स्वरोजगारी समाजशास्त्र

नरेन्द्र मिश्र

केही समयअघि दुइटा समाचार पढ्ने मौका मिल्यो। एउटा समाचार अछामको साँफेबगरमा ‘सोसाइटी होटल एन्ड रेस्टुरेन्ट’ खोलेर बसेका प्रोप्राइटर हिक्मत कुँवर र उहाँकी श्रीमती सुनिताको थियो।

समाजशास्त्रमा स्नातकोत्तर गरेका उहाँहरू दुवैले केही वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दैै आउनुभएको रहेछ। अर्को समाचार बाँके, कोहलपुरका विष्णु पोखरेल र उहाँकी श्रीमती शारदाको थियो। उहाँहरू दुवैले पनि समाजशास्त्रमा डिग्री गरे पनि आठ वर्षदेखि गाईपालन गर्दै आउनुभएको रहेछ। यी दुबै समाचारले मनमा केही प्रश्न उब्जिए। पढेपछि जागिर नै गर्नुपर्छ भन्ने मान्यता समाजमा अझै छ कि परिवर्तन हुँदैछ? स्वरोजगारी स्वेच्छिक हो कि बाध्यता? यसले सामाजिक सम्बन्धलाई जोड्छ कि भत्काउँछ? 

Yamaha

नेपाली समाज र शिक्षा 
हाम्रो समाजमा शिक्षासँग जोडिएका सामाजिक मान्यतामा व्यापक परिवर्तन भैरहेको छ। यसको अर्थ मानिसको सोच, विचार, दृष्टिकोण र जीवनशैलीमा पनि बदलाव आएको छ। तापनि हाम्रो समाज, शिक्षा र गुजारा प्रणालीलाई हेर्दा अझै पनि स्थायी जागिरसँग जोडिएको सामाजिक मान्यता छ, तर परिवर्तन भैरहेको छ।

स्थायी जागिर वा भनौं सरकारी जागिरलाई तुलनात्मक रूपमा जीवनयापन सहज बनाउनेदेखि सामाजिक मानप्रतिष्ठासँग जोडेर हेर्ने गरेको पाइन्छ। यसका लागि अध्ययन गर्ने विषय र त्यसको प्रयोग प्रत्यक्ष रूपमा जीवन गुजारासँगै जोडिएको छ भन्ने पनि हो। यसमा अन्य विषयजस्तै समाजशास्त्र पनि अछुतो रहन सक्दैन। तसर्थ उच्चशिक्षा अथवा डिग्री हासिल गरिसकेपछि के गर्ने, कसरी व्यक्ति तथा पारिवारिक जीवनलाई गर्व र खुसीसाथ सहज बनाउने भन्ने प्रश्नले पछ्याइरहेको देखिन्छ। 

यसको एउटै उत्तर खोजी गर्न कठिन छ। विगतमा समाजशास्त्रमा डिग्री गरिसकेपछि विशेषत: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कार्यक्षेत्र बनाउनेमा प्राथमिकता थियो र हाल पनि छ। दोस्रो क्षेत्रका रूपमा शिक्षण पेसालाई लिएको पाइन्छ। स्वतन्त्र अनुसन्धानकर्ता, लेखनकार्य र सामाजिक कार्यकर्ता वा सुधारका साथै स्वरोजगारी क्षेत्रमा पनि आफ्नो पढाइ, ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्र बनाउन थालेको पनि पाइन्छ। 

स्वरोजगारी : इच्छा कि बाध्यता?
हाम्रो समाजमा स्वरोजगारीलाई हेर्ने दृष्टिकोणका दुइटा पाटा छन्। प्रथम, व्यक्ति वा परिवारको चाहनाले डोर्‍याएको स्वरोजगारी। जसमा व्यक्तिगत तथा पारिवारिक इच्छा, स्वतन्त्रता, बढी आम्दानी गर्ने अभिलाषा र पारिवारिक सदस्यबाट सञ्चालन गर्न सकिने कारणले प्रभाव पारेको देखिन्छ। अर्कोतर्फ बाध्यताले सिर्जना गरेको स्वरोजगारी जहाँ रोजगार हुने अवसर प्राप्त गर्न नसक्नु वा भनौं जागिर पाउने विकल्प नहुनाले पनि स्वरोजगारीका क्षेत्र बढेको पाइन्छ। तसर्थ यहाँ प्रश्न उठ्न सक्छ, के बेरोजगारी बढ्नु भनेको स्वरोजगारीका प्रकृति र क्षेत्र बढ्नु हो? यसका पछाडि व्यक्तिको आवश्यकता, बेरोजगारी, अवसरको अभाव, खर्चिलो जीवनशैली र बदलिँदो सामाजिक परिवेश पनि पक्कै हो। 

स्वरोजगारी र सन्तुष्टि 
खुसी वा भनौं सन्तुष्टि केलाई मान्ने? आधुनिक भौतिक वस्तुको उपभोग गर्न पाएकामा सन्तुष्टि मान्ने कि सरल जीवनयापनमा? सन्तुष्टि पनि व्यक्ति, परिवार, परिवेश, स्थान, समय, वर्ग र पेसाअनुसार फरक—फरक हुने गर्छ। व्यक्तिको सन्तुष्टि विशेषत: राजनीतिक, सामाजिक र आर्थिक पक्षसँग जोडिएको हुन्छ। सन्तुष्टि र असन्तुष्टि दुबै समाजकै उत्पादन हो। त्यसैले यो राज्यव्यवस्था, समाज र संस्कृतिअनुसार फरक—फरक हुने गर्छ। स्वरोजगारी पनि व्यक्ति र परिवारको खुसीसँग जोडिएको हुन्छ। 

स्वरोजगारी र सामाजिक सम्बन्ध 
हाम्रा गाउँहरू तीव्र रूपमा सहरीकरणतर्फ उन्मुख भैरहेका छन्। लगभग ४२ प्रतिशत मानिस सहरको जीवनशैलीमा व्यस्त हुनथालेको तथ्याङ्कले पुष्टि गर्छ। यसले गर्दा सहरको जीवनशैली र सामाजिक सम्बन्धलाई इच्छा वा बाध्यताले रुचाउनेहरूको सङ्ख्या वृद्धि भैरहेको छ। व्यक्तिको ब्यस्त समय, रोजगारी, आम्दानीमा भएको वृद्धिले सामाजिक सम्बन्धमा परिवर्तन ल्याउँछ। यसले गर्दा व्यक्तिको आफ्नो पेसा वा वर्गले आफ्नो छुट्टै समूह वा सामाजिक सम्बन्ध बन्ने, थपिने र पुन: बन्ने क्रम जारी रहन्छ। 

केही ग्रामीण समाजलाई हेर्ने हो भने पारिवारिक स्वरोजगारीले सामाजिक सम्बन्ध तुलनात्मक रूपमा प्रगाढ बनाएको पाइन्छ। स्वरोजगारी नै सर्वोत्तम भन्ने पनि होइन होला। तर स्वरोजगारीले खुकुलिँदै गएको पारिवारिक सम्बन्धलाई जोड्न मद्दत गर्छ। भनिन्छ, व्यक्तिको सानो कामले पनि समाजमा सकारात्मक प्रभाव पार्न सक्छ। तसर्थ कँुवर र पोखरेल दम्पतीको स्वरोजगारी कार्यले समाजमा सकारात्मक प्रभाव पारेको देखिन्छ। 

निष्कर्ष
कुनै पनि शिक्षा एक विशुद्ध बौद्धिक विधाका रूपमा मात्र रहेको पाइँदैन। त्यससँग ज्ञान, सहज जीवनशैली, रोजगारी, मानप्रतिष्ठाका साथै पारिवारिक सम्बन्ध पनि जोडिएका हुन्छन्। यसको अर्थ शिक्षित हुनु भनेको बौद्धिकता आर्जन गर्नुमात्र नभएर जीवन सहज र सुखी बनाउनु पनि हो। त्यसकारण समाजशास्त्रको अध्ययन पनि यसबाट अलग हुन सक्दैन। स्वरोजगारीले बदलिँदो वर्तमान समाजमा तुलनात्मक रूपमा धेरथोर सकारात्मक प्रभाव भने पक्कै पारेको छ। यसले स्थानीय रोजगारीको सिर्जना, आर्थिक वृद्धि, सामाजिक नेतृत्वको परिपूर्तिका साथै सामाजिक सम्बन्धलाई जोड्न मद्दत गर्छ। तसर्थ रोजगारी वा भनौं स्वरोजगारी सिर्जना गर्न सम्बन्धित निकायले अझ सशक्त रूपमा काम गर्न आवश्यक छ। 

Esewa Pasal

प्रकाशित : चैत्र १२, २०७३ ०८:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अरु केही भएन

सिउँडी
विमल निभा

एक दिन नेकपा एमालेका अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओलीको पेटेन्ट चुटकुलामा सुटुक्क राष्ट्रियता पस्यो। अनि असाध्यै रमाएर घर–घर डुल्न थाल्यो।

(एक) 

कहिले ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरेको लैनचउरस्थित भव्य घरमा भने कहिले चित्रकार एवं निबन्धकार मनुजबाबु मिश्रको बौद्ध, महाँकालको ‘मोन्टाज’ नामक घरमा।

कविवर माधवप्रसाद घिमिरेको उहिलेको राजतन्त्रप्रदत्त राष्ट्रकवित्वले कमरेड खड्प्रसाद शर्मा ओलीको अहिलेको अति उत्साहित बालसुलभ राष्ट्रियतालाई घरी–घरी आत्मीय आशिर्वाद दियो। त्यसपछि यो मुलुकमा एकपटक फेरि राजतन्त्र नआएसम्म आफ्नो घरबाट पटक्कै बाहिर ननिस्कने चित्रकार एवं निबन्धकार मनुजबाबु मिश्रको कडा कसमले पनि घरको आँगनसम्म हिँंडेर आइपुगेको कमरेड ओलीको नयाँ–नयाँ अस्तित्वमा आएको कलिलो राष्ट्रियतालाई गुलियो चियासँगै टन्नै पौष्टिक चमेना खुवाएर पठायो।

यो देखेर राष्ट्रियता सँगसँगै यो घरदेखि त्यो घरसम्म अटुट हिंँडिरहेको कमरेड खड्गप्रसाद शर्मा ओलीको पेटेन्ट चुटकुला अत्यन्तै दंगदास थियो– के म साँच्चिकै राष्ट्रिय स्तरको भइसकेंँ त? अर्थात् राष्ट्रिय चुटकुला। अर्काे शब्दमा अखिल नेपाल राष्ट्रवादी चुटकुला। वाह !

(दुई)
कमरेड खड्गप्रसाद शर्मा ओलीसँग नेकपा एमालेको सर्वाेच्च अध्यक्ष पदको प्रतिस्पर्धात्मक चुनावमा नराम्ररी पराजित कमरेड माधवकुमार नेपालको पराजय एकदिन ‘पराजयता’को अन्तिम किनारामा पुग्यो। अनि त्यहीं टुक्रुक्क बसेर गम्भीरतापूर्वक सोच्न थाल्यो, कमरेड माधवको पराजयता– कमरेड ओलीको राष्ट्रियता त दिन–प्रतिदिन बढ्दै गइरहेको छ बा ! यस्तो हँुदै जाने हो भने त यो कमरेड ओलीको बढ्दो राष्ट्रियताले राष्ट्रको सीमा पनि सजिलैसित नाघेर अन्तर्राष्ट्रिय राष्ट्रियता हुन बेर छैन। र यता म भने यो राष्ट्रको सधैंभरि पराजितको पराजित नै ! हे प्रभु, यो कस्तो बहुदलीय जनवादी अन्याय † यो दु:खियामाथि कृपा गर, दयानिधान !

केही बेरपछि कमरेड माधवकुमार नेपालको पराजयता एक्कासी खुसी भएर बुरुक्क उफ्रियो। वास्तवमा ऊ अर्थात कमरेड माधवको पराजयता आफ्नो सोचको एउटा ठोस निष्कर्षमा पुगिसकेको थियो। तात्पर्य के भने कमरेड ओलीको राष्ट्रियता अन्तर्राष्ट्रिय हुनासाथ यस राष्ट्रको राष्ट्रियता डल्लै मेरै भागमा। मेरो मतलव, नेकपा एमालेको राष्ट्रियता। यो त खास्साको खुसीको कुरो हुने भएन र? कमरेड माधवको पराजयता खुसीको उत्कर्षमा पुगेर विलकुलै सोचमुक्त भइसकेको थियो।

(तीन)
एकदिन नेकपा एमालेको सिनियर नेता कमरेड जेएन खनाल उर्फ कमरेड झलनाथ खनालको साविक बमोजिमको सिनियरिटी निकै उदास–उदास भयो।

यसको कारण के भने नेकपा एमालेमा एकातिर कमरेड खड्गप्रसाद शर्मा ओलीको जब्बर पक्ष रहेको छ भने अर्काेतिर कमरेड माधवकुमार नेपालको गच्छे बमोजिमको जुझारु विपक्ष। अनि म याने कमरेड जेएनीय सिनियरिटीचाहिँं कहाँ? अर्थात् विशुद्ध भूमिगत कालमै पार्टी महासचिवको परम दायित्व बहन गरिसकेको कमरेड जेएन खनालको सिनियरिटी कहाँ? मतलव यत्रो गह्रुंगो पार्टीगत सिनियरिटी कहाँ? जहाँ भए पनि ऊ एकदिन दुवै पक्ष र विपक्षको ठिक्क बीचबाट फुत्त निस्केर फेरि पार्टीको लिडर हुनेछ। सिनियर लिडर। अर्थात पक्ष र विपक्ष, दुवैभन्दा मास्थिर। सिनियर शिरोमणि।

यही सोचेर नेकपा एमालेको सिनियर लिडर कमरेड जेएन खनाल उर्फ कमरेड झलनाथ खनालको सिनियरिटी चरम सन्तुष्ट देखियो।

(चार)
नेकपा एमालेको प्रथम उपाध्यक्ष कमरेड वामदेव गौतमको कुनै बेलाको पुरानो मालेपन एकदिन जागृत भयो, अचानक। 

त्यही मालेपन, महाकाली सन्धि बेलाको नेकपा एमालेबाट सहसा छुट्टिएर बनेको मालेपन, कमरेड वामदेवको चम्किलो तारा छाप मालेपन। (यसलाई केही समयपछि खुद नेकपा मालेका तत्कालीन महासचिव कमरेड वामदेवले अकस्मात मृत्युप्रदान गरेर हत्तपत्त आफू नेकपा एमालेमा पुन: प्रवेश गरेका थिए।)

अब कमरेड वामदेव गौतमको मालेपनले आफ्नो यामानको टाउको उचालिसकेपछि एकपटक फेरि माले पार्टी त अस्तित्वमा आउनैपर्‍यो नि ! यही कमरेड वामदेवमा सहसा जागेको मालेपनले तय गर्‍यो। अनि यस पटकको माले पार्टीको यस्तो नाम राखिने भयो– नेकपा माले (एमाले)। यसउसले अब कमरेड वामदेवले नयाँ नेकपा माले (एमाले) लाई नेकपा एमालेमा समावेश गराउनै परेन। यसको अर्थ के हो भने तमाम खाले झन्झट समाप्तम् !

(पाँच)
एकदिन कमरेड खड्गप्रसाद शर्मा ओलीको राष्ट्रिय चुटकुला, कमरेड माधवकुमार नेपालको पराजित पराजयता, कमरेड जेएन खनाल उर्फ कमरेड झलनाथ खनालको सिनियर सिनियरिटी र कमरेड वामदेव गौतमको हठात् जागेको मालेपन.....।

एकदिन, हो, एकदिन नेकपा एमालेको अस्थायी हेडक्वाटर, धुम्बाराहीमा के भयो भने— के भयो, भयो.....बस भयो। अरु केही भएन।

प्रकाशित : चैत्र १२, २०७३ ०८:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT