष्णबहादुर महराले भारतीय समकक्षी अरुण जेट्लीसँग समेत कुराकानी गरे ।

गत साता मात्र भारतमा आएका परराष्ट्रमन्त्री महतले भारतीय पक्षसँग यस विषयमा कुराकानी गरेका थिए । नोटबन्दी गरिएको सुरुवाती दिनमा भारतले पहिला आफ्नो समस्या समाधान गर्नका लागि समय दिन आग्रह गरेको थियो । जानकारहरूका अनुसार नेपालले त्यतिबेला नै जोडदार रूपले यो एजेन्डालाई उठाउनुपर्थ्यो ।

भारतमै डिसेम्बर ३० मा पुराना नोट साट्ने समय अवधि सकिएपछि झन् जटिल हुने परिस्थितिलाई आकलन गरेर पहिले नै जति दबाब दिनुपर्ने थियो, त्यो हुन सकेन । भारतमा अहिले रिजर्भ बैंकका केही शाखामा मार्च ३१ सम्म पुराना नोट साट्न सकिने व्यवस्था गरिएको छ । ‘नेपालीसँग कति भारतीय नोट छ, त्यो विषय होइन । जनतालाई नोट साट्ने प्रबन्ध गर्नु नेपाल सरकारको दायित्व हो,’ दिल्लीस्थित नेपाली दूतावासका एक उच्च अधिकारीले भने । भारतमा रहेका नेपाली कामदार, विद्यार्थीलगायतले भोगेका समस्या समाधान गर्ने विषयमा पनि कुनै प्रगति भएन ।

यो विषय आफैं सेलाएर गएको छ र नेपाली आफैंले आफ्नो समस्या समाधान गर्दै आएका छन् । कामदार, औषधि उपचार तथा पढ्ने सिलसिलामा भारत आउने नेपालीको समस्या समाधान नहुनुले अन्य ठूला विषयमा के प्रगति होला भन्ने प्रश्नचिह्न उत्पन्न भएको छ ।

प्रकाशित : माघ १४, २०७३ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?