कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिंसा र तनाव फैलन नदेऊ

सम्पादकीय

एमालेले सप्तरीमा आयोजना गरेको आमसभा बिथोल्न गएको समूहमाथि प्रहरीले गोली चलाउँदा कम्तीमा तीनजना स्थानीय बासिन्दा मारिएको घटना जति दु:खद् छ, त्यति नै संवेदनशील पनि । यसलाई मधेस या पहाडका समुदायगत पहिचानसँग जोडेर जसरी आरोप–प्रत्यारोप गर्न खोजिएको छ, यसले समस्या सुल्झाउनेभन्दा चर्काउने भूमिका खेल्छ ।

हिंसा र तनाव फैलन नदेऊ

तसर्थ त्यस्ता साम्प्रदायिक चस्मा उतारेर सप्तरीमा भएको नेपाली नागरिकहरूको मानवीय क्षति मूलत: राजनीतिक दलहरूले संयम र सहिष्णुता गुमाउँदै आआफ्नो प्रतिष्ठालाई मात्र केन्द्रमा राखेर गतिविधि गर्दाको परिणति रहेको तथ्यलाई प्रथमत: आत्मसात् गर्नुपर्छ । त्यहाँ जे भयो, त्यसैमा टेकेर अन्यत्र पनि हिंसा र तनावको व्यापार फैलाउने धन्दा अब कसैबाट हुनु हुँदैन । जतिसुकै आक्रोश र तिक्तता भए पनि दलहरू संयम, संवाद र सहमतिमै फर्कनुपर्छ । 

एमालेले थालेको ‘मेची–महाकाली राष्ट्रिय अभियान’ रोक्नुपर्ने मधेसी दलका नेताहरूको आह्वानमुताबिक सोमबार सप्तरीको सभा बिथोल्न गएको समूहमाथि प्रहरीले गोली चलाउँदा यस्तो दु:खद् घटना भएको हो । त्यहाँ सभा सुरु नहुँदै प्रदर्शन गर्न थालेका मधेसी दलका कार्यकर्ताहरू कार्यक्रमको अन्तिममा एमाले अध्यक्ष केपी ओलीले भाषण गर्न थालेपछि थप उत्तेजित भएका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले कडा सुरक्षाबीच ओलीसहित एमाले शीर्ष नेताहरूलाई बाहिर सुरक्षित स्थलतर्फ पुर्‍यायो, तर लगत्तै त्यहाँ जसरी गोली प्रहार गरियो, त्यो निन्दनीय छ । त्यहाँ नेपाल प्रहरीले जुन किसिमको संयम अपनाउनुपथ्र्याे, त्यसमा ऊ चुकेको देखिन्छ । त्यहाँ मारिएका र घाइते भएका थुप्रैको टाउकोमा गोली लागेको तथ्यले पनि सुरक्षाका चरणबद्ध उपायहरू नअपनाइएको र अत्यधिक बल प्रयोग गरिएको संकेत मिल्छ । त्यहाँ त्यसरी गोली प्रहार गर्नुपर्ने बाध्यकारी परिस्थिति सिर्जना भएको थियो वा थिएन ? यो घटनाको गृहप्रशासन र समग्र सरकारले जिम्मेवारी लिनुपर्छ र निष्पक्ष छानबिन गर्नुपर्छ ।

सोमबारको घटनापछि एमालेले आफ्नो अभियानको स्वरूप र शैलीमा पुनर्विचार गर्दै यसलाई तीन दिनका लागि स्थगित गरेको घोषणा गरेको छ, त्यो सकारात्मक छ तर पर्याप्त छैन । चौतर्फी तनाव विस्तार हुने देखिएमा उसले यस्ता कार्यक्रम हाललाई पूर्ण रूपमै स्थगन गर्ने परिपक्वता देखाउनुपर्छ । कुनै समुदाय र क्षेत्र विशेषलाई लक्षित गरेर उग्र र अतिवादी टिप्पणी गर्ने क्रम अब उसले रोक्नुपर्छ । एमालेलगायत सबै दल जातीय तथा क्षेत्रीय संवेदनशीलतालाई ध्यानमा राख्दै जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुन जरुरी छ । एमालेले सम्भावित दुर्घटनाको आकलन पहिल्यै गर्न सकेको भए सोमबारको दु:खान्तबाट मुलुक जोगिन्थ्यो । तर उसले जिम्मेवारीबोध गर्दै कार्यक्रम रोकेन, कार्यक्रमथलो मात्र परिवर्तन गर्‍यो । राजविराज रंगशालामा गर्ने भनिएको कार्यक्रम औद्योगिक क्षेत्रमा सारे पनि मधेसी दलहरूले अवरोध यथावत् राखे, जसको परिणामस्वरूप झडप निम्तियो । 

मधेसी दलहरूले सभा–सम्मेलन नै गर्न नदिने भनी जुन किसिमको विरोध र अवरोधको क्रम सुरु गरेका छन्, त्यो प्रवृत्ति पनि सरासर गलत छ । कुनै पनि दललाई बिनाअवरोध सार्वजनिक स्थानमा शान्तिपूर्वक र्‍याली र सभा गर्ने स्वतन्त्रता संविधानले नै सुनिश्चित गरेको छ । यो संविधानप्रदत्त हकअधिकारलाई कोही–कसैले कुण्ठित गर्न पाउँदैन । आफूले त्यसो गर्न खोज्दाको परिणामस्वरूप सप्तरीमा मानवीय क्षति हुन पुगेको सत्यबोध अवरोधकारी नेताहरूले समयमै गर्नुपर्छ । आगामी दिनमा यस्ता अप्रिय र दु:खद् घटना दोहोरिन नदिन मधेसी मोर्चाले कुनै राजनीतिक दल विशेषविरुद्ध लक्षित अवरोधका कार्यक्रम तत्काल फिर्ता लिनुपर्छ । बरु, मोर्चाले पनि आफ्ना माग र एजेन्डा जनतालाई बुझाउन/बताउन यस्तै सभा–सम्मेलनहरू गर्ने बाटो रोज्नुपर्छ । 

शान्तिपूर्वक गरिएको सभा–सम्मेलन रोक्ने र अवरोध सिर्जना गर्ने कदमले अन्तत: तराई–मधेसमा भित्र्याउन खोजिएको अतिवादी धारलाई प्रश्रय मिल्नेछ, जसको पहिलो सिकार आफूहरू नै हुने तथ्य मध्यमार्गी राजनीति गरिरहेका मधेसी मोर्चासम्बद्ध दलका नेताहरूले जति चाँडो बुझ्नेछन्, त्यति उचित हुनेछ । हालको ध्रुवीकृत समाजमा कतिपयलाई एकोहोरो अर्थहीन रटानजस्तो लाग्न सक्छ, तर हामी फेरि पनि दोहोर्‍याउन चाहन्छौं– संयम, संवाद र सहमतिको विकल्प छैन, मधेसी मोर्चा र प्रमुख राजनीतिक दलहरू फेरि पनि यही कम क्षतिपूर्ण बाटोमा फर्कनैपर्छ । 

प्रकाशित : फाल्गुन २४, २०७३ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?