कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्राफिक जाम कम गर्ने उपाय

ट्राफिक जाम र सडक विस्तार सम्बन्धी दुई विपरीत धारणा छन्: पहिलो, सडक विस्तार गरेर मात्र ट्राफिक जाम समाधान गर्न सम्भव हुँदैन ।

ट्राफिक जाम कम गर्ने उपाय

त्यसैले ट्राफिक जाम घटाउन वा अन्त्य गर्न सडक विस्तार गर्नु व्यर्थ हो, किनभने धरै क्षमता भएको सडकमा धेरै ट्राफिक हुन्छ । यसर्थ सडक क्षमता विस्तार गरेर ट्राफिक जाम समाधान गर्न सकिँदैन । दोस्रो, ट्राफिक मागलाई सम्बोधन गर्न र ट्राफिक जाम कम वा समाप्त गर्न सडक विस्तार वा अन्य सडक बनाउनुपर्छ, किनकि विद्यमान सडककले थप सवारीहरूलाई समायोजन गर्न सक्दैन । यसर्थ सडक विस्तार नै ट्राफिक जाम समाधान गर्ने एकमात्र उपाय हो ।

संसारभरि ट्राफिक जाम समाधान गर्न धेरै सडक निर्माण भइरहेका छन् । तर के ट्राफिक जाम समाधान भएको छ त ? अथवा राजमार्ग विस्तारले सहरी समस्या समाधान भएको छ त ? राजमार्ग जमिनको सतहमा, जमिनमुनि (मेट्रो लाइन) र सतहमाथि बनाउन सकिन्छ । यो उदहारण नेपालको हकमा पनि लागु हुन्छ । नेपालमा थुप्रै राजमार्ग छन्, जहाँ प्राय: ट्राफिक जाम हुने गर्छ । उदाहरणका लागि पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग आदि ।
राजधानी काठमाडौंमा प्राय: ट्राफिक जाम हुने गर्छ । यो विशेषगरी कलंकी, चक्रपथ, जमल आदि क्षेत्रमा हुने गर्छ । ट्राफिक जाम नेपालको सन्दर्भमा ठूलो समस्या हो, विशेषगरी राजमार्गहरूका लागि । सडक पनि साना छन् । यसले गर्दा गाडीहरू जाममा पर्छन् । सानो सडकले गर्दा वर्षेनि थुप्रै दुर्घटना हुने गर्छन् । सडक विस्तारका कार्य पनि धमाधम भइरहेका छन् । यसका लागि सरकारी जग्गामा निर्माण गरिएका घरहरूलाई भत्काउने कार्य भइरहेको छ । हाल नेपालमा जमिनमुनि र सतहमाथि राजमार्ग छैनन् । यद्यपि जमिनमुनि राजमार्ग बनाउने सरकारले निर्णय गरेको छ । यो कलंकी क्षेत्रको जामलाई कम गर्न बनाउन लागिएको हो । निर्माणाधीन यो सडक २ वर्षभित्र सम्पन्न हुने अनुमान छ ।
उत्पन्न यात्रा सिद्धान्तअनुसार राजमार्गको क्षमता विस्तारले अतिरिक्त ट्राफिकलाई बढावा दिन्छ । यो विविध व्यावहारिक यन्त्र रचनाहरूले गर्दा हुनसक्छ, जसमा मोड सिफट, रुट सिफ्ट, यात्राको पुन: वितरण, नयाँ यात्राको उत्पन्न र जमिनको लामो समयको प्रयोग परिवर्तनले नयाँ र लामो यात्रा सिर्जना गर्छन् । पुरानो जमानाको कठिन र लामो यात्रामा मोटरसाइकल यात्री टाढा र लामो दूरी यात्रा गर्न असफल हुन्छन् । राजमार्गको क्षमता विस्तारले कति यात्रा प्रभाभित हुन्छ भन्ने कुरा पहिल्यै निर्धारण गर्न सकिँदैन । त्यसकारण राजमार्ग क्षमता विस्तारमा लगानी छान्न मुस्किल हुन्छ्र । त्यसो भएर उत्पन्न ट्राफिक जहिले पनि राजमार्ग छान्न समस्याग्रस्त हुन्छ भन्ने सोचिन्छ । यो रायअनुसार राजमार्ग विस्तार र बढावाले समस्या समाधान गर्छ भन्ने ठानिन्छ । तर वास्तवमा यो भने होइन । ट्राफिक जाम हुनुको मूलकारण चालकहरूले जामको शुल्क नतिर्दा हो । यसका लागि ‘प्याराडाइम सिफ्ट’ आवश्यक हुन्छ, जुन अर्थशास्त्रीहरू दशकौंदेखि भन्दै आइरहेका छन् । ‘प्याराडाइम सिफ्ट’ भनेको जामको मूल्य निर्धारण गर्नु हो । किनभने चालकहरू समय ढिलाइको पैसा तिर्दैनन् र जथाभावी गाडी रोकिदिने गर्छन्, जसले गर्दा अस्तव्यस्त सडक जाम हुनपुग्छ । साथै, सडक प्रयोगकर्ताहरूलाई सडक कर लगाउँदा पनि सडक प्रयोगकर्ताहरू घट्छन् र सडकमा ट्राफिक जाम कम हुन्छ । यसको ज्वलन्त उदाहरण स्टकहोम हो । त्यहाँ सडक कर लागु गरेपछि ट्राफिक जाम हटेको थियो ।
सडक जाम बारेको विरोधाभास
सडक विस्तार र ट्राफिक जामबारे तीनवटा विरोधभास छन्: १. पिगु–नाइट डावन्स विरोधाभास– सडक विस्तारले यात्रा अवधि घटाउँदैन, किनकि सवारीहरू जाम भएको सडकबाट जाम नभएको सडकमा सर्छन् र धेरै क्षमता भएको सडकमा पुन: जाम हुन्छ । जब यात्रा अवधि दुवै राजमार्गमा बराबर हुन्छ, तब सन्तुलनका लागि गति परिवर्तन हुन्छ । २. डावन्स–थोम्सन विरोधाभास– यस विरोधाभास अनुसार सन्तुलन, राजमार्ग सञ्जाल र सार्वजनिक संक्रमणबीच हुन्छ्र । उदहारणका लागि रेल संक्रमण लाइन जुन सस्तो हुन्छ । यसकारण गति सार्वजनिक संक्रमणबाट राजमार्गमा सर्छ । फलस्वरूप जाम राजमार्गमा हुन्छ र सम्पूर्ण यात्रा अवधि बढ्छ । यसर्थ राजमार्ग क्षमता विस्तारले पनि ट्राफिक जामको समस्या समाधान हुँदैन र यसले झन् अवरोध खडा हुन्छ । ३. ब्रास विरोधाभास– सडक सञ्जाल विस्तारले ट्राफिकलाई पुन: वितरण गर्छ, जसको फलस्वरूप व्यक्तिगत समय अवधि बढ्छ ।
यी विरोधाभासहरूलाई समर्थन गर्ने थुप्रै उदहारण छन् । जस्तै— सन् १९६९ मा सडक सञ्जालको विस्तारले स्टुटगार्ड, जर्मनीको ट्राफिक जामको समस्या समाधान गरेन । त्यसकारण निर्माण सम्पन्न गर्नासाथ उक्त सडक ट्राफिकका लागि बन्द गरियो । सोल, दक्षिण कोरियामा सवारीहरूको गति बढ्यो, जब एउटा राजमार्ग चेओनग्येचेओन पुन:स्थापना परियोजनाका लागि हटाइयो । सन् १९९० मा न्युयोर्क, अमेरिकाको ४२ आंै स्ट्रीट बन्दले त्यहाँको जामको मात्रा घट्यो । त्यसैले सडक नीति निर्माणकर्ता र योजनाकारहरूले माथिका विरोधभासलाई ध्यान दिनुपर्छ र विगतमा संसारभरि सडक विस्तारले मात्र ट्राफिक जामको समस्यालाई समाधान गर्‍यो कि गरेन भनी हेर्नुपर्छ ।
समस्या समाधान 
मुख्यत: उत्पन्न ट्राफिक र सडक विस्तार सम्बन्धी दुइटा समस्या छन् । पहिलो, सडक विस्तारको कारणले उत्पन्न ट्राफिकको प्रक्षेपण गर्न आइपर्ने समस्या हो । दोस्रो, सडक सम्बन्धी नीति निर्माता र योजनाविदहरूमा परेको गलत छाप । थप सडक निर्माण र भइरहेका सडकहरूको विस्तार नै ट्राफिक जामको समस्या समाधान हो । सडक सम्बन्धी नीति निर्माता र योजनाविदहरूले माथि उल्लेखित सडक जामसम्बन्धी तीनवटै विरोधाभासलाई ध्यान दिनुपर्छ । उत्पन्न ट्राफिकको अध्ययनले आवश्यक शिक्षा निश्चय नै दिन्छ । यद्यपि ती शिक्षा सधैं र सबै अवस्थामा लागु हुँदैनन् । राजमार्गहरूको क्षमतामा मात्र विस्तारभन्दा पनि जामको कुशल व्यवस्थापन नै समाधान हो भन्ने लाग्छ । 
धेरै मानिस र केही विज्ञका अनुसार ट्राफिक जामको समाधान भनेको सडक विस्तार हो । तर ट्राफिक जाम कम गर्ने थुप्रै उपाय छन् । जस्तै— सडक करको कार्यान्वयन । मानिसहरू ५० लाखको गाडी चढ्न सक्छन्, तर उनीहरू वर्षको १० हजार सडक कर तिर्न किन सक्दैनन् ? सडक करको कार्यान्वयनले ट्राफिक जाम समाधान गर्न सकिन्छ ।
अर्को उपाय भनेको फुटपाथलाई प्राथमिकता दिने । ट्राफिक जाम कम हुने सोचाइले सडक विस्तार गरिन्छ, जसका लागि फुटपथ हटाइन्छ वा भत्काइन्छ । फुटपाथ नभएपछि मानिसहरू व्यस्त सडकबाट हिँड्न बाध्य हुन्छन् र जहाँ पायो त्यहीँबाट सडक काट्छन् । जसको परिणाम ट्राफिक जाम नै हुने गर्छ । त्यसो भएर फुटपाथको निर्माण गर्नुपर्छ, जहाँबाट मानिसहरू सजिलै आवत—जावत गर्न सकुन् । यसले गुडिरहेका गाडीहरूलाई कुनै अवरोध सिर्जना गर्दैन र ट्राफिक जाम हुँदैन । अर्को उपाय भनेको सार्वजनिक यातायातलाई बढी प्रोत्साहित गर्ने हो । ट्राफिक जाम हुनुको मुख्य कारण निजी यातायात हुन्, जुन बढी संख्यामा सडकमा गुड्ने गर्छन् । यसको जल्दोबल्दो उदाहरण काठमाडौं सहर हो । सार्वजनिक यातायात कम भएकाले मानिसहरू चर्को शुल्क तिरेर निजी यातायात चढ्न बाध्य हुन्छन्, जसमा बढी भिडभाड हुन्छ । सार्वजनिक यातायातलाई प्रोत्साहित गर्न यसमा कम र निजी यातायातमा बढी सडक कर लगाउन सकिन्छ । यसो भयो भने मानिसहरूले सार्वजनिक यातायातलाई बढी प्राथमिकता दिनेछन् । साथै सार्वजनिक यातायात र निजी यातायात गुड्ने छुट्टै लेन बनाउनु पनि आवश्यक हुन्छ । दुवै यातायात एउटै लेनबाट गुड्ने हुनाले पनि ट्राफिक जाम हुने गर्छ । भिन्नै लेन निर्माणले ट्राफिक जामलाई धेरै हदसम्म कम गर्छ । 

प्रकाशित : माघ २२, २०७३ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?